राजकरण महतो

बर्दिवास, २४ फागुन। २०६३-०६४ को मधेस जनबिद्रोहबाट राष्ट्रिय राजनितिमा उदाएका मधेसवादी राजनीतिक दलहरू जेनजी बिद्रोहको आलोकमा भएको निर्वाचनबाटै बढारिएका छन्। तर, यसलाई मधेसवादी दलहरुले ‘चुनाव हारेको मात्रै हो विश्वास अझै जिवित’रहेको दावी गरेका छन्। 

मधेस प्रदेशको ३२ सीट मध्य एउटा सीट पनि नजितेर मधेस केन्द्रीत दलले चुनावी मैदानबाट आउट भएका छन्। ‘अमकी बार, बालेन सरकार’को नाराले ३० बढी सीटमा राष्ट्रिय स्वतन्त्र पार्टी कब्जा जमाइसकेको छ। उपेन्द्र यादव नेतृत्वको मधेसवादी दल जनता समाजवादीसहितका अन्य दलहरुको मत परिणाम हेर्दा राष्ट्रिय पार्टी पनि नबन्ने खबरहरु निर्वाचन आयोगबाट सार्वजनिक भइरहेका छन्।

मधेसवादी दलका शीर्ष नेताहरू समेत मधेस आन्दोलनको ‘इपिसेन्टर’ बाटै यसपटक मतदाताको विश्वास जित्न असफल भएका छन्। मधेसका मसिहाहरुको दम्भमा मधेसवासीहरुले मौन बिद्रोह गरेर ‘ब्यालेट क्रान्ति’ गरेकका हुन्। जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पटक–पटक सरकारमा मन्त्री बन्दै आएका शरतसिंह भण्डारी, राजकिशोर यादव, तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत प्रमुख नेताहरू आफ्नै राजनीतिक गृहजिल्लामा नराम्ररी हार व्यहोरेका छन् आफ्नै छोरा,भतिजा, नाती पुस्तासंग। पार्टीका शीर्षस्थ नेताहरु आफ्नै जन्मथलोमा हारको खबरबाट मर्माहत भएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको परिणाम केवल निर्वाचन परिणाम मात्र नभई मधेसको राजनीतिक मनोविज्ञानमा आएको गहिरो परिवर्तनको संकेत हो। भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ र युवापुस्ताको बढ्दो असन्तुष्टि चुनावी परिणाममा स्पष्ट देखिएको विश्लेषण गरिएको छ।

इन्जिनियर मनोज कुमार महतोका अनुसार मधेसवादी दलहरु मधेसी जनता (भाइभरदार, काका-काकी, आमा-बुवा) आफै मान्छे सम्झिएर २०६४ साल यता भोट लिइरहे। मधेसी जनताले भन्न चाहेको कुरो पनि मधेसी दलहरुले सुन्न चाएनन्। उनले भने, ‘मधेसी जनताले मन मनै पीडा दवाएर बसेका थिए। ‘मेरो पनि अस्तृत्व छ, म पनि मान्छे हो’ भनेर अहिले मधेसले बालेनलाई भोट दिएर मौन विद्रोह गरेका छन्। ’

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै मधेसको राजनीतिक भूमिबाट लगभग मधेसवादी दलहरु लोप हुने अवस्थामा पुगेका विश्लेषणहरु भइरहेका छन्। तर, मधेसवादी दलका नेताहरुले चुनाव मात्रै हारेको हो, पार्टी, संगठन, एजेन्डा अझै जिवित रहेको दावी गरेका छन्। मधेसका मामिलाका विश्लेषक डा. बिजय कुमार मिश्रका अनुसार मधेस केन्द्रित दलहरू दशकौंसम्म प्रभावशाली रहँदै आएको क्षेत्र यसपटक पूर्णतः नयाँ राजनीतिक शक्तिको हातमा पुगेको छ। स्वास्र्थ मिल्दा जुट्ने, सत्ताको लोभमा फुट्ने चरित्र बनाएका मधेसवादी दलहरुलाई बालेन सरकारको नाराले सत्ता यात्रामा अहिलेलाई पुर्णविराम लगाएको छ।

