काठमाडौं, ६ साउन। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै यहाँको सत्ता समीकरण औपचारिक रूपमा फेरिएको हो।
एमाले मन्त्रीहरूले बुधबार प्रदेश प्रमुखसमक्ष पत्र बुझाउँदै २०८२ साउन २० गते नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन आज २०८३ साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिएको छ।
प्रदेश प्रमुखलाई पठाइएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारलाई दलको निर्णयअनुसार, समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ। यसअघि एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिँदै सरकारबाट बाहिरिने निर्णय गरिसकेको थियो।
सोही अनुसार आजै मुख्यमन्त्री बानियाँ समक्ष सामूहिक राजीनामा दिने तयारी छ। मुख्यमन्त्री बानियाँ चितवनबाट फर्किए लगत्तै औपचारिक रुपमा राजीनामा बुझाउने बताइएको छ।
सातै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र एमालेको नयाँ गठबन्धन बनाउने केन्द्रको तयारी अनुसार बागमतीमा रहेका एमाले मन्त्रीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक नेताले जानकारी दिए।
बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए।






















