• विकास बस्नेत

पहिलो साथी : होमरको काव्य ‘ओडिसी’ मा ओडिसियसको बफादार कुकुर छ– आर्गोस । आर्गोसलाई छाडेर ओडिसियस ट्रोजन युद्धका लागि प्रस्थान गर्छ । आर्गोस अविचलित भएर ओडिसियस फर्कने प्रतीक्षा गरिरहन्छ । तर, ओडिसियस फिर्न २० वर्ष लाग्छ। शत्रुबाट जोगिन ओडिसियस भेष बदलेर आएको हुन्छ।

naresh lama

देख्नेबित्तिकै आर्गोसले चिन्छ । बुढ्यौलीले जीर्ण भएको आर्गोस साथी देखेर उठ्न खोज्छ तर सक्दैन । उसले परैबाट पुच्छर हल्लाउँछ, गहभरि आँसु पार्छ र प्राण त्याग गर्छ । कुकुर–मान्छेको गहिरो मित्रतामाथि यस्ता कथा/मिथक नभएको मानव संस्कृति विरलै पाइएला ।

यस धरतीमा मान्छेको सबैभन्दा पुरानो मित्र हो– कुकुर । अध्येताहरू भन्छन्– यो मित्रता कम्तीमा पनि ३० हजार वर्ष पुरानो हो । तर, आरम्भमा हामी दुवै पृथक् थियौं । ऊ थियो एक आक्रामक ब्वाँसो । हामी स–साना झुन्डमा धरतीको केही कुनाकाप्चामा डुलिहिँड्ने फिरन्ते सिकारी मात्रै थियौं । यो त्यही सहयात्राको बिन्दु थियो, जसले कालान्तरमा हामी दुवैको कायाकल्प गरिदियो । हामी आधुनिक मानव बन्यौं र जंगलको ब्वाँसो घरको कुकुर बन्यो । सहयात्राको यो कथा मिथक, पुरातत्त्व, जीवाष्मादेखि आनुवंशिक प्रमाणहरूमा अभिलिखित छ ।

सोभे गुफामा फेला परेको एक बालक र ब्वाँसो–कुकुर (आदिम कुकुर) को पाइतालाको डोब खिपिएको छ । करिब १५० गज लामो उक्त ट्रेलामा पाइतालाका डोबहरू एकसाथ छन्, अघिपछि होइन । अर्थात् मान्छे र कुकुर एकसाथ छन् । ती मित्र हुन्, दुश्मन होइनन् । यो मान्छे–कुकुर सहयात्राको दुर्लभ ‘स्न्यापसट’ हो । यो पदचिह्न करिब २६ हजार वर्ष पुरानो हो । यस्ता आदिम कुकुरका थुप्रै पुरातात्त्विक प्रमाण छन् । तर, १५ हजार वर्षयता भने ब्वाँसो पूर्ण रूपमै कुकुरमा कायाकल्प भएको अकाट्य प्रमाणहरू भेटिन्छन् ।

सर्भाइभल फर द फ्रेन्डिएस्ट

उद्विकासलाई हामी ‘सर्भाइभल फर फिटेस्ट’ भनेर बुझ्छौं । तर, उद्विकासमा सधैं बलियो मात्रै टिक्ने र बाँच्ने भन्ने हुँदैन । कहिलेकाहीँ उद्विकासले सहकार्य, सामाजिकता र समानुभूतिजस्ता गुणहरूलाई ‘फेवर’ गर्छ । यस्ता चरित्र र व्यवहार देखाउने प्राणीलाई कुनै निश्चित पर्यावरणमा बाँच्न र वंश विस्तार गर्न सहज हुन्छ । केही विज्ञहरूले यसलाई ‘सर्भाइभल फर द फ्रेन्डलिएस्ट’ भनेका छन् । मान्छे र ब्वाँसोको अन्तरप्रजातीय सहकार्य यसैको नमुना हो ।

किनभने मान्छे र ब्वाँसोजस्ता दुई पृथक् प्रजाति सहकार्यका लागि उपयुक्त जोडा होइनन्, एकअर्काका प्रतिस्पर्धी हुन् । तर दुई प्राणीहरू संघर्ष होइन, मित्रवत् र सामाजिक व्यवहारसँगै नजिकिएका हुन् । यसको पहलकदमी कसले लियो भन्ने प्रस्ट छैन । तर, समूहका सबैभन्दा सामाजिक, अलि नरम र लयालु ब्वाँसोहरू नै मान्छेको सानिध्यता खोज्दै बस्तीछेउ आइपुगे होलान् । मानव शिविर छेउछाउमा जुठेल्नोको रहलपहल खानाले उसलाई तान्यो होला ।

