- रवि किरण हमाल
नेपालमा बेरोजगारी र भ्रष्टाचारले पराकाष्टा नाघेको थियो। राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि संविधान, सरकार र दलहरूप्रति नयाँ पुस्ताको विश्वास टुटेको अवस्था थियो। नेपाली काङ्ग्रेस र एमाले जस्ता दुई ठूला दलको सरकार बनेपछि राज्यका सम्पूर्ण निकायहरू निकम्मा भएका थिए, उहाँहरुले संसदीय शक्तिको आडमा देशमा मनपरीतन्त्र चलाएर नेपाललाई कुशासनको दुष्चक्रमा फसाउनुभएको थियो। सामान्यतया संसदीय व्यवस्थामा देश गृहयुद्धमा गएको, महामारीबाट गुज्रिएको अथवा अन्य कुनै देश संग युद्ध भएको खण्डमा मात्रै दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउने हो। जब कांग्रेस र एमाले मिलेर सरकार बनाउने काम भयो त्यसपछि नै नेपाली राजनीतिले संकटको बाटो रोजेको थियो।

सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएर अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित गर्ने गरिकन सरकार अगाडि बढ्यो । नेपालको नयाँ पुस्ताले विश्वमा भएका विभिन्न आन्दोलनहरूलाई नजिकबाट हेरेको थियो र ती आन्दोलनमा भएका घटनाहरूलाई समेत सिको गर्दै नेपालमा महान विद्रोहको विजारोपण भयो । जेन्जी पुस्ताको तीनवटा समस्या भनेको: अत्याधिक देखासिकी, शारीरिक-मानसिक रूपमा कमजोर , र अस्थिरता रहेका थिए भने सकारात्मक भनेको अभिनव मस्तिष्क थियो। टिकटकमार्फत नेपो बेबी अभियान एकदमै उत्कर्षमा पुग्यो, सरकारमा बस्ने र राज्यका उपल्लो पदमा रहेका मानिसका छोराछोरीको जीवनशैली सर्वसाधारण नागरिकका छोराछोरीभन्दा निकै भिन्न रहेको कुरा महसुस भयो र हाम्रो कर लुटिएको आभास नेपाली युवाहरुले गरे सोही कुराले मस्तिष्कमा ठूलो राजनीतिक चेत पैदा गरेको थियो ।
नेपाली युवाहरूले भाद्र २३ गते सशक्त प्रदर्शन गर्ने निधो गरेका थियौ । भाद्र २२ गते दुई ठाउँमा युवाहरूको छलफल भएको थियो, बत्तीसपुतलीको एउटा रेस्टुरेन्टमा मिराज ढुङ्गाना लगायतको समूहले प्रदर्शनको बारेमा छलफल गरेको थियो भने काठमाडौँको बबरमहलमा म लगायतका युवाहरूले पत्रकार सम्मेलन नै गरेर सडक संघर्षमा उत्रिन आह्वान मात्र होइन परेको खण्डमा जिम्मा लिन्छौं भनेर समेत भरोसा दिलाएका थियौँ।
भाद्र २३ गते जब माइतीघरदेखि बानेश्वरसम्म हजारौं युवाहरू लामबद्ध भए, त्यो भिडले युवाहरूलाई ठूलो शक्ति र हौसला प्रदान गरेको थियो। त्यसमा विभिन्न प्रकारका गतिविधिका कारणले गर्दाखेरि युवाहरूमा निकै जोश र आक्रोश पैदा भयो । सुरक्षा अवस्था निकै फितलो थियो। जसरी माइती घरदेखि बानेश्वरसम्म एउटा समूह ठूलो आवाजमा बाइकहरू ओरदोहोर गरिरहेको थियो त्यसकारण पनि युवाहरू उद्दलित भएका थिए ।
फिल्डमा खटिनु भएका नेपाल प्रहरीका एआइजी सिद्धि विक्रम शाह र काठमाडौँ परिसरका प्रमुख विश्व अधिकारीज्यूलाई मैले युवाहरूमा आक्रोश पैदा भएको छ भर्खरको युवाहरू पहिलोपटक प्रदर्शनमा छन् र कुनै प्रकारको दमन नगर्नुहोला भनेर सुझाव पनि दिएको थिएँ । निकै आक्रोशित युवाहरूले प्रहरी ब्यारिकेट तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले फायर खोलेको थियो । त्यहाँ कुनै सिलसिलेवार बल प्रयोग भन्दा पनि एकैपटक गोली प्रहार गरिएको थियो जसका कारणले गर्दाखेरि दर्जनौं युवाहरू ढलेका थिए ।
