राजेश मिश्र

उनले ०७९ सालमा काठमाडौँ महानगरपालिकाको मेयर पदको शपथग्रहण नेवारी भाषामा गरे। जनकपुर पुगेर ०८२ सालमा मैथिली भाषामा भाषण गरे। उनले ०७९ सालको चुनावमा संघीय राज्य व्यवस्थालाई लत्याएर प्रदेश सभाको मतपत्र छुँदा पनि छोएनन्। तर जनकपुरमा ‘मधेसका बेटा’ भएर भाषण गर्नुअघि लहानमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको प्रतिमालाई स–श्रद्धा ढोगेर माल्यार्पण गरे। नेपालमा संघीय प्रणाली कायम हुनुमा मधेसका ५२ जना घोषित सहिदहरूको योगदान छ।

शिरमा कालो भादगाउँले टोपी र काँधमा सेतो गम्छा सहित जनकपुरको चुनावी उद्घोष सभामा उपस्थित बालेनको नयाँ राजनीतिक सिद्धान्तले आकार लिएको हो? महोत्तरीको धनाढ्य परिवारमा जन्मिएका जमिन्दार खलकका उनले सधैँ आफ्नो पैतृक पहिचान लुकाएर आफूलाई राजधानी उपत्यकाका रैथानेका रूपमा प्रस्तुत गरे। उनका पिता पुर्खाका कुलदेवता मधेसी किंवदन्तीमा आधारित दुई टाउके भगवान ‘सलहेस’का पुजारी हुन्। काठमाडौँको मेयर निर्वाचित भएपछि उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘म हिन्दु–बुद्धिस्ट धर्मको अनुयायी हुँ।’

राजनीति विरोधाभासले ग्रस्त एउटा तमासा हो। राजधानीका ‘बालेन शाह’ लाई मधेस प्रदेशको केन्द्र पुगेर ‘बालेन्द्र साह’ को पैतृक अवतारमा अवतरित हुन किञ्चित संकोच भएन! तर उनको एक झलक पाउन वीरगन्जदेखि विराटनगर अनि सिरहादेखि सर्लाहीसम्मका मधेसी मूलको भीड उपस्थित थियो। उनको स्वागतार्थीको दबाब थेग्न नसकेर जनकपुर विमानस्थलको प्रवेशद्वारको काँचको ढोका समेत झ¥यामझुरुम भयो।

तर उद्वेलित जनमानसको भीडको रूपमा उदाएको उन्मादको आयु क्षणभंगुर हुन्छ। ‘सौताको रिसले पोइको काखमा सूसू गर्ने’ प्रवृत्तिले एक क्षणका निम्ति सुखद लाग्न सक्छ। तर यो केवल ईष्र्याजन्य आक्रोशको भौतिक तुष्टि मात्रै हो। सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चुनावमा आफ्ना समर्थक सामु घोषणा गरेका थिए, ‘म तिमीहरूको रिट्रिब्युसन अर्थात् प्रतिशोध हुँ!’ रातो टोपीका सौखिन ‘मागा’ नामधारी एउटा कट्टरपन्थी सेता इसाईको समूहले उनलाई आँखा चिम्लेर पत्यायो। तर आज के छ उनीहरूको अवस्था?

उनले राजनीतिक लहडमा आफ्नै परम्परागत मित्रराष्ट्रहरूमाथि थोपरेको व्यापार करका कारण अमेरिकामा खानेकुराको मूल्य आकाशिएको छ। अमेरिकाको औद्योगिक क्रान्तिको विम्ब जस्तो ‘ली’ र ‘लिभाइज’ ब्रान्डका जिन्स चीनमा उत्पादन हुन्थे। सस्तो श्रम र कच्चा पदार्थका कारण यी कम्पनीले अद्भुत नाफा कमाएका थिए। तर, उपभोक्तासँग अमेरिकामा उत्पादित महँगो परिधानको तुलनामा सस्तो मूल्यमा त्यही उत्पादन किन्ने र लगाउने सुविधा थियो। आज ‘ली’ र ‘लिभाइज’ प्यान्टको मूल्य तीन गुणा बढेको छ। 

मेक्सिकोबाट अमेरिका आयात हुने आभोकाडो नामको फल एक वर्षअघि एक डलरमा तीन ओटा पाइन्थ्यो। अहिले क्यालिफोर्नियामा एउटाको मोल तीन डलर पुगेको छ। डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोको अपहरण गरेपछि पेट्रोलको भाउ घट्छ भन्ने विश्वास लिएका गोरेहरू निराश छन्। पेट्रोलको भाउ हरेक दिन बढ्दैछ।

यो केवल एउटा उदाहरण हो। सोच्ने मान्छेले अघिल्लो मान्छे खाल्डोमा खसेको देखेर आफ्नो बाटो परिवर्तन गर्छ। भेडा त्यही खाल्टोमा जाकिन्छ।