Humans and dogs: friends for 30,000 years

मान्छेमध्ये पनि ब्वाँसोप्रति सहिष्णु समूहले उसलाई आक्रमण गरिहालेन । यो ‘क्याजुअल डेटिङ’ बिस्तारै पारस्परिक उपयोगिताको सम्बन्धमा अघि बढ्यो । दुवै एकअर्काका लागि उपयोगी बने । यही क्रमसँगै हजारौं वर्षमा दुवैले एकअर्कालाई ‘सेलेक्टिभ ब्रिडिङ’ गर्दै यो स्वरूपमा ल्याइपुर्‍याए । यस क्रममा मान्छेले ब्वाँसोको स्वरूप र व्यवहारमा नाटकीय परिवर्तन गरिदियो । आफ्ना पूर्वजभन्दा ऊ मान्छेप्रति सहिष्णु र मित्रवत् बन्यो ।

योसँगै ब्वाँसोको शरीर र व्यवहारमा परिवर्तन आयो । उसको शरीरको भुत्लाको रङमा विविधता छायो । कान लामो र लुलो भयो । पुच्छर बाटुलो भयो, डोलाउन थाल्यो । केही पुस्ताभित्रै आफ्ना आक्रामक पुर्खाभन्दा ऊ मान्छेप्रति बफादार, घनिष्ठ र मायालु बन्न थाल्यो । घरेलुकरणका क्रममा उसको आकार र व्यवहार मात्रै परिवर्तन भएन, मनोविज्ञान पनि बदलियो । कुकुरले मान्छेको मुहारको भाव बुझ्न सक्ने भयो, आँखाको इसारा पनि पढ्न सक्ने भयो, साथीको ढुकढुकी बुझेर व्यवहार गर्न सक्ने भयो । र, ऊ मान्छेको साथ छोड्नै नसक्ने भयो ।

यस क्रममा कुकुर मात्रै बदलिएन, हामी पनि बदलियौं । उसले पनि आफूअनुकूल हुने गरी हाम्रो शरीर र व्यवहारलाई ‘कस्टमाइज’ गरिदियो । फिरन्ते सिकारीको सानो झुन्डमा हिँड्ने मान्छेलाई उसले सिकार कर्ममा दह्रो साथ दियो । यो कति महत्त्वपूर्ण थियो भन्ने बुझ्न एउटा उदाहरण हेरौं– अहिले पनि अल्पाइन क्षेत्रका फिरन्ते सिकारी समूहमध्ये साथमा कुकुर नहुनेको तुलनामा कुकुर हुने समूहको सिकार सफलता दर ५६ प्रतिशतले बढी देखिन्छ । त्यो युगमा कुनै पनि मानव समूह बाँच्नका लागि यो असाध्यै महत्त्वपूर्ण पक्ष थियो । त्यसैले चाहेर वा नचाहेरै पनि कुकुरप्रति सहिष्णु हुनुको विकल्प थिएन ।

यसले मान्छेको स्वभाव, व्यवहार र मनोविज्ञान परिवर्तन गरिदियो । उसमा सहानुभूति/समानुभूति झन् सघन हुन थाल्यो । सहकार्य र सामूहिकताका लागि अग्रसरता बढ्यो । उसले मित्रतामा विश्वास गर्न थाल्यो । यो गुण भएको मान्छेले मात्रै कुकुरसँग सम्बन्ध राख्न सक्यो । जसले कुकरसँगको सम्बन्ध बलियो राख्यो, उसको जीवन सहज भयो । यसरी सहयात्राको यो लामो दौरानमा दुवैले एकअर्काको तन र मनलाई आ–आफ्नो अनुकूलमा परिवर्तन गरिदिए ।

अझ भनौं, मान्छेले कुकुरलाई र कुकुरले मान्छेलाई एकसाथ ‘डोमेस्टिकेट’ गरिदिए । मान्छेले निर्माण गरेको सभ्यताको जगमा यो घटनाले इँटा थपिदियो । हिउँले ढाकेको त्यो दुनियाँमा खाना सधैं सहज थिएन । यस्तै आपत्मा मान्छेले कुकुरलाई नै आफ्नो आहारा बनायो । आफ्नो नजिक पशुलाई आश्रय दिने हो भने आपत्कालमा छाक टार्न सजिलो हुनेरहेछ भन्ने उसले बुझ्यो । हुन सक्छ, पशुपालन र कृषि कर्म गर्ने मानव पुर्खाको सोचको भ्रूण यही थियो । भन्नै पर्दैन कृषि क्रान्ति मानव सभ्यताको जग थियो ।

