- सविना देवकोटा
पत्याउनै गाह्रो भइरहेको थियो– यो संसारमा यस्तो एउटा गाउँ छ, जहाँ मानिस शौच गर्न जाँदा मर्छन्! शौचमा जाँदा जिउँदो फर्किने हो कि होइन भन्ने संशयमा बाँच्छन्!
संसारमा मान्छेको मृत्यु हुने कति वटा कारण छन्?
तीमध्ये कति कारण सामान्य हुन्छन् र कति असामान्य?
कहिलेकाहीं मृत्यु यस्तो सामान्य तर अपत्यारिलो किसिमले हुने रहेछ, मृत्युभन्दा पनि मृत्युको कारणसँग झोक चल्दो रहेछ। गएको पुस १२ गते जब म साथी प्रिया कुमारीसँग भारतको उत्तरी बिहारस्थित सहरसा जिल्लाको सहोरवा गाउँ पुगें, मलाई त्यस्तै झोक चल्यो।
पत्याउनै गाह्रो भइरहेको थियो– यो संसारमा यस्तो एउटा गाउँ छ, जहाँ मानिस शौच गर्न जाँदा मर्छन्! शौचमा जाँदा जिउँदो फर्किने हो कि होइन भन्ने संशयमा बाँच्छन्!
कुनै जंगली जनावरले गर्दा होइन, कुनै आकस्मिक बाढीपहिरोले पनि होइन। वर्षको ६-७ महीना जलमग्न रहने उक्त गाउँमा घरबाट निस्किंदा डुंगा प्रयोग अनिवार्य हुन्छ। यसैले ‘एक घर, एक डुंगा’ को पर्याय हो– सहोरवा गाउँ। डुंगा लिएर शौच गर्न जाँदा मानिसहरू डुंगा पल्टिएर डुबेर मर्ने रहेछन्।
दुःखको कुरा– मृत्युको यस्तो अपत्यारिलो कारणलाई त्यहाँ अनौठो मान्न छाडिइसकेको रहेछ।

अर्जुन सदा (५९)ले दुई वर्षअघि ४५ वर्षीय छोरो प्रदीपलाई यसरी नै गुमाएका रहेछन्। हामी पत्रकार भन्ने थाहा पाएपछि उनले सुनाए, “मैले सम्बन्धित निकायमा क्षतिपूर्तिका लागि निवेदन त दिएको छु। चार लाख रुपैयाँ क्षतिपूर्ति दिन्छु भनेका छन्, तर अझैसम्म पाएको छैन।”
उनले दुई वर्षअघिको त्यो दिन सम्झिए, “रक्षाबन्धनको दिन थियो। छोरो पन्जाबबाट आएको दुई-तीन दिन मात्र भएको थियो। बूढिया र बुहारी दुवै आआफ्ना माइत गएका थिए। ऊ एकाबिहानै शौच गर्न नाउ लिएर खेतमा गएको रहेछ। वजन बढी भएर हो वा के भएर हो, नाउको एउटा छेउमा बसेर शौच गर्न लाग्दा नाउ नै उत्तानो परेछ। त्यसपछि त...”