त्यसपछि पनि गोली लागेका युवाहरूलाई सिभिल अस्पतालमा लिएर उपचार गर्ने क्रममा प्रहरीले अस्पतालको इमर्जेन्सीमा असुर ग्यास प्रहार गरेको थियो। न्यूनतम पनि मानवीयता गुमाएर अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि असुर ग्यास प्रहार गरिसकेपछि थप स्थिति तनावग्रस्त भयो ।
राति अबेरसम्म संसद भवनको Opposite साइडमा रहेको एउटा घरमा शरण लिएर बसेका थियौँ। जुन घरमा हामी बसेका थियौँ, भगवानको कृपाले मसँगै कक्षा आठमा पढेको साथी त्यो घरमा हुनुहुँदो रहेछ, उहाँकै कारणले हामी त्यहाँ सुरक्षित भएका थियौँ। तर प्रहरीले त्यही घरभित्र असुर ग्यास प्रहार गर्यो र उहाँहरु असुरक्षित महसुस गरिसकेपछि त्यहाँबाट निस्कने उपाय खोजी गरियो। त्यही क्रममा प्रहरीले गल्लीहरूमा गएर अन्धाधन्दा गोली समेत चलाएको थियो। बिहान त्यहाँ घर नजिकै एउटा ट्याक्सी पार्किङमा रहेको र राति ९ बजेतिर उक्त ट्याक्सी लिन ड्राइभर आएको बखत मसँगै रहेका भाइको उक्त ट्याक्सीसँग सम्पर्क भएपछि हामी त्यहाँबाट निस्किने परिस्थिति बन्यो जुन भगवानको कृपाले सम्भव भएको हामीलाई महसुस भएको थियो ।
त्यसपछि मसँग रहेका साथीहरूसँगै मैले आफ्नो कपडा परिवर्तन गरेर त्यहाँबाट बाहिर निस्किदाखेरि संसद भवन आर्मीले नियन्त्रणमा लिएको थियो। अनि त्यहाँबाट निस्केर बुढानीलकण्ठ पुगेका थियौँ। त्यही क्रममा मध्यराति मलाई पक्राउ गरियो। पक्राउ गर्ने क्रममा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की, केपी खनाल कहाँ हुनुहुन्छ भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षकले सोध्नुभएको थियो। उहाँहरु मेरो सम्पर्कमा नभएको मैले जानकारी गराएको थिएँ। मलाई उक्त कार्यालयको अबेरसम्म बैठक बसेर मेडिकल चेक जाँच गरेर काठमाडौँ परिसरमा बुझाउने गरी निर्देशन भएको थियो। सोही बमोजिम म काठमाडौँ प्रहरी परिसरको हिरासतमा थिएँ।
म नेपाल प्रहरीको काठमाडौँ परिसरमा हिरासतमा रहँदाखेरि रातभरि निदाउन सकिन, कुनै टेलिभिजन र मोबाइल सम्पर्क नभएको कारणले गर्दाखेरि निकै छटपटाहट र अशान्त भएको थिएँ । मलाई प्रहरीले भाद्र २४ गते १२ बजे छोडेको थियो ।
म जब बाहिर निस्किए, त्यतिबेला सिंगो देश जलेको थियो , त्यस लगत्तै म बाहिर निस्केपछि अन्तरिम सरकार निर्माणको पहलका लागि राज्यका निकाय र आन्दोलनकारीहरूसँग छलफल चलाएको थिएँ। म बाहिर निस्केपछि शीतल निवासको नजिक पुगेको बेला शितल निवासलाई नेपाली सेनाले घेरेर राखेको थियो त्यतिबेलासम्म जलेको थिएन। म जब बुढानीलकण्ठबाट फर्किने क्रममा केही घण्टामै शितल निवासमा समेत आगो दन्किएको थियो। जहाँसम्म सेनाले किन सिंहदरबार जोगाउन सकेन भन्ने कुरा छ, स्वयं शितल निवासमा समेत सेना तैनाथ गरिएको थियो र मानवीय क्षति कम गर्न पछाडि हटेपछि शीतल निवासमा आन्दोलनकारीले आगो लगाएका थिए। नेपाली सेनालाई दोषारोपण गरेर होइन हामीले देशको कठिन घडीमा प्रदान गरेको शान्ति सुरक्षालाई सदैव सम्मान र स्मरण गर्नुपर्नेछ। जन-धनको रक्षा गर्नु सुरक्षा निकायको जिम्मेवारी हो। जन पहिलो आउँछ भन्ने कुरा सबैले आत्मसात गरौँ।
