तस्विर नम्वर १
- आशिष विश्वकर्मा
सिरहा, २३ माघ। यो हो, सिरहाको सुखिपुर नगरपालिका ५ लरकन्हास्थित इताहदुल आधारभुत विद्यालय। तस्विर देखिसकेपछि तपाईं आफै यसको भौतिक पूर्वाधारको अवस्थाबारे आकलन गर्न सक्नुहुन्छ। २०३२ सालमा स्थापना भएको यो विद्यालयको तस्विरमा देखिएको ब्लक तीन दशक अघि निर्माण भएको हो। यो ब्लक जिर्न भएकाले प्रयोग विहिन छ।
अर्को ब्लवक जो दुई दशक अघि निर्माण भएको हो। त्यही दुई कोठा बनाएर पठन पाठनकार्य भईरहेको छ। पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा कुल १३० जना छात्र–छात्रा छन्। नियमित ६०–६५ को हाराहारीमा उपस्थित हुने शिक्षकहरु बताउँछन्। विहिवार अपरान्ह हामी पुग्दा पनि सोही हाराहारीमा विद्यार्थीको उपस्थिति थियो। दुई कोठा मध्येय एउटामा बालविकास, कक्षा १ र अर्कोमा २ देखि ५ कक्षा सम्मको विद्यार्थी राखेर पठन पाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र कुमार साहले बताए। उनले भने, ‘हामीसँग कक्षा कोठासँगै शिक्षकको पनि अभाव छ। त्यसैले हामीले वहुशिक्षण विधिबाट दुईवटा कोठामा राखेर पढाउने गरिरहेका छौं।’
विद्यालयमा दुई जना स्थायि शिक्षक, एक बालविकास सहयोगी कार्याकता र एक जना कार्यालय सहयोगी रहेका छन्। विद्यालय भवनमात्र होइन, विद्यार्थी बसेर पढ्ने डेक्स बेञ्चसमेत नभएकाले चिसो भूईंमा बसाएर पढाउन बाध्य रहेको प्रअ साहले बताए।
पूर्वाधार र शिक्षकमात्र हैन, विद्यालयको जमिन पनि अझै व्यक्तिकै नाममा छन्। विद्यालय स्थापनाकालमा दान दिएका जग्गाहरु अहिलेसम्म विद्यालयको नाममा नामसारी हुन सकेको छैन। रामलाल मण्डल, राजलाल मण्डल र मो. उमर खाँले विद्यालयकालागि जमिन दान दिएपनि अझै उनीहरुकै नाममा छन्। कतिपयले अहिले जमिनको मूल्य माँग गर्न थालेको प्रअ साहको भनाई छ।
‘जमिनबालामध्ये केहीले मोटो रकम माँग गरीरहेको छ। विद्यालय र वडाले दिनसक्ने अवस्थामा छैन, हामीले विचको बाटो खोजिरहेका छौं;’ वडा अध्यक्ष रामपुजन कामैत भने।
फोटो नम्वर २

तस्विरमा देखिएको यो विद्यालय पनि सुखिपुर नगरपालिका ५ लरकन्हा लवकाटोलमा रहेको आधारभुत विद्यालय हो। दुई कोठे यो ब्लवको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ र अर्को कोठामा त्रिपाल ओछ्याएर विद्यार्थी पढाउने गरेको छ। हामी पुग्दा यस विद्यालको प्राङ्गणमा बाल विकासका सहयोगी कार्यकर्ता सकुन्तला यादव, शिक्षिका रविना चौधरी र गाउँकै एक महिला आगो तापेर बसिरहेका थिए। कार्यालय सहयोगी महेश प्रसाद यादव भित्र पाँच वर्ष हाराहारीका ५ जना बालबालिकालाई चिसो भुईंमा प्लास्टिक ओछ्यार पढाई रहेका थिए। प्रधानाध्यापक हरिप्रसाद यादव भने विद्यालयको कामले सिरहा आएको बताए।
२०४७ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा ५ सम्म पढाई हुने गरेको छ। प्रधानाध्यापक यादवका अनुसार ५० जनाजति भर्ना रहेको होला भने। उपस्थित भने बालविकासमा पढ्ने उमेरका ५ जना विद्यार्थीमात्र थिए।
यो विद्यालयको जमिन पनि व्यक्तिकै नाममा छ। विद्यालय भवन भएको जमिन स्थानीय घुरन ठाकुरसँग साटासाट गरेको भनिएपनि अझै विद्यालयको नाममा आएको छैन। शौचालय, खाने पानीसमेत नभएको यस विद्यायमा शिक्षकहरु घरबाटै पानी लिएर आउने बताउँछन्। शौच भने खेतको आलिमा ओत लागेरै गर्नुपर्ने अवस्था रहेको बताउँछन्।
