- आशिष विश्वकर्मा
सिरहा, २० माघ। सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच पूर्वमन्त्रीहरु चुनावी मैदानमा छन्। जसका कारण यो क्षेत्र जिल्लाकै चुनावी चर्चाको चुलिमा छ। बाहिरबाट हेर्दा सबैको नजर पूर्वमन्त्रीहरुमा परेपनि ‘ग्राउण्ड’मा भने नयाँको चर्चा चुलिदाें छ। यसक्षेत्रबाट पूर्वमन्त्रीहरु नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का नेता अजयशंकर नायक, जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव, नेकपा (एमाले)बाट धर्मनाथ साह, जनमत पार्टीबाट डा. बिरेन्द्र प्रसाद महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान चुनावी मैदानमा छन्।
फागुन २१ गते हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनकालागि यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३३ वर्षिय इन्जिनियर तपेश्वर यादव चुनावी मैदानमा छन्। नेपाली काँग्रेसल चन्द्रकला कुमारी यादवलाई उम्मेदवार बनाएको छ।
प्रायः निर्वाचनमा नयाँ र परिवर्तनका पक्षमा देखिने यो क्षेत्र यस पटक पनि नयाँ बिचार र अनुहारको खोजिमा छ। २०५१ को निर्वाचनमा नेपाली काँग्रसका नेता प्रदिप गिरीलाई जिताएको यस क्षेत्रले मधेश आन्दोलनको राप तापको समय २०६४ मा मधेशी जनअधिकार फोरमका उम्मेद्वार राजकीशोर यादवलाई जिताएका थिए। पछिल्लो पटक २०७९ को निर्वाचनमा नयाँ पार्टीका रुपमा उदायका जनमत पार्टीलाई सवैभन्दा बढी मत दिएका थिए। २०८२ को निर्वाचनमा पनि यो क्षेत्रले नयाँ अनुहार र विचार खोजिरहेको छ।
२०७९ को निर्वाचनमा जनमत पार्टीले सामानुपातीक तर्फ सवैभन्दाबढी १६ हजार १६० मत प्राप्त गरेका थिए। दोस्रो मत जनता समाजवादी पार्टी (जसपा), नेपालले १० हजार ८५१, नेकपा एमालेले नौ हजार १०७, तत्कालिन नेकपा (माओवादी केन्द्र)ले ६ हजार ६६५, नेपाली काँग्रेसले ६ हजार २१९, लोकतान्त्रिक समाजवादी पार्टीले तीन हजार ७७९, नेकपा एसले तीन हजार ८६ मत र रास्वपाले एक हजार ८०१ मत प्राप्त गरेका थिए।
बाम राजनीतिको प्रभाव रहेको यो क्षेत्र २०६४ को मत परिणाम र २०७९ को मत परिणामले परीवर्तनको पक्षधरतालाई उजागर गरेको देखिन्छ। यस क्षेत्रमा नेकपाहरु माओवादी केन्द्र, एमाले र नेकपा एसले प्राप्त गरेको मतले बामपन्थिको उपस्थितीलाई उजागर गरेको छ।
२०७९ मा प्रत्यक्ष तर्फ भने नेकपा एमाले, जनता समाजवादी पार्टी, (जसपा), नेपाल गठबन्धनका उम्मेवादर बिरेन्द्र महतो विजयी भएका थिए। उनले २४ हजार १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जनमत पार्टीका बीरेन्द्र प्रसाद साहले १६ हजार २९४ मत प्राप्त गरेका थिएर तेस्रो र चौथो मत क्रमशः माओवादी केन्द्र एकीकृत समाजवादी गठवन्धनका उम्मेवार धर्मनाथ साहले १४ हजार ६५३ र रास्वपाका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरेका थिए।
पुराना दलका उम्मेदवारहरु कोही दल फेरेका त कोही पार्टी परिवर्तन गरेर चुनावमा होमिएकाले पनि उनीहरुमाथिको विश्वसनियतामा प्रश्न उठेका छन्। यस अघि २०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्वर २ बाट निर्वाचित राजकिशोर यादव पुनः ४ मा फर्केका छन्। २०७९ मै यस क्षेत्रबाट एमाले जसपा गठबन्धबाट जितेका डा. विरेन्द्र महतो पार्टी फेर्दै यो पटक जनमत पार्टीका उम्मेवार बनेका छन्। मनोनय दर्ता गर्ने दिनसम्म नेपाली कम्यूनिष्ट पार्टीमा रहेका धर्मनाथ साह उम्मेदवारी मनोनयनकै दिन नेकपा एमाले प्रवेश गरेर निर्वाचनमा होमिएका छन्। राजनीतिक वृत्तमा गुमनाम जस्तै भएका वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासपान पहिलो पटक चुनावी मैदानमा आएका हुन्। यस अघि उनी सामानुपातीकबाट सांसद भएका थिए।
२०७० मा सामानुपातीकबाट संविधानसभा सदस्य निर्वाचित नेकपाका उम्मेदवार अजय शंकर नायक यस क्षेत्रको परिचित नाम हो। त्यहि वेला छोटो समय कानुन मन्त्री बनेका बेला राम्रो काम गरेको मन्त्रीका रुपमा परिचित छन्। उनले आफू मन्त्री हुँदा आवश्यक कानुनहरु निर्माणमा योग दान गरेको बताउँछन्।
पूर्वमन्त्री उम्मेदवारहरुको विगत, भदौ २३÷२४ को आन्दोलन र पछिल्लो पटक बालेन्द्र साह(बालेन)को रास्वपा प्रवेशले देशभरी जस्तै सिरहाको यस क्षेत्रमा पनि जनलहर उर्लदो अवस्थामा रहेको कल्याणपुर नगरपालिका ११ का विनोद कुमार यादव बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको नामै नलिएपनि नयाँ शक्तिमा देखिएको आकर्षण बढ्दो अवस्थामा रहेको जनता बनवाली नमुना माध्यमिक विद्यालयका एक शिक्षकले बताए। उनले यस क्षेत्रमा पनि त्यो प्रभाव देखिएको भन्दै ति शिक्षकले भने, ‘नयाँ शक्तिमा देखिएको उभारलाई अव रोक्न मुस्किल जस्तै छ, पुराना दलप्रतिको विश्वास कमजोर भएको अवस्था छ। नयाँ शक्तिमा केही गरेर देखाउने जोस, प्रतिबद्धताले जनतालाई आर्षित गरिरहेको छ। जो छालको गतिमा बेगवान ढङ्गले अगाढी बढीरहेको छ। यो गतिलाई रोक्न मुस्किल जस्तै छ।’
यस क्षेत्रबाट १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा ४९ हजार ९६९ महिला र ५६ हजार ७१७ पुरुषसहित कुल एक लाख ६ हजार ६८६ मतदाता रहेका छन्। निर्वाचन कार्याको लागि २२३ मतदानस्थल कामय गरिएको छ भने ५३१ मतदानकेन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।






















