लहान, २४ फागुन। प्रतिनिधीसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता फाराकिलो मतान्तरले विजयी भएका छन्। गुप्ता नेपाली काँग्रेसका उम्मेदवार रामसुन्दर चौधरीभन्दा साडे ३१ हजारभन्दा बढी मतात्तरले विजयी भएका हुन्।
रास्वपाका उम्मेदवार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रामाशंकर यादवले ७ हजार ८८४ र नेपाली कम्यूनिष्ट पार्टी नेकपाका उम्मेदवार रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गरेको क्षेत्र नम्वर १ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल १ लाख ११ हजार ९४९ मतदाता रहेको यसक्षेत्रमा महिला ३८ हजार १५२ र पुरुष ३२ हजार ६१३ गरी जम्मा ७० हजार ७६५ मतदान भएको थियो।
सिरहा निर्वाचन क्षेत्र नम्वर १ अन्तगरत लहान नरपालिकाका स्थायी वसिन्दा २८ वर्षिय गुप्ताले स्नातक सम्मको अध्ययन गरेका छन्। गुप्ताले विद्यालय शिक्षा पनि काठमाडौंमै गरेका हुन्। गाउँबाट बैदेशिक रोजगारीमा जाने क्रममा ठगीमा परेका, विपन्न विद्यार्थीको शिक्षा, गाउँबाट आएका विरामीहरुलाई विभिन्न खालका सहयोग गर्ने जस्ता सामाजिक काममा सक्रिय रहेका गुप्ता विश्वव्यापी कोभिड–१९ महामारीका बेला राजधानीमा मजदूरी गरिरहेका र भोकै परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाउँदा चर्चामा आएका थिए।
उनी सामाजिक कार्य र जेन्जी आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेकै कारण जेन्जी समूहबाट युवा तथा खेलकुद मन्त्री बनेका थिए। सानो समय मन्त्रि बने पनि जिल्लामा राम्रै छाप छोड्न सफल भएका थिए। लामो समय देखि अलपत्र अवस्थामा रहेको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको जमिन नाममा ल्याउने कार्य, खेल मैदान स्तरोन्तीमा सक्रियता र १४ वर्ष देखि अवलपत्र सिरहा धनुषा जोड्ने कमला पुल पुनः निर्माणमा सक्रियताले वाहवाही भइरहेकै थियो। त्यही बेला मन्त्री पद त्यागेर चुनावमा आएका उनी देशभरीको लहरसँगै भारी मतले विजयी भएका हुन्।





















