जनकपुरधाम, १८ भदौ। धनुषा प्रहरीले झाडीमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको नगराइन नगरपालिका ५ खिरखिरिया जाने भित्री सडक किनारको झाडीबाट १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको हो।
आज विहान करिब २ः ३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्लास्टिकमा बेरिएका नौ वटा पोकामा उक्त गाँजा फेला परेको थियो। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






















