सर्लाही, २१ माघ। सर्लाहीको जङ्गलमा आज विहान भएको कार दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका १२, बाँके जङ्गलमा भएको कार दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगरपालिका १, का २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको हो।
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्वरको कार बाँके जङ्गलको तेस्रो लच्कामा पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा बनाएको डाइभर्सनमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना हुँदा कारमा सवार शुभम जैसवालको हात, खुट्टा र छातीमा चोट लागेर गम्भीर घाइते भएको थियो। उनको उपचारका क्रममा आज बिहान शुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका १ कै २३ वर्षीय साहिल बर्मा, कारमा सवार ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए।
अहिले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा जिल्लाको दर्जनौँ स्थानमा डाइभर्सन निर्माण गरेर धमाधम काम भइरहेकाले पूर्वपश्चिम राजमार्गमा सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ।






