मिथकले पनि भन्छ– रोम सहर रोमुलस र रेमस नामका दुई जुम्ल्याहाले बसाए । दुवैको हत्या गर्ने हेतुले शैशवकालमा तिनलाई टाइबर नदीमा फालिएको थियो । तर, संयोगले उनीहरू दुवै बाँचे । तिनलाई आफ्नो स्तनपान गराएर बचाएकी थिइन्– एक स्त्री ब्वाँसोले । तर, रोमुलस र रेमसलाई स्तनपान गराएका जे–जति प्रतिमा, आकृति र मूर्तिहरू छन्, तिनमा कुँदिएका स्त्री ब्वाँसो निःसन्देह कुकुर नै हो ।

छोटो थुतुनो, लयालु कान र सानो टाउकोले यसकै पुष्टि गर्छ । मिथक इतिहासको धूवाँ हो । यो धूवाँ सभ्यता र संस्कृतिको जगमा उभिएको साथको इतिहासबाट उठेको हो । यो लामो सहयात्राका क्रममा कुकुर हाम्रो बस्तीको खबरदारी बन्यो, सिकारको साथी बन्यो, भेडी गोठको गोठालो बन्यो, बालबालिकाको अभिभावक बन्यो, घरको पहरेदार बन्यो ।

संसारमा कुनै त्यस्तो मानव समुदाय रहेन, जसले कुकुरको यो साथ नपाएको होस् । करिब २० हजार वर्षअगाडि वेरिङ स्ट्रेट भनिने प्राकृतिक साँघु पार गरेर मान्छेको एक बगाल अमेरिका लाग्यो र हिमयुग सकियो । प्राकृतिक साँघु पानीमा पुरियो । २० हजार वर्षपछि यी दुई समूहका सन्तानहरूको एकआपसमा भेट भयो । यसबखत यी दुवै समूहसँग साझा घरेलु जनावर कुकुर मात्रै थियो । यो लोकभरि कुकुरले साथ नदिएको स्थान र मानव जीवन रहेन ।

साथ परलोकसम्म

महाभारत युद्ध सकिएपछि युधिष्ठिर आफ्ना भाइ र पत्नीसहित स्वर्ग हिँडे । बाटोमा उनीहरूलाई एउटा कुकुरले पछ्यायो । युधिष्ठिर र कुकुरबाहेक बाँकी बाटैमा अस्ताए । इन्द्र रथ लिएर युधिष्ठिरलाइ स्वागत गर्न स्वर्गको द्वारमा आए । युधिष्ठिरले कुकुरलाई पनि साथै लैजान खोजे तर इन्द्रले मानेनन् । तर, युधिष्ठिरले कुनै पनि हालतमा कुकुरलाई नछाड्ने दोहोर्‍याए । कुकुरको भेषमा धर्मराज थिए । उनी युधिष्ठिरको धर्मको परीक्षा लिन आएका थिए । रहँदा–बस्दा कुकुरसँग मान्छेको साथ यति प्रगाढ भयो कि उसले यो लोकमा मात्रै होइन, परलोकमा पनि कुकुरको साथ खोज्यो ।

जोर्डन उपत्यकामा फेला परेको करिब १२ हजार वर्ष पुरानो चिहानमा मान्छेसँगै एक छाउरोको अस्थिपञ्जर फेला परेको छ । यो कालखण्डमा उत्तरी युरोपदेखि एसिया, अमेरिकाका थुप्रै मानव चिहानहरूमा कुकुरको अस्थिपञ्जर फेला परेका छन् । इजिप्टका पिरामिडहरूमा मृतकको साथमा कुकुर राखिएको छ ।

Humans and dogs: friends for 30,000 years

मान्छेका चिहानहरूमा अन्य जनावरको पनि अवशेष फेला नपरेका होइनन् । तर, कुकुरबाहेकका जनावरको कुनै खास अंग मात्रै प्रतीकात्मक र सांकेतिक रूपमा मात्रै गाडिएका छन् । मृत्यु संस्कारमा कुकुरको साथ तथा प्राग्ऐतिहासिक चिहानहरूमा कुकुरको सग्लो शरीरको व्यापक उपस्थिति संयोग मात्रै होइन । निःसन्देह रूपमा मान्छेले परलोकमा समेत परम मित्रको साथ चाहेको हो । लामो कालखण्डमा मान्छे सामाजिक, सांस्कृतिक र धार्मिक प्राणीमा बदलियो । अझ भनौं, ऊ ‘होमो स्यापियन्स‘ बाट ‘होमो रिलिजियस’ बन्न पुग्यो ।

