सिरहा, ६ साउन।मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले इलाका प्रहरी कार्यालय महेशपुरपतारी, सिरहामा कार्यरत  इन्सपेक्टर विशाल मल्ललाई २०८३ साल असार महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेको छ।

प्रहरी संगठनले दिएको जिम्मेवारीलाई उच्च व्यावसायिकता, निष्ठा, अनुशासन र कर्तव्यपरायणताका साथ निर्वाह गर्दै शान्ति–सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन, लागूऔषध नियन्त्रण अभियान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इन्सपेक्टर मल्ल यस सम्मानका लागि छनोट भएका हुन्।

प्रहरी निरीक्षक मल्लको नेतृत्वमा पछिल्लो समय सिरहामा चर्चित आनन्दीदेवी सदाय हत्या प्रकरणको सफल अनुसन्धान तथा अभियुक्त पक्राउ गरिएको थियो। त्यसैगरी १८ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफलता प्राप्त भएको थियो भने गत महिना ७ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई समेत पक्राउ गरी अनुसन्धानलाई सफल निष्कर्षमा पुर्‍याइएको थियो। यी सफल अनुसन्धानहरूले जिल्लामा अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा प्रहरीको प्रभावकारिता थप स्थापित गरेको प्रहरी स्रोतले जनाएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै उहाँको उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता, व्यावसायिकता र सेवाप्रतिको समर्पणको उच्च प्रशंसा गरे।

प्रशंसापत्रमा प्रहरी निरीक्षक मल्लले आमनागरिकमा सुरक्षाको अनुभूति दिलाउँदै प्रहरी संगठनको गरिमा, विश्वसनीयता र प्रभावकारिता अभिवृद्धि गर्न खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको उल्लेख गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन, व्यावसायिकता अभिवृद्धि तथा सेवाप्रतिको उत्तरदायित्व बढाउने उद्देश्यले ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन गरिएको हो। सोही कार्यक्रमअन्तर्गत प्रत्येक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई छनोट गरी सम्मान गरिँदै आएको छ।

महेशपुरपतार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान तथा जनमैत्री प्रहरी सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी निरीक्षक विशाल मल्ललाई प्राप्त यो सम्मानले मधेश प्रदेश प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीका लागि थप प्रेरणा प्रदान गर्नुका साथै नागरिकमा प्रहरीप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।