सिरहा, ६ साउन। सिरहाको कल्याणपुर नगरपालिका ४ डरौलमा पछिल्लो २५ दिनदेखि नहर थुनिदा सिङ्गो गाउँ नै डुबानमा परेको छ। वर्षौंदेखि वडा कार्यालय अगाडिबाट बग्दै आएको बेतो नदी तथा वर्षाको पानी बग्ने नहर प्रमेश्वरी चौधरी, विक्रु कलवार र भगती यादव (मलुका)ले बन्द गरेपछि गाउँ तथा खेत जलमग्न भएको हो।

उनीहरुले आफ्नो जग्गामा भएको नहरबाट पानी बग्न नदिने भन्दै नहर थुनेको स्थानीयले बताए। केही दिन अघि उक्त मुहान बन्द गरिएपछि वर्षाको पानीले निकास नपाउँदा करिब २०० घरपरिवार र झण्डै २०० बिघा खेतीयोग्य जमिन जलमग्न भएको छ।
डुबानका कारण किसानले धान रोप्नसमेत नपाएका छैनन्। खेतीयोग्य जमिन बाँझो रहने जोखिम बढेको स्थानीयको भनाइ छ। घर–आँगनमा पानी जम्दा दैनिक जनजीवन प्रभावित बनेको छ भने आवतजावत, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दै गएको छ।
स्थानीय विहारी यादवले भने, ‘वर्षौंदेखि यही नहरभएर पानी बग्दै आएको थियो। अहिले थुनिँदा गाउँ नै डुबानमा परेको छ। घरभित्र पानी पस्न थालेको छ, खेतीबाली नष्ट हुँदै गएको छ। सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्यो।’
अर्का स्थानिय राजेश यादबले करिव २५ औ वर्षदेखि वडा कार्यलय अगाडि बाटै नहरभएर पानी बग्दै आएको आफ्नै अँखाले देख्दै आएको बताए। उनले अहिले केही ब्यक्तीले पावर र पहुँचको भरमा नहर थुनछेक गर्दा सिङ्गो गाउँ नै समस्यामा परेको बताए।
अर्की स्थानीय सीता देवी महराले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गरिन्। उनले तत्काल पानीको निकास भएन भने अझ ठूलो क्षति हुने बताए।
प्रमिला देवी महराले आफूहरू गरिब भएकै कारण आवाज नसुनिएको गुनासोसमेत गरिन्। घरमा पानी पसिसकेको छ। मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका हामी अहिले काम छाडेर घरमै बालबच्चाको हेरचाह गर्न बाध्य भएका छौं। हाम्रो पीडा कसैले सुन्दैन, उनले दुखेसो पोखिन्। सवित्री महराले पनि घरभित्र पानी पस्दा खाना पकाउनसमेत समस्या भएको बताइन्। चार कठ्ठा खेतीयोग्य जमिन डुबानमा परेको छ। वडा अध्यक्षलाई भन्दा ‘मबाट हुँदैन’ भन्ने जवाफ आउँछ, उनले भनिन्।
यता, कल्याणपुर नगरपालिका ४ का वडा अध्यक्ष परजित यादवले नागरिकको समस्यालाई गम्भीर रूपमा लिएर सबै तहमा पहल भइरहेको बताए। उनका अनुसार वडा, नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र तपेश्वर यादवलाई समेत जानकारी गराइसकिएको छ। उनले वर्षौंदेखि बग्दै आएको नहर केही व्यक्तिले थुनछेक गरेपछि समस्या उत्पन्न भएको दाबी गरे।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्रशासनले समस्या समाधानका लागि समन्वय गरिरहेको जानकारी दिए। वर्षौंदेखि बगिरहेको नहर पुनः सञ्चालन गराउने प्रयास भइरहेको छ। जग्गाधनी, स्थानीय तथा जनप्रतिनिधिसँग समन्वय गरेर निकास खुलाउने पहल भइरहेको उनले बताए।
स्थानीयवासीले नहरको मुहान तत्काल खुलाएर पानीको सहज निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माँग गरेका छन्। ढिलाई भए डुबानको समस्या अझ गम्भीर हुने भन्दै उनीहरूले तत्काल स्थलगत अनुगमन गरी प्रभावकारी समाधान गर्न आग्रह गरेका छन्।























