सिरहा, १८ भदौ। सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशी विनासकारी बाढीपीडित नागरिकको राहत, उद्धार  र पुनस्र्थापनाको लािग २५ लाख ५८ हजार सहयोग गर्ने भएको छ। पालिकाको तर्फबाट ५ लाख, जनप्रतिनिधीको १५ दिनको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरुको ५ दिन बरापरको पारीश्रमिक सहयो गर्न लागेको हो। 

सम्पूर्ण जनप्रतिनिधी तथा कर्माचारीसँगको छलफल पछि आज बसेको कार्यपालिका बैठकले उक्त रकम राहतस्वरुप प्रदान गर्ने निर्णय भएको नगर प्रमुख श्रवण यादवले जानकारी दिए। उनले भने, ‘पालिकाबाट दिने भनेको सरकारी रकम नै हो, हामी जनप्रतिनिधी र कर्मचारीको पनि यस्तो विपदको घडीमा दायित्व हुनुपर्छ भन्ने सल्लाह बमोजिम नै आज निर्णय भएको हो।’

उनले नगरपालिकाको पाँच लाख, कर्मचारीको ५ दिन र जनप्रतिनिधीको १५ दिनको सेवासुविधा जोड्दा २५ लाख ५८ हजार पुग्ने बताए।

उक्त रकम प्रधानमन्त्री राहत कोषमा एक सातापछि जम्मा गर्ने निर्णय भएको पनि जानकारी दिए।

यसअघि लहान नगरपालिकाले ११ लाख, गोलबजार, सिरहा, कल्याणपुरलगायतका नगरपालिकाले ५÷५ लाख सहयोग गर्ने घोषणा गरेका छन्।