उनी एकछिन बोल्न सकेनन्। न हामीले नै केही सोध्न सक्यौं।
केही समयको मौनता चिर्दै उनले भने, “आएको एक महीनामा पन्जाब फर्किनेवाला थियो ऊ।”

छेउमै उभिएकी रानी देवी (६०) आफ्नो कथा सुनाउन हतार गरिरहे झैं देखिन्थिन्। एक वर्षअघि उनको घरमा पनि यस्तै घटना भएको रहेछ।
शौच गर्दा कसैले नदेखून् भनेर रानीकी बुहारी झिसमिसेमै नाउ लिएर गएकी थिइन्। पाँच वर्षकी छोरी लिएर गएकी उनी नाउ पल्टिएर बितिन्। छोरीलाई भने स्थानीयले बल्लतल्ल बचाएछन्।
“हामी त हरेक पटक शौच गर्न जाँदा जिउँदै फर्कने हौं कि होइनौं भन्ने डर हुन्छ,” रानीले पुर्पुरोमा हात लगिन् र चार नातिनातिनीलाई अँगालो हालिन्।
00
महीनौं २० देखि २५ फिटसम्म जलमग्न रहने उक्त गाउँ हामी जाँदा भने पहिलो पटक सुक्खा भएको रहेछ। भर्खरै दरभंगाको भभोल गाउँस्थित कोशीको पश्चिमी तटबन्ध भत्किएर नदीले बाटो कटान गरेकाले पानी पहिलो पटक सुकेको थियो।
यो गाउँ दशकौंअघि पनि वर्षको दुई-तीन महीना (मे-जुलाई) जलमग्न नै हुने गर्थ्यो रे। गाउँका सबैभन्दा पाका बासिन्दा सगुनी सदा (७०)ले हामीलाई बुझाउन थाले, “हामी त बाढीसँगै हुर्कन सिकेको हो।”

उनले थपे, “वास्तवमा बाढीले फाइदा पनि गर्छ, क्षति मात्र होइन नि!” बाढी भन्ने बित्तिकै मानिसहरूले विपद् र सास्तीका रूपमा चित्रण गर्नु गलत हो भनी बुझाउन खोजिरहेका थिए सगुनी।
“हामी त यसरी जलमग्न भएकै कारण विशेष किसिमको दसरीया धान बरोबर लगाउँथ्यौं। यस्तो धान कि दुई फिट पानी टिलपिल हुँदा पनि लहलह फल्ने, साह्रै मीठो हुन्थ्यो,” उनले शिक्षकले झैं हामीलाई बुझाए। सँगै चिन्ता पनि पोखे, “अब त त्यो रैथाने धान लोप भयो। जलकुम्भीले खाइदियो।”
विगतमा वर्षको दुई-तीन महीना मात्र जलमग्न हुने उक्त गाउँमा एक दशकयता वर्षकै ६-७ महीना डुबान हुने अवस्था कसरी आयो त?
भएको के रहेछ भने, नौ वर्षअघि कमला नदीको पूर्वी तटबन्धलाई कोशी नदीको पश्चिमी तटबन्धसँग स्वीश गेट बनाएर जोडिदिएपछि पानीको मात्रा र जलमग्न हुने अवधिमा ठूलो परिवर्तन आएको रहेछ।
वर्षको आधा समय जलमग्न हुन थालेपछि पुर्ख्यौली धान नै लोप भएको रहेछ। वर्षमा दुई-तीन थरी बाली उत्पादन हुने गरेकामा वर्षमा एक बाली मकै मात्र हुन थालेछ।
पहिलो पटक अप्रत्याशित सुक्खा भोगेको गाउँमा डुंगाहरू खेतमा थन्किएका देखिन्थे। अधिकांश गाउँलेले खेतमा मकै लगाएका थिए। “बाली लाग्ने वेलासम्म त नदीको पानी आइपुग्छ होला, मकै के गोड्नु र!” मकैका साना बिरुवा देखाउँदै पन्नालाल सदाले अनुहार खुम्च्याए, “पानी जुनसुकै वेला फर्किन सक्छ।”
कोशीको भत्किएको पश्चिमी तटबन्ध मर्मत भएर नदीले पुरानो बाटो भेट्ने हो भने पन्नालालले भने झैं गाउँ डुबानमा पर्न कत्ति पनि बेर लाग्नेछैन। त्यसैले उनीहरू खुशी हुने कि नहुने अन्योलमा देखिन्थे।
बिहारको दुःख कोशी नदी मात्र होइन, विकासका नाममा ख्यालै नगरी बनाइने यस्ता भौतिक संरचना पनि हुन् भन्ने लाग्यो।
“हामीलाई त खास चाहिएको एउटा गतिलो ट्वाइलेट हो नि,” भान्सामा रोटी पकाइरहेकी चन्द्रकला (१९) आँगनको छेउमा आएर भनिन्।
मैले छेउमै रहेको ठूलो सामुदायिक शौचालय देखाउँदै सोधें, “यो के हो त?”