निर्वाचन परिणामअनुसार मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय हासिलको इतिहास रचिरहदा यससँगै मधेसको राजनीतिक नक्सामा ठूलो परिवर्तन देखिएको छ। समानुपातिक मततर्फ पनि रास्वपाकै अग्रता देखिएको प्रारम्भिक परिणामहरूले संकेत गरेका छन्। दुई दशकको राजनीतिक इतिहास बनाएको मधेस केन्द्रीत दलहरुको आधारभूमिमा रास्वपाले टिनिनिनि...घण्टी बजाएर सान्दार जित हात परेको हो।

राजनितिक विश्लेषक फ्रोफेसर सन्त सत्यनारायण आलोका अनुसार अनुसार “अमकी बार, बालेन सरकार” भन्ने नाराले विशेषगरी युवा मतदातामा व्यापक प्रभाव पारेको देखिन्छ। परम्परागत मधेसवादी दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वको खोजीले मतदातालाई रास्वपातर्फ आकर्षित गरेको उनीहरूको भनाइ छ।

मधेस आन्दोलनपछि पहिलोपटक मधेस केन्द्रित दलहरू राजनीतिक रूपमा यति कमजोर देखिएको टिप्पणी पनि गरिएको छ। दशकभन्दा बढी समय मधेसको राजनीतिमा निर्णायक भूमिका खेलेका दलहरू एकैपटक चुनावी मैदानमा पराजित हुनु मधेसको राजनीतिक इतिहासमै ठूलो मोडका रूपमा हेरिएको छ।

अब मधेसमा रास्वपाको भारी बहुमतसँगै संघीय राजनीति र प्रदेश स्तरको शक्ति सन्तुलनमा समेत नयाँ समीकरण बन्ने संकेत देखिएको छ। मधेसका मामिलाका विश्लेषक डा. मिश्रले  मधेसवादी दलहरुले मधेस जनतासंग भोट लिएर सत्ता र शक्तिमा मात्रै पुग्ने काम गरेकाले त्यसलाइै यसपाली ब्रेक गरेका हुन्।

‘मधेसको जनताको आशा र अपेक्षामाथि मधेसवादी दलहरुले पुरा गर्न सकेनन्,’ उनले भने, ‘ मधेसमा सरुवा, बढुवा, विकासका काम सबैमा घुस, कमिसन लिएर मधेस आश्रित दलहरुले काम गरे। त्यसबाट  मधेसी जनताहरुमा भित्रै भित्रै उकुसमुकुस थियो। विकल्प खोज्दै थिए। त्यो बेला मधेसका बेटा बालेन काठमाडौं महानगरपालिकाको मेयर भएर विन खाएर काम गरिरहेका थिए। राम्रो सडक बनाए पनि कति घुसा नेताले खाएका होलान भन्ने मधेसमा भाष्य निर्माण भयो। ’ उता उपेन्द्र यादवहरु संविधान संशोधनका लागि मधेशी जनताबाट लागि भोट लिएर जान्थे, सत्तामा पुगेर चुप लागेर बस्थें। उनले भने, ‘यही मौका हो भनेर मधेसी जनताले मधेसका बेटा बालेनलाई प्रधानमन्त्री बनाएर मधेसी जनताले संविधानमा आफ्ना माग पुरा गराउन मधेसबाट सबै मधेसी जनताले घण्टीलाई भोट दिए। मधेसी जनताले मधेसवादी दलको सत्ता यात्राको बन्द गरेकोमा धन्यवाद दिनुपर्छ। मधेसी जनताले भोट मात्रै दिएर मन नै बालेनको पक्षमा औइराइदिएका छन्।’

प्रतिनिधिसभा सदस्यको  निर्वाचनमा मधेसमा देखिएको नतिजा केवल चुनावी प्रतिस्पर्धाको परिणाम मात्र नभई पुराना दलप्रति बढ्दो असन्तुष्टिको प्रतिफल भएको राजनीतिक विश्लेषक प्रोफेसर सन्त आलोकले बताएका छन्। उनका अनुसार चुनाव घोषणा भएपछि समेत प्रमुख राजनीतिक दलहरूले समयमै स्पष्ट दृष्टिकोण र घोषणापत्र प्रस्तुत गर्न सकेनन्, जसले मतदातामा निराशा बढाएको थियो।

प्रोफेसर आलोकका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) देशका मुद्दाभन्दा बढी आन्तरिक राजनीतिक विवाद र दलभित्रको शक्ति संघर्षमै अल्झिएको देखियो। यता मधेस केन्द्रित दलहरू पनि स्पष्ट कार्यक्रम र वैकल्पिक एजेन्डा सहित मधेसमा ल्याउन नसक्दा मतदाताको विश्वास गुमाउँदै गए।

