जनकपुरधाम, १ साउन। दाईजोको विषयलाई लिएर करिब १८ बर्षअघि एक महिलालाई धारिलो हतियार प्रयोगरी हत्या गरेर फरार रहेका एक जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ। 

सिरहाको बरियारपट्टी गाउँपालिका ५ निवासी २५ बर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० बर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

दाईजोको विषयलाई लिएर २०६५ साल भदौ ३ गते विहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हत्या प्रहार गरेको थियो। धारिलो हतियार प्रहारबाट गम्भीर घाईते चन्द्रिकाको भारतको बिहार राज्यको पटनामा उपचार गराएपनि उपचार हुन नसकपछि नेपाल ल्याएर पुनः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ लैजाँदै गर्दा भदौ १९ गते मृत्यु भएको थियो। 

घटना पश्चात फरार मध्ये रामनाथ रायलाई खोज तलाश गर्ने क्रममा गाउँबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पालले बताउ। पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।