सिरहा, २४ फागुन। प्रतिनिधीसभा निर्वाचनमा सिराहा निर्वाचन क्षेत्र नम्वर ४ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तपेश्वर यादव निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार अजयशंकर नायकसँग २८  हजार ९३८ मतसहित फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। 

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्वर ४ का अनुसार यादव ३६ हजार २१० मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका अजयशंकर नायकले ७ हजार ९७२ मत ल्याएका छन्। नरहा गाउँपालिका ५ नरहा घर भएका ३३ वर्षीय इञ्जिनियर यादव रास्वपाका मधेश प्रदेश सभापतिसमेत हुन्। 

२०७९ को निर्वाचनमा जसपा नेपालबाट २४ हजार १०२ मतसहित निर्वाचित भएर वन तथा भू संरक्षण मन्त्री समेत भई निर्वाचनको मुखमा जनमत पार्टी प्रवेश गरेका वीरेन्द्रप्रसाद महतो ५ हजार ४१ मतसहित तेस्रो तथा नेकपा एमालेका धर्मनाथ प्रसाद साह ४ हजार ७२७ मतसहित चौथो स्थनामा खुम्चिएका छन्। उनी उम्मेदवारी मनोनयनकै दिन नेकपाले टिकट नदिएपछि एमालेबाट उम्मेदवार बनेका थिए।

उक्त क्षेत्रमा एक्ली महिला उम्मेदवार कांग्रेसकी चन्द्रकलाकुमारी यादव ४ हजार ६१ मत ल्याएकी छन् भने २०७९ को निर्वाचनमा जसपाका नेता राजकिशोर यादव सिराहा २ नम्वरबाट निर्वाचित भएका थिए। यो पटक आफ्नै गृहक्षेत्र ४ नम्वर फर्किएका  यादवले ३ हजार ४८४ मत ल्याएर छैटौँ स्थानमा चित्त बुझाउनु परेको छ। 

जिल्लाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिकाको १ देखि १२,  नरहा गाउँपालिकाको ३, ४, ५, मिर्चैया नगपालिका १ देखि १२, विष्णपुर गाउँपालिका २, ३ ४, कर्जन्हा नगरपालिका १ देखि ११ नं। वडा गरी ४१ वडा रहेको उक्त क्षेत्रमा ५६ हजार ७१७ पुरुष, ४९ हजार ९६९महिला गरी १ लाख ६ हजार ६८६  मतदातामध्ये यो पटक ७० हजार ७७ जनाले मतदान गरेका थिए।

विभिन्न साना ठूला दलका १५ र  स्वतन्त्र २२ जना गरी जम्मा ३६ जना चुनावी प्रतिस्पर्धामा थिए।