सिरहा, ६ साउन। सशस्त्र प्रहरी बल नेपाल नम्वर २ छिन्नमस्ता महोत्तरीका बाहिनीपति विष्णु प्रसाद भट्टले विपद् व्यवस्थापन उद्धार र राहतमा सिमित विषय नभएकोे बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेडक्वाटर सिरहाद्वारा आयोजित ‘विपद् स्वयम्सेवक परिचालन विस्तारित तालिम’का सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै वहिनीपति पट्टले यो पूर्वतयारी, जोखिम न्यूनीकरण, जनचेतना, समन्वय र दु्रत प्रतिकार्यसँग प्रत्यक्ष जोटिएको विषय भएको बताएको हो।
उनले विपद्का बेला स्थानीय नै पहिलो उद्धारकर्ता भएकाले समुदाय स्तरमा स्वयसेवी उद्धारकताहरु आवश्यक पर्ने बताए। उनले भने, ‘कुनै पनि विपद्का घटनामा पहिलो उद्धारकर्ता स्थानीय नै हुन्छ। उनीहरुमा उद्धारसम्वन्धि प्राथमिक ज्ञान भए त्यसबेला उपयोगी हुन्छ। यहि विषयमालाई ध्यानमा राखेर सशस्त्र प्रहरीले विपद् स्वयम्सेवक परिचालन विस्तारित तालिम दिने गरेको छ।’
उनले समुदायमा आधारीत विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन कार्यालाई प्रभावकारी तालिम फलतायी हुने विश्वास व्यक्त गरे।
सोही क्रममा उनले तालिममा सहभागी सिरहा नगरपालिकाका नगर स्वयम् सेवक र गोबजार नगरापालिकाका नगरप्रहरीलाई विपद् स्वयम्सेवक परिचालन विस्तारित तालिम प्रदान गरिएको बताए।
कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले यो तालिमले स्थानीय स्तरमा हुने विपद्का घटनाहरुमा तत्काल उद्धार गर्न सहज हुने बताए।
त्यसैगरी, सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कुनै पनि तालिमहरु लिएरमात्र त्यसको उपादेयता नहुने बताउँदै यसको कार्यान्वयन आवश्यक रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागुगर्नुपर्ने बताए। सोही क्रममा उनले यस्ता खालका तालिमहरु जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए।
उनले भने, ‘मधेश बाढी, डुवान, आगलागी, शितलरको उच्च जोखिम रहेको क्षेत्र हो। विपद्को बेला उद्धारक लागि तालिम प्राप्त जनशक्तिले थप योगदान गर्न सक्नु पर्छ। तवमात्र यो तालिमको औचित्य हुने छ।’
उनले मधेशमा पछिल्ला दिनमा देखिएको लागु औषधका दुव्र्यशन न्यूनिकरण गर्नपनि यता खालका तालिमहरुमा युवाहरुलाई परिचालन गर्नु पर्नेमा जोड दिए।
सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेडक्वाटर सिरहाका प्रमुख एसपी शुमन जङ्ग थापा क्षेत्रीले तालिममा आगलागी, जल उत्पन्न प्रकोप, सीपीआर रेस्क्यू, भत्केका घर तथा संरचनाहरुमा खोज तथा उद्धार लागतयतका विषयमा सैद्धान्तिर र व्यवहारिक तालिम दिएको बताए।
१८ दिनसम्म सञ्चालित तालिममा सिरहा नगरपालिकाका २१ जना नगर स्वयम् सेवक, गोलबजार नगरपालिकाका ७ जना नगर प्रहरी र एक जना बारुण यन्त्रका चालक सहभागी रहेका थिए।























