लहान, ३ असार। लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको बताएको छ। किसानले सहज मलको नपाईरहेको बेला कम्पनीले मलको अभाव नभएको  र थप आपूर्ति पनि हुने बताएका हुन्।

आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५ दशमलव ६०० मेट्रिक टन युरिया, २१९ दशमलव ६५० मेट्रिक टन डीएपी, ८६ दशमलव ६५० मेट्रिक टन पोटास र ७८ दशमलव ७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कार्यालय प्रमुख चेवन खड्काले जानकारी दिए।

प्रमुख खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उनले बताए।

तर किसानले भने अझै सहज रुपमा मल पाउन सकेको छैन। कृषि सहकारीहरुले किसानलाई मल पुर्याउने जिम्मा लिएको भएपनि यसको पारदर्शी अनुगमन र नियमत नहुँदा मल व्यसायीको हातमा पुग्ने गरेको छ। पसलमा मल पाइन्छ तर सहकारीहरुले किसानलाई आवश्यक मल दिन सकिरहेको छैन।