यो विद्यालय इताहदुल आधारभुत विद्यालयभन्दा दुई सय मिटरको दुरीमा छ। न्यून विद्यार्थीसंख्या भएकाले छुट्टै विद्यालय चलाउनुको अर्थ नरहेको भन्दै यसलाई समायोजन गर्ने योजना बनिरहेको वडा अध्यक्ष कामतीले बताए। उनले भने, ‘नजीक नजिक विद्यालय भएकाले विद्यार्थी पनि हुँदैन। त्यसैले दुवैलाई समायोजन गर्ने कुरा चलिरहेको छ। यहि शैक्षिकसत्रमा हुन्छ होला।’
तस्वीर नम्वर ३

यहि वडामा रहेको यो तेस्रो आधारभुत विद्यालय सुखिपुर ५ लरकन्हाकै हो। यो विद्यालय २००७ सालमा स्थापना भएको हो। चालु शैक्षिकसत्रबाट यहाँ ६ कक्षा सम्मको पढाई भईरहेको छ। पुराना भवन, झ्याल ढोका समेत नभएको भएपनि यहाँ चारवटा ब्लकहरु छन्। स्थानियले बनाउँदै गरेको एउटा अधुरो वभन छ। जुन १० वर्ष देखि अलपत्र अवस्थामा छ।
यस विद्यालयको रजिष्टरमा १३० जना विद्यार्थी छन्। तीन जना स्थायी दरबन्दिका शिक्षक, दुई जना बाल विकासका सहयोगी कार्यकता र एकजना कार्यालय सहयोगीसहित जम्मा ६ जना शिक्षक कर्मचारी छन्। हामी पुग्दा विद्यार्थीको उपस्थितिसंख्या भने न्यून थियो।
५ कठ्ठा क्षेत्रफलमा फैलिएर रहेको ७५ वर्ष पुरानो यो विद्यालयको आधा जग्गा अझै व्यक्तिकै नममा छ। जसमध्ये २ कठा १७ धुर विद्यालयको नाममा र २ कठा १३ धुर व्यक्तिकै नाममा छ। अव चाँडै विद्यालयको नाममा आउने विद्यालयका प्रधानाध्यापक राजनारायण यादवले बताए। उनले भने, ‘जग्गा दाताकै छोरालाई हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाएका छौं। उहाँ जमिन पास गराउन राजि छ। आज झोलि नै हामी यसको निर्णयमा पुग्दै छौं।’
वडा अध्यक्ष कामतीले पनि चाँडै विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने र टुङ्गो लगाउने बताए।
तस्विर नम्वर ४

माथिको तस्विर सिरहाको कल्याणपुर नगरपालिका ८ मझौलियास्थित आधारभुत विद्यालयको हो। हामी सोमबार पुग्दा विद्यालयका प्रधान्यापक रामरिझन बरही गाउँमा भएको मृत्यु भोजमा आएका एक जना पाहुनासँग गफिएर बसिरहेका थिए। विद्यार्थी बस्ने कोठामा त्यहि भोजमा आएका पाहुनाहरु बसेर गफिरहेका थिए। गाउँमा विवाह, वर्तबन्ध तथा मृत्यु भोजहुँदा यो विद्यालयका कोठाहरुमा पाहुना बस्ने गर्द छ। प्रधानाध्यापक बरहीले यो वर्ष अहिलेसम्म तीन दिन पाहुना बसेका कारण विद्यालयको पढाई प्रभावित भएको जानकारी दिए। उनले भने, ‘म गत चैत्रमा यहाँ आएको हो, यो वर्षभरीमा भोज भेतरकै कारण तीन दिन पठन पाठन प्रभावित भएको छ। मैले धेरै प्रयास गरेपनि सफल हुन सकेको छुईन्।’
५ कक्षा सम्म पढाई हुने यस विद्यालयमा हाल एक शिक्षक, एक बाल विकास सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगी छन्। रजिस्टरमा १०४ जना विद्यार्थीसंख्या रहेपनि २५–३० जना उपस्थित हुने प्रधानअध्यापकले जानकारी दिए। अन्य विद्यालय जस्तै यो विद्यायमा पनि विद्यार्थी चिसो भुईमा बोरा विछ्याएर पढ्न बाध्य छन्। शौचालय प्रयोग गर्ने अवस्थाको छैन।