सोही क्रममा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की ज्यूहरूले अब हेडक्वाटरबाट प्रदर्शनकारीलाई बाहिर जान आह्वान गरिदिनुपर्यो भनेपछि हामीले सक्दो प्रयास गर्यौ र आन्दोलनकारीहरूलाई अब शान्त हुन आग्रह गरेका थियौँ। त्यही क्रममा हामी युवाहरू जम्मा भएर ठाउँ ठाउँमा गएर अब शान्त हौँ थप क्षति देशलाई नगरौं भनेर पहल गरेका थियौँ। जो सार्वजनिक पनि भइसकेको छ ।
हामीले राज्यका स्थायी संरचना र आन्दोलनकारी बीच वार्ता भएर राष्ट्रले निकास पाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेका थियौँ जुन हुनुपर्थ्यो त्यसो गर्न सकिएन । आज म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्न चाहन्छु : राज्यका स्थायी निकाय र हामी विद्रोही बीच वार्ता भएर देशलाई अन्तरिम संविधान दिएर निकास दिनुपर्ने कुरा नै फलदायी हुने थियो ।
म स्वयंलाई विभिन्न आरोपहरू लगाएर बदनाम गराउने प्रयास भयो। ती आरोपहरूलाई सहज स्वीकार गर्दै म अगाडि बढ्न चाहन्छु। म प्रतिको यहाँहरूको विश्वासको कारणले गर्दाखेरि आलोचना भएको भन्ने ठान्दछु। राजनीतिक रूपमा उतारचढाव भए होलान् तर यो देशको कुनै सार्वजनिक पद धारण गरेको छैन र कहीँ कतै पनि शक्तिको दुरुपयोग गरेको छैन। तर जेएनजी विद्रोहलाई निष्कर्षमा पुर्याउनका लागि मेरो १० वर्षको राजनीतिक अनुभव, राजनीतिशास्त्रमै स्नातकोत्तर गरेको ज्ञान र विद्रोहका क्रममा सुस्पष्ट रूपले देखाएको मार्गचित्र भोलि नेपाली राजनीतिक इतिहासले मूल्याङ्कन गर्ला, भविष्यलाई नै छोड्दिन चाहन्छु।
जब शीतल निवासमा पुरानै राजनीतिक खेल सुरु भयो र सरकार निर्माण तहसम्म पुग्यो। म कुनै पनि गतिविधिमा सहभागी छैन।
किनभने त्यसले परिणाम दिँदैन, बलिदानीमाथि धोका हुन्छ भन्ने कुरा मेरो राजनीतिक अनुभवले ,मेरो ब्रह्म र मेरो मस्तिष्कले भनेको थियो। जुन कुरा यहाँहरुले महसुस गर्नुभयो भन्ने लाग्छ।
एकापट्टि कलिला नयाँ पुस्तालाई पटपटी सडकमा गोली हानेर ढालिएको, अस्पतालमा समेत प्रहरीले इमर्जेन्सीमा पनि असुर ग्यास प्रहार गरेको निकै कहाली लाग्दो र क्रुर घटनाबाट सिङ्गो देश विद्रोहमा होमिएको कारण २४ गते ठूलो क्षति बेहोर्नुपर्यो। विद्रोहका क्रममा जति पनि घटनाहरू भए ती सबै २३ गते भएको नरसिंहरको दुष्परिणाम थिए, तीन दशकसम्म यो देशलाई गरिबी बेरोजगारी भ्रष्टाचार र परनिर्भरताको दुस्चक्रमा पिल्साइएको सुसुप्त आक्रोश त छँदै थियो । आज भाद्र २३ र २४ गतेलाई फरक रङ दिने कुरा कुनै हालतमा पनि स्वीकार्य छैन।
भाद्र २३ गतेको नरसिंहर पछि २४ गते सिङ्गो देश विद्रोहमा होमिएको थियो ।