यसको सपाट जवाफ र एउटै कारण नहोला । तर, मृत्युजस्तो अकाट्य सत्यबाट बिस्मित मान्छेको मृत्युचिन्तन धेरै कारणमध्ये एक हुन सक्छ । यो चिन्तनको कारण र केन्द्रमा समेत मान्छे र कुकुरको साथ देखिन्छ । धार्मिक अनुष्ठानदेखि कर्मकाण्डसम्ममा कुकुर अभिन्न अंग बन्यो । खासगरी हरेकजसो संस्कृतिमा ऊ परलोकमा पनि मान्छेको साथै छ । कतै यो लोक र परलोकबीचको सेतु बनेको छ । ग्रीसको हेलेन संस्कृतिमा हेइडिज पाताललोकका देव हुन् ।

उनका द्वारपालमा दुइटा कुकुर छन् । हर्कुलसले उसैलाई कजाएको कथा छ । अमेरिकी आदिवासीहरूमा कुकुरलाई मानवको मित्र र आत्माको रक्षक मानिन्छ । उता मिश्रकी देवी अनुबिसको शिर नै कुकुरको छ । उनी पाताललोककी संरक्षक हुन् । मृत शरीरलाई ‘ममी’ बनाएर लामो समयसम्म सग्लै राख्ने विद्याकी पनि देवी हुन् उनी ।

ग्रीस मात्रै होइन, युरेसियाको भूगोलमा पनि पाताललोकको द्वारपाल कुकुर भएका मिथकहरू छन् । चीनदेखि बेलायतसम्मको भूगोलका कांस्ययुगका थुप्रै चिहानहरूमा कुकुरलाई घरको पश्चिम द्वारछेउ गाडिएको परम्परा भेटिएका छन् । पश्चिम घाम अस्ताउने दिशा हो । यसलाई परलोकको द्वार मानिन्छ । यहाँ पनि कुकुर जीवन र मृत्युको दोसाँधको द्वारपाल भएको छ । भारोपेली संस्कृतिमा पनि यो विश्वासको व्यापकता छ । ऋग्वेदअनुसार, यमराजका दुई प्रमुख दूत श्याम र सबल कुकुर हुन् । उनीहरू मान्छेको आत्मालाई परलोकसम्म लैजाने काम गर्छन् । यमपञ्चकको तेस्रो दिन उसैलाई सम्झेर कुकुरको पूजा गरिन्छ । साथै आफ्नो परम मित्रप्रति यो कृतज्ञता प्रकट पनि हो ।

फारसीहरूको ग्रन्थ ‘अवेस्ता’ ले पनि कुकुरलाई भगवान् यमसँग जोड्छ । अवेस्तानी संस्कृतिले कुकुरलाई मान्छेपछिको दोस्रो विवेकशील प्राणी ठान्छ । अवेस्तानी विधिअनुसार गरिने मृत्यु संस्कारमा मान्छे अनुपस्थित भए उसको स्थानमा कुकुर राख्न सकिन्छ ।

अजम्मरी साथ

आकाशमा घाम र जुनपछिको अर्को चम्किलो खगोलीय पिण्ड हो– साइरस अर्थात् ब्याध तारा । यसलाई डगस्टार पनि भनिन्छ । ग्रीक मिथकअनुसार, साइरस आफ्नो मालिक ओरियनप्रति बफादार थियो । एक दिन बिच्छीले टोकेर ओरियनको देहान्त भयो । उसलाई थपक्क टिपेर आकाशमा टाँसियो । ऊ आकाशमा ओरियन (कालपुरुष) नक्षत्र बन्यो । साइरसले मालिकलाई पछ्याउन छाडेन । यो देखेर सिकारकी देवी आर्तेमिसलाई साइरसप्रति दया लाग्यो (उनकै प्रतिमाहरूमा उनी सधैं कुकुर देखिन्छिन्) । उनैले साइरसलाई पनि आकाशमा उसको मालिकसँगै राखिदिइन् । ऊ तारा भएर चम्किरह्यो ।

यी तारा र नक्षत्रझैं यो अजम्मरी साथ हजारौं वर्षदेखि चम्किरहेकै छ ।

(कान्तिपुरबाट)