सिरहा, २१ माघ। नेकपा एमाले सिरहाका एक दर्जन नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन्। नेतृत्वको कार्यशैलिप्रति असन्तुष्टि जनाउँदै प्रदेश सदस्य देखि जिल्ला स्तरका नेताहरुले बुधबार सामूहिक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। 

लामो समयदेखि पार्टीभित्र देखिदैं आएको नेतृत्वको स्वेच्छाचारी व्यवहार, एकल निर्णय प्रकृया र कार्यकर्ताका भावना÷आवाजलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण बाध्यभएर  पार्टी परित्यागको निश्कर्षमा पुग्नु परेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

विज्ञप्तीमा नेतृत्व भनेरमात्र सम्वोधन गरेको भएपनि पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक जो अहिले सिरहा क्षेत्र नम्वर ३ का उम्मेवार पनि हुन्, उनको व्यवहारका कारण पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि पार्टीका सवैखाले सम्वन्धहरु समाप्त गरेको उनीहरुको भनाई रहेको छ। 

विज्ञप्तीमा ‘जनताको नाममा राजनीति गर्ने गरिएतापनि व्यबहारमा सिमित व्यक्तिको स्वार्थ हावी भएको अवस्थामा हामीलाई स्वीकार्य हुन सकेन। हामीले पार्टी संगठन भित्रै रहेर सुधारको प्रयास गरेका थियौं। तर बारम्वार उठाएका विषयहरुलाई नेतृत्वले गम्भिरता पूर्वक नलिइनु, आलोचनालाई दवाउने र इमान्दार कार्यकर्ताहरुलाई पन्छाउने शैली निरन्तर दोहरी रह्यो। यस्तो अवस्थामा मौन बसिराख्नु रहनु राजनीतिक इमान्दारीताको अपमान हुने ठानेका छौं। तसर्थ अब हामी स्पष्टरुपमा यो भन्न चाहन्छौंकी, नेतृत्वको कार्यशैलि र कार्यदिशासँग हाम्रो कुनै सहमिति छैन, यद्धपी आजको यो निर्णय बाध्यता नभई आत्मसम्मान र राजनीतिक सिद्धान्तको पक्षमा लिइएको दृढ निर्णय हो।’ 

चुनावको मुखमा गोलबजार क्षेत्रका प्रभावशालि नेतृत्वहरुले पार्टी परित्याग गर्दा एमालेमा ठूलो झट्का पुगेको छ। परित्याग गर्नेहरु यस क्षेत्रका जनतामा प्रभाव पार्ने व्यक्तित्वहरु रहेको बताइन्छ।

पार्टी परित्याग गर्नेहरुः 

पुष्पलाल पाख्रिन, प्रदेश कमिटी सदस्य 

धाब बहादुर बुढाथोकी, पूर्व जिल्ला सदस्य

 भिमबहादुर थापा, शिक्षक संगठनका प्रदेश सदस्य

धनराज यादव, पूर्व जिल्ला कमिटी सदस्य

तुलसी प्रसाद उपाध्य, पूर्व जिल्ला कमिटी सदस्य

तेज कुमार लामा, पूर्व जिल्ला कमिटी  सदस्य

प्रमोद कुमार लामा, जिल्ला कमिटी सदस्य

राजकरण साह, गोलबजार नगर कमिटीका पूर्व ४ नम्वर वडा कमिटी अध्यक्ष 

रञ्जित कुमार लामा, नगर कमिटि सदस्य

तारा बहादुर लामा, नगर कमिटि सदस्य

किरण स्याङ्वा, नगर कमिटि सदस्य

राजकुमार महतो, नगर कमिटि सदस्य