२४ गते देशमा ठूलो तोडफोड आगजनी र दर्जनौं मानिसहरूले मृत्युवरण गरेका थिए। भाद्र २४ र २३ गतेलाई विभाजन गर्नु हुँदैन यद्यपि २४ गते केही समूहले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि तरल अवस्थालाई दुरुपयोग गरेको हुनसक्छ तर त्योभन्दा ठूलो कुरा त नेपाली जनताको विद्रोह नै प्रमुख हो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीहरू भागेर सेनाको शरणमा पुगेको अवस्था थियो। सम्पूर्ण राज्यका निकायले आत्मसमर्पण गरेको अवस्था थियो।
त्यही अवस्थामा नेपाली सेना सुरक्षाको लागि तैनाथ भएको थियो ।
नेपाली सेनाले सुरक्षा जिम्मा लिइसकेपछि जिउधनको क्षति हुनबाट देश जोगिएको थियो। सेनाले वार्ताका लागि जेन्जी विद्रोहमा सामेल भएका अगुवाहरूसँग छलफल पनि गरेको थियो ।
नेपाली सेनाले जेन्जी विद्रोहमा सामेल अगुवासँग छलफल गरेर निष्कर्ष पुग्न नसक्ने परिस्थिति, भूराजनीतिक दबाब एवं संविधानभन्दा बाहिर नजाने वातावरण बनिसकेपछि , वार्ता संवादको केन्द्र शितल निवास बन्न पुग्यो जुन अस्वीकृत भइसकेको थियो र स्वयं राष्ट्रपति भागेका थिए।
जब शितल निवासमा समग्र देशको राजनीति केन्द्रित भयो, त्यसपछि नै पुराना राजनीतिक शक्तिहरूलाई राष्ट्रपतिले छलफलका लागि बोलाएका थिए। पुराना राजनीतिक शक्तिकै अनुमतिमा राष्ट्रपतिले अन्तरिम सरकारका लागि प्रक्रिया अगाडि बढाएका थिए।
अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई अगाडि सार्ने कुराको अगुवाई पनि स्वयं राष्ट्रपतिले गरेका थिए भने त्यसलाई काठमाडौँका मेयर बालेन्द्र शाहदेखि केही जेन्जीहरूलाई समेत समाहित गरेर प्रक्रिया अगाडि बढाइएको थियो।
एकापट्टि नेपाली सेनाले संकटकाल लाउने दबाब( भाद्र २४गते राति नेपाली सेनाको उच्च तहमा म स्वयंले टेलिफोन संवाद गरेर कुनै पनि राजनीतिक निर्णय नलिन आग्रह गरेको थिएँ जुन कुरा सार्वजनिक समेत भइसकेको छ, राजनीतिक निर्णय नयाँ पुस्ताले गर्छ भन्ने मान्यता हामीमा थियो) , अर्को पट्टि अपरिपक्क जेन्जीहरूको दबाबले राजनीतिक संकट एवं सुशीला कार्की, कुलमान घिसिङ, ओम प्रकाश अर्याल एवं गिरोहको सत्ता लिप्साका कारण निम्तिने खतराका बीच विद्रोहका क्रममा उठेका एजेण्डाहरूलाई थाती राखेर अन्तरिम सरकार निर्माण गर्ने र चुनावमा देशलाई लैजाने गरी षड्यन्त्र अगाडि बढाइएको थियो।
काठमाडौँका मेयर बालेन शाह र केही अपरिपक्क जेन्जीका कारणले गर्दाखेरि अन्तरिम सरकारलाई चुनावी सरकारमा सीमित गर्दै शीतल निवासले पुरानै सत्तालाई यथास्थितिमा राख्न सफल भयो।
त्यसपश्चात् विद्रोहका क्रममा उठेका मागहरू सम्बोधन गर्ने संवैधानिक आधार गुम्यो, राजनीतिक आधार भने अझै पनि जीवित नै छ। कुनै पनि देशमा विद्रोह सफल भएपछि स्वतः नै संविधानको औचित्य समाप्त भएर जान्छ ।
जेन्जी विद्रोहलाई विभिन्न भागमा विभाजन गरेर त्यसलाई दोषारोपण गर्ने काम पनि सुरु भएको छ, अर्को पट्टि जेन्जीहरू बीच राजनीतिक परिपक्वताको अभावका कारणले गर्दाखेरि छिन्नभिन्न अवस्थामा पुगेको अवस्था हो।
