राजविराज, २४ माघ।  सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन्।

वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए। चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो।

विस्फोटको छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका हुन्।

चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ। घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालकलाई भेटिएको ती शंकास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। ‘वनभोज खान गएका बालकले ती रकेट जस्तो देखिने खेलौना भेटाएको र सो खेलौना नै विस्फोट भएको बुझिएको छ,’ उनले भने, ‘बालकहरुको स्वास्थ्य अवस्था समान्य छ।'

(कान्तिपुरबाट)