फाईल फोटो।
सिरहा, २१ मघ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाकालागि आजबाट सिरहामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार बुधबारबाट सेना परिचालित भएको हो।
चुनावी सुरक्षाका लागि जिल्लामा ६५० जना सेना परिचालित हुने जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी ...ले जानकारी दिए। उनका अनुसार चुनावी सुरक्षालाई मध्यनजर गर्दै जिल्लाको लहान, कर्जनहा र सुखिपुरमा अस्थायी बेस खाडागरी सेना परिचालन गरिएको हो।
निर्वाचन सुरक्षाकालागि सेनासहित नेपाल प्रहरी एक हजार १५०, शास्त्र प्रहरी ६५० र तीन हजार ७५९ निर्वाचन प्रहरी परिचालन हुने जनाएको छ।
परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिएका हुन्। सुरक्षा योजनाअनुसार सेना निर्वाचन सुरक्षाको तेस्रो घेरामा रहनेछ । यो भनेको प्रत्येक मतदानस्थल आसपासका क्षेत्रमा संयुक्त तथा एकल गस्ती गर्ने, भिभिआइपी तथा भिआइपी रहने निवास क्षेत्रको सुरक्षा गर्नु हो।
सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर र निर्वाचन प्रहरी निर्वाचनमा खटिने छन्।
सिरहामा जम्मा चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। निर्वाचनका लागि २२३ मतदान स्थल र ५३१ मतदान केन्द्रहरु स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
यस वर्ष लक्ष्मीपुर पतारी र औरहीगरी दुईवटा मदान केन्द्र थप गरीएको छ।






















