राजविराज, २ साउन। सप्तरीको राजविराजस्थित कारागार कार्यालयमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न हुँदा केही कैदिवन्दिले आत्मदाहको धम्की दिएका छन्। कारागारको ब्लक ‘बी’ मा रहेका पाँच–छ जना कैदीबन्दीलाई अर्को ब्लक वा अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेका बेला केही कैदीबन्दीले होहल्ला गर्दै मट्टीतेल छरेर आत्मदाहका धम्की दिएका हुन्।

विरोध जनाउँदै होहल्ला गर्नेध्यय केहीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने धम्की दिएको बताइएको छ। विवादका कारण केही समय कारागारभित्र तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार घटनापछि कारागार प्रमुख रुपक मण्डलले थप सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गर्न आग्रह गरेका थिए। त्यसलगत्तै प्रहरी टोली कारागारमा परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको डीएसपी घिमिरेले जानकारी दिए।

‘घटनापछि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले कारागारको अवस्था पूर्ण रूपमा सामान्य छ’,  डीएसपी घिमिरेले भने।

यता, कारागारभित्र रहेका कैदीबन्दीका अनुसार ब्लक नायक परिवर्तन गर्नुपर्ने माग उठेपछि विवाद चर्किएको हो। उक्त दाबीबारे भने सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।

घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक समन्वय र निगरानी भइरहेको प्रहरीको भनाई छ।