सिरहा, १९ भदौ। सिराहा प्रहरीले स्रोत नखुलेको तेह्र लाख रुपैयाँभन्दा बढी रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा सिराहा नगरपालिका ७, हेमनारायण चोकनजिकबाट प्रहरीले बिहीबार बेलुका १३ लाख ९२ हजार चार सय रुपैयाँसहित सिराहा २ का ३५ वर्षीय शम्भु नामले परिचित जितेन्द्र महासेठलाई नियन्त्रणमा लिएको हो। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार महासेठले बोकेको झोला खानतलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ९२ वटा, पाँच सय रुपैयाँ दरका ५९९ र एक सय रुपैयाँ र ५० रुपैयाँ दरका ६–६ गरी १३ लाख ९२ हजार चार सय रुपैयाँ बरामद भएको छ। 

स्रोत नखुलेको रकम बरामद भएपछि उनलाई रकमसहित जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त रकमको विषयमा पक्राउ गरिएका व्यक्तिले कुनै प्रमाण वा कागजपत्र पेस गर्न नसकेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार उक्त रकम हुनडी कारोबारको हुन सक्ने अनुमान गरिएको छ।