सर्लाही, १९ असोज। सर्लाहीको कविलासीमा भएको दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। सोमबार दिउँसो कविलासी नगरपालिका ३, मदनपुरनिवासी महादेव ठाकुरका छोरा ३३ वर्षका तुलसी ठाकुर सोही स्थानमा मोटरसाइकल दुर्घटनामा परेका थिए।
दुर्घटनामा घाइते उनको साथमा पेस्तोल रहेको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले एक थान सिक्सर पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसार गौतमले जानकारी दिए।
भारतीय नम्बर बिआर ३० वाई २८३५ नम्बरको मोटरसाइकलमा बिहान जनकपुरबाट घर आउँदै गरेका ठाकुर आफैँ अनियन्त्रित भई सडक किनारामा लडेका थिए। उनले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको पाइएको प्रहरीले जनाएको हो। सामान्य घाइते ठाकुरको दायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
हतियार फेला परेको विषयमा ठाकुरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।






