उनले भने, ‘मधेसवादी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी चुनावी तयारीभन्दा बढी एकीकरणको चर्चामै केन्द्रित भए। ’ चुनाव घोषणा भइसकेपछि पनि दलहरू स्पष्ट योजना र घोषणापत्र ल्याउन सकेनन्, अर्कोतिर मधेसका छोरा बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने घोषणासहित मधेस झर्यो। यसले चुनावी नतिजामा सुनामी नै ल्याएको उनले सुनाए।

प्रोफेसर आलोकका अनुसार चुनावी अभियानका क्रममा नेताहरूले जेनजी आन्दोलनको पृष्ठभूमिमा ‘देश बचाउने कि देश जलाउनेबीचको संघर्ष’ जस्ता नारा र भाषणमा बढी जोड दिए, तर मधेसी जनताको वास्तविक मुद्दा र विकासका एजेन्डा प्रस्तुत गर्न सकेनन्।

यही अवस्थाबीच राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस आश्रितसहित अन्य दलका कमजोरी र विवादलाई चुनावी मुद्दाका रूपमा प्रस्तुत गर्दै मतदातामा प्रभाव जमाएको उनको विश्लेषण छ। उनका अनुसार मधेसी मतदाताले यसपटक परम्परागत नेतृत्वभन्दा नयाँ विकल्प रोज्ने मनोविज्ञान देखाए। ‘मधेसी जनताले उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत, शरतसिंह भण्डारी, राजेन्द्र महतोभन्दा ‘मधेसका बेटा’ भनेर चिनिने बालेन्द्र शाहको नेतृत्वलाई राम्रो विकल्पका रूपमा हेरेर मत दिएका छन्,’ उनले भने।

प्रोफेसर आलोकका अनुसार मधेसमा आएको यो परिणामले आगामी दिनमा मधेसको राजनीति र राष्ट्रिय शक्ति सन्तुलनमा समेत ठूलो परिवर्तन ल्याउन सक्ने संकेत गरेको छ। काठमाडौंमा बालेनले गरेको कामबाट प्रभावित भएर मधेसी जनताले महोत्तरीका धर्तिपूत्रलाई देशको प्रधानमन्त्री बनाउन मत दिएको इन्जिनियर महतोले सुनाए।

बालेनका मामा धनुषा निवासी कारिराम साहले देशको उन्नती प्रगति भान्जा बालेनको काँधमा आएको सुनाए। उनले भने, ‘जनताले चाहेको कुरा अब पुरा होस्।’ यता जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्रा झाले मधेसवादी दलहरु चुनाव हारेको हो तर, रास्वपापछिको मधेसको ३२ सीट मध्य २० सीटको चुनावी प्रतिस्पर्धामा आफ्नै पार्टीको मत  रहेको सुनाए।

‘हामीले चुनाव हारेको हो तर, मधेसवादी दलले उठाएको एजेन्डा अझै जीवित हो,’ उनले भने, ‘मधेस जनताले रास्वपालाई मधेसको एजेन्डा संविधान संसोधन गराएर पुरा गर्न मत दिएको हो। अब हाम्रो काँधमा त्यो कामका लागि बन्ने सरकारलाई खबरदारी गर्ने जिम्मेवारी मधेसव् जनताले दिएको छ। त्यो पुरा गर्छौं।’ मधेसवादी दलहरु मात्रै होइन् पुराना दल एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीहरुलाई जनताले चुनाव हराएको उनले बताए।

लोकतन्त्रमा जित हार हुन्छ, चुनाव हार्दैमा पार्टी, नेता र एजेन्डा नसकिएको जसपा नेता डा. झाको भनाई छ। ‘मधेसी दलहरुले नयाँ दललाई मत दिएको मात्रै हो, माया त हामीलाई नै गरेको चुनावबाट पुष्टि भएको छ। मधेसको धेरै सीटमा पुराना दलहरु भन्दा अगाडि हामी नै छौं,’ उनले भने, ‘बालेनलाई रास्वपाले प्रधानमन्त्रीमा बनाउने जुन निर्णय गरेको चुनावमा गयो त्यो फयाक्टले मधेसमा रास्वपाले चुनावी नतिजा हात परेको छ।’