जुन जेन्जीको अपरिपक्क समूहलाई हवला दिएर अन्तरिम सरकार निर्माण गरिएको थियो। त्यसैको दबदाबाका कारणले गर्दाखेरि असल मनसायका साथ लडेका जेन्जीहरूलाई बिस्तारै पाखा लाउने काम भएको देखिन्छ । जुन दुर्भाग्यपूर्ण साबित हुनेछ।
जेन्जीहरूबाट राज्यलाई अब थ्रेड छैन भनेर महसुस गरिसकेपछि , विद्रोहका क्रममा उठेका मुद्दाहरू ओझेलमा परेका छन् भन्ने कुरा स्थापित गर्न खोजिँदैछ। तर त्यो सत्य होइन। नेपालको नयाँ सचेत पुस्ताले गरेको विद्रोह निष्कर्षमा नपुगेसम्म यो देशमा कहिल्यै शान्ति हुन सक्दैन । हाम्रै आँखा अगाडि मृत्युवरण गर्ने साथीहरूको आत्माले सदैव घच्घच्याई रहनेछ। यसका केही अगुवाहरु बिक्न सक्छन्, केही युवाहरू निराश भएर विदेश पलायन हुन सक्छन् तर बहुसंख्यक पुस्ता परिवर्तनको लागि फेरि पनि लड्नेछ। यहाँ १२ वर्ष मुनि बच्चाहरू छन् र हामीभन्दा माथिको पुस्ताले यो देशको तस्करीतन्त्रलाई ढाल्न नसकेपछि हामीले त्यो अभिभारा पूरा गरेका थियौं ।
एकापट्टि जेन्जी विद्रोहका मागहरू पूरा नहुने र अर्को पट्टि यो देशमा ठूलो मानवीय एवं भौतिक क्षति भएको कुराले देशमा थप असन्तुष्टि पैदा भएको छ । त्यसलाई चिर्दै सकारात्मक भएर अगाडि बढ्नु हाम्रो राष्ट्रिय धर्म हुनेछ ।
आज नेपाली सेना लगायतका सुरक्षा निकायलाई दोष दिएर हामी उम्किन सक्दैनौँ। हामीले महसुस गर्नुपर्यो कि देशका सुरक्षा निकायहरूलाई यति निकम्मा बनाएका रहेछौं कि यो देश र नागरिकलाई सुरक्षा गर्न नसक्ने अवस्था रहेछ । हाम्रा सार्वजनिक संस्थाहरूको क्षमता, व्यावसायिकता र कमजोर Moral रहेको कुरा स्वीकार्दै पुनर्संरचना गरेर मजबुत बनाउने कुरा पो प्रमुख हो।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीका विषयमा यो देशमा थुप्रै टिकाटिप्पणीहरु भएका छन्। केही मानिसहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याएमा देशमा निरङ्कुशता जन्मिने कुरा पनि गरेका छन् । प्रजातन्त्रको चाबी नेपाली जनताको हातमा दिनुपर्छ भन्ने कुरा निरङ्कुशता हो कि उन्नत प्रजातन्त्र?
अस्थिर शासकीय स्वरूपको कारणले गर्दाखेरि यो देशमा पटकपटक सार्वजनिक ओहोदामा पुगेका मानिसहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु हुँदैन भन्ने कुरा हामी पत्याउन सक्दैनौं।
आज गाउँमा खेती किसानी गरेर सकिनसकी आफ्ना सन्तानको राम्रो शिक्षा दीक्षाका लागि मेहनत गरिरहेका बहुसंख्यक नेपाली जनतालाई शासक निरङ्कुश छ कि छैन भन्ने कुरातर्फ होइन:
यो देशमा स्थिर शासनको बलमा सुशासन र तीव्र एवं दिगो विकासप्रति बढी चासो छ। नेपाल जस्तो देशमा नरम तानाशाह अपरिहार्य भइसकेको छ।
शासकको नजिक भएर देश लुट्नमा सक्रिय मानिसहरूले नै आज यस्तै खालको अस्थिर राजनीतिक व्यवस्था चाहिरहेका छन्। किनकि अस्थिरतामा धेरै खेल्न सकिन्छ र देशलाई लुट्न सकिन्छ भन्ने उनीहरूको धेय छ। पछिल्लो तीन दशक यता कतिवटा सरकारहरू परिवर्तन भए , ३१ वटा सरकार निर्माण भएका छन्। शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भएपनि पाँच वर्षसम्म पनि सरकार नचलाएको तथ्यले थप त्यसको पुष्टि गर्दैन र?
