पर्सा, ३० चैत। पर्सामा एक प्रहरी जवानको हत्या भएको छ। पर्साकै कालिकामाई गाउँपालिका १ घरभई सप्तरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको हो।  

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका ९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान चौरसिया गम्भीर घाइते अवस्थामा फेला परेका थिए। 

जानकारी प्राप्त भएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीले उनलाई उपचारका लागि नारायणी अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी श्रीमती २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक २० वर्षीय कन्हैया कुमारलाई पक्राउ गरिएको छ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र थप विवरण अहिले सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ। प्रहरी जवान चौरसिया १० दिनको घर बिदामा पर्सा आएका थिए।