विद्यालको भौतिक पूर्वाधार, शिक्षक विद्यार्थी संख्यामा तालमेल नहुनु, भएका शिक्षक पनि विद्यालयमा न्यून उपस्थितिका कारण सामुदायिक विद्यालय विद्यार्थी विहिनताको अवस्थामा पुग्न थालेको शिक्षकहरु नै स्विकार गर्छन्। जनता आधारभुत विद्यालय सुखिपुर ५ लडकन्हाका प्रधानाध्यापक राजनारायण यादवले भने, ‘कमजोर पूर्वाधार, खस्कीदो शैक्षिक अवस्थाका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएको हो।’
उनले शिक्षामा हुने चरम राजनीतिक प्रभावकै कारण सामुदायिक विद्यालयहरु विघटनको अवस्थामा पुग्न थालेको बताए। उनले भने, ‘सामुदायिक विद्यालयहरु राजनीतिक अखडा बनेको छ, कसैले राम्रो काम गर्न लाग्यो भने १० जना आएर बाधा अवरोध गर्छ। मैले आफ्नै विद्यालय सुधार गर्न धेरै प्रयत्न गरें, तर मैले सकिन। म त भन्छु अव सामुदायिक विद्यालय सुधारर्न ठूलै कसरत गर्नु पर्छ।’
सिरहामा जम्मा ४२३ सामुदायिक विद्यालय छन्। जसमध्ये ३२६ वटा त आधारभुत विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जानकारी दिए।
माथिका तस्विर र विवरणहरुले सिरहाको सामुदायिक आधारभुत विद्यालयको चित्रण गर्छ। दलहरुले चुनावका बेला शिक्षा सुधारका क्षेत्रमा आफ्ना घोषणा पत्रहरुमा विभिन्न प्रतिबद्धता जनाउँछन्। तर, त्यो घोषणापत्र मतदाता अलमल्याउने हतियारमात्र सधै बन्यो। अहलिे चुनावले फेरी देश तातेको छ। फेरी नेता प्रतिबद्धता जनाउँदै आउने छ। मतदाताले नेता चिन्ने बेला भएको छ।
२०७९ को निर्माचनमा कुन पार्टीले के प्रतिबद्धता जनाएका थिए :
नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा शिक्षा
विद्यालयमा कार्यरत कर्मचारीका तलबसेवा सुविधाका समस्या समाधान गर्ने देखि ५ बर्षमा ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पु¥याउने सम्मको प्रतिवद्धता जनाएको छ। समग्र शिक्षा प्रणालीलाई आर्थिक सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने लक्ष्य नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख छ। गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचनाप्रविधिको तीव्रतर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१ औं शताब्दीले आत्मसात गरेको सिकाइ पद्धतिअपनाएर वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउने उद्घोष कांग्रेसको छ।
१५ देखी २४ बर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशत रहेकोमा यसलाई ९५ प्रतिशत पु¥याइने, ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा, कक्षा ११ को भर्नादर ५० प्रतिशत पु¥याउने, एक वर्षमा शिक्षा ऐन जारी गर्ने, वैज्ञानिक पद्धति मार्फत जनसंख्या, भूगोल र विद्यार्थी संख्याको आधारमा शैक्षिक संस्थाको नक्साङ्कन गर्ने, संविधानको मर्म बमोजिम निःशुल्क शिक्षाको प्रत्याभूति गर्नका लागि भौचर लगायत व्यवस्था गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउने जारी गरेको घोषणापत्रमा उल्लेख छ।
यसका साथै कानून बमोजिम विद्यालयको वर्गीकरण, प्राविधिक धारका एक तिहाइ विद्यालय सञ्चालन गर्न देशभर सञ्चालनमा रहेका एक तिहाई विद्यालयलाई प्राविधिक र व्यावसायिक धारमा परिणत, शिक्षण पेसामा आकर्षण गर्न विश्वविद्यालयका प्रतिभाशाली स्नातकहरूलाई आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गर्ने, सीमान्तीकृत, अशक्त र अभिभावकविहीन वालबालिका पहिचान गरी आवासीय सुविधासहित माध्यामिक तहसम्मको निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सहुलियतपूर्ण शैक्षिक ऋण कार्यक्रम अभ्यासमा ल्याउने लगायतका विषय नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख छ।
