विराटनगर, ५ साउन। मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विद्यालयका बस चालक प्रदीप भट्टराई, विज्ञान विषयका शिक्षक किशोरलाल गच्छदार, लेखापाल अबिरल मास्के र नृत्य प्रशिक्षक झापाको बुद्धशान्ति गाउँपालिका ७ का ३१ वर्षीय भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चारै जनामाथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला अदालत मोरङबाट उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासा तथा प्राप्त उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। अनुसन्धानका क्रममा प्राप्त प्रमाण र बयानका आधारमा थप व्यक्तिको संलग्नता देखिएपछि नेपाललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले आरोप लागेका शिक्षक तथा कर्मचारीलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिसकेको छ। सुन्दरहरैँचा नगरपालिकाले पनि निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।






