“बाढीमा यो पनि डुब्छ, कामै छैन,” मेरो प्रश्न भुइँमा खस्न नपाउँदै चिन्नालाल सदाले जवाफ दिए, “त्यही पनि यो एक जना वडा सदस्यले मात्र प्रयोग गर्ने गरी निजी बनाएको छ।”
उनले अलि पर हातले इशारा गरे, “हामीलाई त यही बाँसको ट्वाइलेट छ नि।” उनले देखाएको ठाउँमा जमीनदेखि करीब डेढ मिटरमाथि बाँसको चिर्पट ओछ्याएर छेउमा प्लास्टिकले बेरिएको थियो, जुन शौच गर्दा भुइँमा मल खस्ने गरी बनाइएको थियो।
“हामी महिलालाई कति गाह्रो हुन्छ, भनिसाध्य छैन। लाज छोप्न बिहान घाम उदाउनुअघि नै शौच गर्न जानुपर्छ। कहिले त दिनभर खपेर बस्नुपर्छ,” १९ वर्षीया चन्द्रकला देवीले एकै सासमा भनिन्।
झट्ट हेर्दा पानी र डुबानको मात्रै समस्या जस्तो लागे पनि पानीसँगै कति समस्या जोडिएर आउँदा रहेछन्। गाउँमा न एउटा विद्यालय छ न स्वास्थ्य चौकी।
शौच गर्न जाँदा आमा गुमाएका १० वर्षीय श्रवण दुई घन्टा हिंडेर अर्को गाउँमा रहेको निजी विद्यालय जाँदा रहेछन्। यसका लागि उनी एकाबिहानै उठ्नुपर्छ। “बिहान ४ बजे नै उठ्छु र ५ बजे घरबाट हिंडेर ७ बजे स्कूल पुग्छु। ८ बजे क्लास शुरू हुन्छ,” श्रवणले सुनाए। बाढीले जलमग्न भएपछि पाँच महीना विद्यालय जान नपाउने रहेछन् उनी। यस वर्ष भने पहिलो पटक सुक्खा देखिएकाले बाह्रै महीना स्कूल जान पाउँछु कि भन्ने आशा छ उनलाई।
गाउँमा विद्यालय नभए पनि लेखपढ त गराउनुपर्छ भनेर पन्नालालले विगत पाँच वर्षदेखि निजी पहलमा बालबालिकालाई पढाउँदै आएका छन्। महीनाको जनही १५० रुपैयाँ शुल्क लिन्छन्। उनका अनुसार ४५ जना बालबालिकालाई बिहान दुई घण्टा र बेलुका दुई घण्टा पढाउँछन्, तीमध्ये अधिकांश केटा छन्।
बिहारकै भूपेन्द्रनारायण मण्डल विश्वविद्यालयबाट स्नातक गरेका पन्नालालले जागीर पाइरहेका थिएनन्। अर्कातिर गाउँमै विद्यालय ल्याउनुपर्छ भनेर गाउँलेहरूले पहल गर्दा पनि सम्भव भइरहेको थिएन। त्यो परिस्थितिमा उनले गाउँमै पढाउन थालेका रहेछन्। “हाम्रो जात (दलित)का केटाकेटीले कहाँ राम्रो ठाउँमा पढ्न पाउँछन् र? म त मजदूरी गर्दै पढेको,” उनले दुखेसो पोखे।
पन्नालाललाई गाउँ आफ्नो पालामा झैं अन्धकारमै रहिरहने हो कि भन्ने चिन्ता छ। “हाम्रो वर्तमान त अन्धकार छ नै, आजको युगमा पनि अलिअलि लेखपढ गर्न जानिएन भने भविष्य पनि अन्धकार नै रहन्छ,” लामो सुस्केरा हाल्दै भने।
उनी एक्कासि झोक्किए, “तपाईं आफैं भन्नोस्, दिसा गर्न जाँदा मान्छे मर्ने गाउँ पनि हुन्छ?”
पन्नालालसँग हिजोआज वाट्सएपमा आक्कलझुक्कल कुरा भइरहन्छ। अहिले कोशी नदीको पश्चिमी तटबन्ध मर्मत हुँदै छ रे। बर्खामा टिलपिल हुने गाउँमा हिजोआज बस्ती वरिपरि मात्रै पानी जमेको छ रे। मकै पनि गोडिसकेछन्। पहिलो पटक धान पो लगाएका छन् रे।
“अब दिसा गर्न जाँदा हामीले नाउ लग्नु पर्दैन कि भन्ने लागेको छ,” पन्नालालले भोइस कलमा भने, “तर यो मनसुनको के भर!”
उनको बोली भारी थियो।
(हिमालखवरबाट)