अपवाद होइनन् बालेन
तिलस्मी कहलिएका कालो चस्माधारी नवनायक बालेन्द्र शाह अपवाद होइनन्। उनासी सालको उनको संघीयता विरोधी अडान बयासी साल नपुग्दै मधेसको समथर भूमि पुगेर छताछुल्ल भएको छ। बालेनको राजनीतिक आशय र महत्वाकांक्षा आफ्नो ठाउँमा छ। दोष दिने कुरा छैन। तर, संघीयताको अवधारणालाई लत्याउने बालेन एक्लो मान्छे होइनन्।

नेकपा एमालेका तानाशाह कमरेड चेयरम्यान संघीयताको पक्षमा थिएनन्। मधेस आन्दोलनलाई त उनले कुनै भाउ नै दिएका थिएनन्। मधेसमा संघीयताको मुद्दाले उभारिँदा ओलीले भनेका थिए, ‘जता समथर मैदान देखियो, त्यहीँ संघीयता चाहिने? त्यसो भए बिहार र उत्तर प्रदेशतिर अथाह समथर मैदान छ। गए भइगो नि!’ ओलीको आशय स्पष्ट थियो, उनी मधेसका नागरिकलाई नेपाली मान्न तयार थिएनन्। 

संघीयताको मुद्दामा उनले बोलेको एउटा कुरा यहाँ स्मरणयोग्य छ, ‘भएको परराष्ट्र मन्त्रालयलाई बिरालोले बच्चा सारेको जस्तो यता र उता गर्नुपर्ने अवस्था छ, कताबाट धान्ने हो संघीयता?’ उनले कुन मितिमा कता यो बोले, मलाई याद छैन। तर राजनीतिक इतिहासकारहरूले यसको अभिलेख पक्कै राखेका छन्। एकदिन यो बाहिर आउनेछ, सान्दर्भिक रूपमा।

नेपाली कांग्रेसलाई बन्धक तुल्याएर पत्नी आरजु राणाको स्वार्थी आलिङ्गनमा बाँधिएका शेरबहादुर देउवा समेत संघीयताको पक्षमा थिएनन्। बीपी कोइरालाले कुनै बेला शेरबहादुरलाई ‘शेर–ए–सुदूरपश्चिम’ के भनिदिएका थिए, नेपालमा संघीयताको छलफल हुँदा उनले अखण्ड सुदूरपश्चिमको हुँकार गरेकै हुन्। 

अहिले रास्वपा प्रवेश गरेका नेपाली कांग्रेसका तथाकथित बागी कार्यकर्ता अमरेशकुमार सिंहले टीकापुरमा रेशम चौधरीजन्य नरसंहार हुँदा दुई दिनअघि के भूमिका खेलेका थिए? यस्ता गम्भीर सवालमा नेपालमा आयोग गठन हुन बाँकी छ। तर अखण्ड सुदूरपश्चिमको नाममा शेरबहादुर देउवाको पैसा लिएर रेशम चौधरीको आन्दोलनमा आगो बाल्ने अमरेशकुमार सिंह त्यतिबेला भारतीय खुफिया एजेन्सीको तल्लो तहका एक कारिन्दाबाट कसरी आदेश लिन्थे, बालेनलाई यसको कुनै आभास छैन। राष्ट्रिय स्वतन्त्र पार्टीमा दोहोरो भूमिका खेल्नेहरुको प्रवेश हुँदैछ।

स्वामित्वबिनाको सस्तो उपलब्धि
जसरी नेकपा एमालेका पहाडे बर्चस्ववादी अध्यक्ष केपी ओलीलाई वर्तमान संविधानप्रति कुनै अपनत्व छैन, नेपाली कांग्रेसका अपमानित र बहिर्गमित नेता शेरबहादुर देउवालाई पनि मुलुकको अग्रगमनको सवालमा कुनै चासो थिएन। यथार्थमा यी दुवै भारण्ड पंक्षी हुन्। दुई टाउको तर पेट एउटै। एउटा टाउकोले विष सेवन गर्दा असर अर्कोलाई पनि पर्ने। अन्यथा भुटानी शरणार्थी बेचबिखन प्रकरण चरममा पुग्दा मध्यरातमा सात बुँदे सहमति हुनुपर्ने कुनै कारण थिएन। 

देउवा दम्पतीले आफ्नै घरमा पिटाइ खाएर सिङ्गापुर गएपछि नै नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई लागेको थियो, ‘अब नेपाली कांग्रेसमा राणा युग सकियो।’ तर देउवा नेपाल फर्किने बित्तिकै उनलाई सक्रिय तुल्याउन नेपाली कांग्रेसका कार्यकर्ताभन्दा बढी नेकपा एमालेका नेता केपी ओलीको भूमिका दृष्टिगोचर भयो। किन?