हामीले संविधानको औचित्य समाप्त भइसकेको कुरालाई आत्मबोध गर्नैपर्छ, संविधान संशोधन गर्नको लागि प्रतिनिधिसभामा दुईतिहाई ल्याउनुपर्छ त्यति मात्र होइन राष्ट्रिय सभामा समेत दुई तिहाई चाहिन्छ । अहिले फागुन २१ गते घोषणा भएको निर्वाचन प्रतिनिधिसभाको हो। निर्वाचन प्रणालीलाई वैज्ञानिक रूपमा हेर्ने हो भने दुईतिहाइको सम्भावना छैन। राष्ट्रिय सभामा त स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्यहरू मार्फत निर्वाचित हुने प्रावधान छ ।
फागुन २१ गतेको निर्वाचन भनेको देशमा गृहयुद्ध निम्त्याउने एउटा लक्ष्यबाट प्रेरित षड्यन्त्र मात्रै हो।
नेपालकै राजनीतिक इतिहास हेर्ने हो भने पनि विद्रोह मार्फत संविधान संशोधन भएर अगाडि बढेको कहिँ कतै देखिँदैन, त्यसो हुन्थ्यो भने नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ समाप्त भएर जाने थिएनन्। त्यही भएर संविधान संशोधनको कुरा गर्नु अर्थहीन हुन्छ। अब देशमा नयाँ संविधान निर्माण गरिनुपर्छ , त्यो संविधानमा २००७ सालको आन्दोलन, जनआन्दोलन २०४६/४७, जनआन्दोल २०६२/६३ र २०८२ सालको विद्रोहलाई आत्मसात गरिनुपर्छ । नेपालमा व्यवस्था परिवर्तन भयो भन्ने कुरा सत्य होइन - विक्रम सम्वत २०१५ सालमा पनि संसद मार्फत प्रधानमन्त्री चुन्ने, २०४७ सालको संविधानमा पनि संसद मार्फत प्रधानमन्त्री चुन्ने, २०७२ सालको संविधानमा पनि संसद मार्फत प्रधानमन्त्री चुन्ने प्रणाली कायम नै रहेको देखिन्छ । त्यति मात्र होइन राज्यका स्थायी संरचनाहरू २००७ यता निर्माण भएदेखि आजसम्म उस्तै अवस्थामा छन्।
नेपालले आज ऐतिहासिक अवसर प्राप्त गरेको छ, हामीले त्यसको पदचापलाई पछ्याएर अगाडि बढ्न सक्यौँ भने हाम्रो देश विश्वको उन्नत राष्ट्रको रुपमा उभिनेछ र नेपालीहरू विश्वका उन्नत राष्ट्रका नागरिकको हैसियत प्राप्त गर्नेछन्।
हामी सबैले अब हाम्रा सीमित घेरा र पर्खालहरू भत्काएर : एकताबद्ध भएर अगाडि बढ्नैपर्छ । यही बीचमा जेन्जी विद्रोहलाई आत्मसाथ गरौँ, स्वीकार गर्दै संस्थागत गर्नका लागि सबै नेपालीहरूको समर्थन, आशीर्वाद र सहभागिता आवश्यक छ। होइन भने यो देश असफल हुनेछ। नयाँ पुस्ताको विद्रोहलाई अपराधिकरण गरेर, घुसपैठको संज्ञा दिएर अथवा कुनै विदेशी शक्तिको हात रहेको जस्ता चर्चा गरेर हामी अब काहीँ पनि पुग्दैनौँ। इतिहासलाई हामीले बदल्न सक्दैनौँ, पाठ सिक्ने मात्रै हो।
खरानीको कोट्याएर देश कहिँ पनि पुग्ने छैन। थप द्वन्द्वको विजारोपण भने हुनेछ ।
कुनै पनि देशमा नागरिकहरू आफ्नो प्राण नै आहुती गरिसकेपछि पनि मागेको न्याय पाउँदैनन् भने त्यो देशको अस्तित्व र राज्यको औचित्य रहँदैन । देशभित्र र बाहिर रहनुभएका सबै नेपालीहरू गम्भीर बनौँ, राष्ट्रिय धर्म निर्वाह गरौं।