गणतान्त्रिक आन्दोलन र संविधान निर्माणको प्रक्रियामा ओली र देउवाको एक छटाक योगदान थिएन। तर पुष्पकमल दाहालसँग सिन्डिकेट बनाएर त्यो आन्दोलनको घ्यु चाट्नेमा यी दुवै अग्रणी रहे। यिनीहरूलाई डर छ। यी दुवैको राजनीतिक इतिहासको धनसारमा सकारात्मक योगदान भन्दा बढी भ्रष्टाचारको अस्थिपञ्जर लुकेका छन्। 

सत्ताबाट हटेपछि ती फाइल खुल्न सक्छन्। वृद्धावस्थामा रुग्ण शरीर लिएर भ्रष्टाचारको कलंकसहित जेल जानु प्रियकर अवस्था पनि होइन। यी दुवैलाई सत्ताको महत्व केवल आफ्नो स्वार्थको खातिर हो। देशको बारेमा वा आगामी पुस्ताको बारेमा सोच्ने निस्वार्थ भावना यिनीहरूसँग कहिले पो थियो र? बीचमा प्रचण्ड पनि थिए। त्यसैले यिनीहरू बाहिर झगडा गरेको जस्तो गरेर भित्रभित्रै मिलेका थिए। तीस वर्षको शासन त्यसै चल्दैन।

अब के त?
चुनाव हुन बाँकी छ। सन् १९८१ मा राष्ट्रिय पञ्चायतको चुनाव नानीमैया दाहालले जोडका साथ जितेकी थिइन्। बीपी कोइराला त्यो बेला जीवित थिए। म सात कक्षाको विद्यार्थी थिएँ। तर, उनले ‘सुधारिएको’ पञ्चायती व्यवस्थाको उपेक्षा गर्दै कार्यकर्ताहरूलाई भनेको कुरा मलाई अक्षरशः सम्झना छ। उनको कुरा थियो, ‘आफ्नो परिवारसँग समय बिताऊ। मासुभात, खीर, खिचडी जे खान मन छ, त्यो खाऊ। कविता लेख, कविता पढ। तर यो चुनावले हाम्रो कार्यदिशा निर्दिष्ट गर्दैन।’

हाम्रो घरमा कांग्रेस र भूमिगत कम्युनिस्टको भीडभाडको सीमा थिएन। कम्युनिस्ट अलमलिएको र कांग्रेस रुमल्लिएको अवस्था थियो। तर कांग्रेसीहरूले सुधारिएको पञ्चायती व्यवस्थाको उपहास गर्न एउटा तरिका निकाले। नानीमैया दाहालले ख्यालख्यालमा कांग्रेसी मत पाइन्। जितिन्। काठमाडौँमा त्यो बेला केवल दुई जना निर्वाचित हुन्थे। माछा छाप लिएर उठेका पञ्चायती कालका दुर्दान्त खेलाडी जोगमेहर श्रेष्ठले पनि जिते, तर नानीमैया दाहालले उनलाई मतको आधारमा हराइदिइन्। राष्ट्रिय पञ्चायतको सभाहलमा नानीमैया घुँडासम्म सारी तानेर हात हल्लाउँदै प्रवेश गरिन्। जोगमेहर श्रेष्ठ लाजले दस मिनेटपछि बल्ल छिरे। त्यो कांग्रेसी कार्यकर्ताहरूले पञ्चायती सरकारलाई औकात देखाइदिएको दिन थियो।

बालेन र रवि लामिछानेको पनि औकात देखिइसकेको छ। फागुन २१ को चुनाव राजनीतिक होइन। यो प्राविधिक हो। नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउने एक बाध्यात्मक परिबन्ध हो यो चुनाव।

निर्वाचन आयोगद्वारा प्रक्षेपित खर्च विवरण अनुसार यो चुनावमा राज्यको २५ अर्ब खर्च हुँदैछ। राजनीतिक दलका भित्री र बाहिरी कर्म–अपकर्मको जोड गर्दा यो खर्च एक खर्ब माथि जानेछ। जेनजी आन्दोलनको नाममा जे विध्वंस भयो, नेपाल सरकार भन्दैछ, त्यसमा ८५ अर्बको नोक्सान भयो। निजी क्षेत्र भन्दैछ, हाम्रो ३४ अर्बको नोक्सान भयो। यो भनेको कुल क्षतिको ४० प्रतिशत हो। सरकारी तथ्यांक अनुसार ७७ जना मारिए। दुई हजार भन्दा बढी घाइते भए। यो दुई हजारमध्ये १३ सय जना १३ देखि १८ वर्षका थिए।

यो नरसंहार हो। केपी ओली पहिलो पंक्तिका जिम्मेवार हुन्। तर बालेन पनि यो क्षतिको स्वामित्व लिनबाट भाग्नु भनेको उनको नैतिकतामा खोट हो। भदौ २४ को विध्वंसमा बालेनको भूमिका छ। भाग्न मिल्दैन। बालेनले रविसँग हात मिलाउनु आफैँमा उदेकपूर्ण गठबन्धन हो। ‘चोर चोर कजिन ब्रदर्स’ भन्ने उखान चरितार्थ गर्ने हो भने अर्कै कुरा, तर यी दुई मिलेर नेपाललाई अधिनायकवादको यात्रामा लैजाने खतरा छ।

बालेन र रविको गठबन्धन अर्काको रिसलाई आफ्नो स्वार्थमा बदल्ने प्रपञ्च मात्रै हो। कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा!

यात्रा र जात्रामा लाग्ने भीड सधैँ भेडा हुन्छ।

(नेपालखबरबाट)