सातवटै प्रदेशमा चिकित्सा शास्त्र संकायका विभिन्न विधाको पढाइ हुने गरी शिक्षण अस्पतालको स्थापना गर्ने, चिकित्सा शिक्षा आयोगलाई थप व्यवस्थित र प्रभावकारी वनाउने, नेपालका विश्वविद्यालयहरूले कम्तीमा १० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना लिन प्रेरित गर्ने, विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोड्ने, संस्कृत विश्वविद्यालयमा पूर्वीय दर्शनको अध्ययन, अनुसन्धान तथा अन्वेषणका लागि विशेष व्यवस्था मिलाउने, अनुदान आयोगलाई जवाफदेही बनाउने, विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक बनाउने,नेपाली कांग्रेसको नीति अनुरुप शिक्षा नीति जारी गर्ने लगायतका विषय चुनावी घोषणापत्रमा समावेश छन्।
एमालेले चुनावी घोषणापत्रमा शिक्षा
दुईवर्षमा मुलुकलाई पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रारम्भिक बालविकास कार्यक्रमदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने उल्लेख गरेको छ। प्रत्येक पालिकामा दुईवटा प्राविधिक विद्यालय खोल्ने, सम्पूर्ण बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गर्ने, आर्थिक दुरावस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नु पर्ने अवस्था अन्त्य गरिने, शैक्षिक वर्ष सुरु हुनु अगावै विद्यालय भर्ना अभियान सञ्चालन गर्ने लगायतका एजेन्डालाई समावेश गरेको छ।
चुनावी घोषणापत्रमा विद्यार्थी भर्नादर शत प्रतिशत पु¥याउने, जीवनपयोगी शिक्षा र त्यसका लागि नमुना पाठ्यक्रमको निर्माण गर्ने, प्राथमिक शिक्षालाई परीक्षामुखीभन्दा सिर्जनात्मक प्रतिभा र उत्सुक्ता विकसित गर्ने ढाँचामा रूपान्तरण गरिने उल्लेख छ। माध्यमिक शिक्षालाई विद्यार्थीको अभिरुचिअनुसार विशिष्टीकरण एवं व्यावसायिकताको आधार तयार गर्ने, उच्च शिक्षालाई ज्ञान, सिप र विशिष्टीकरणयुक्त अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने तथा ज्ञानमा आधारित आर्थिक, सामाजिक विकासका लागि उपयुक्त विशिष्ट जनशक्ति निर्माण गर्नमा केन्द्रित गरिने उल्लेख छ।
साथै शिक्षण पेसालाई मर्यादित बनाइने, शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने पारिश्रमीक सुविधा उपलब्ध गराइने, माध्यमिक शिक्षालाई उत्पादनसँग जोड्दै जीवनोपयोगी तुल्याउन प्रत्येक पालिकामा प्राविधिक धारका माध्यमिक विद्यालय स्थापना गर्ने, शैक्षिक संरचनालाई रूपान्तण गरी वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षाको हिस्सा ७० प्रतिशत बनाउने, रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गर्ने, प्राविधिक तथा व्यवसायिक महाविद्यालय र बहुप्राविधिक शिक्षालयहरूको स्थापना गर्ने, विज्ञान र प्रविधिका क्षेत्रमा विश्वस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने विशिष्ट प्रतिष्ठानहरू स्थापना गर्ने, शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने जस्ता विषय समावेश छन्।
त्यस्तै शिक्षाको गुणस्तर सुधार गर्न अध्ययन अध्यापनको ढाँचा परिवर्तन गर्ने, योग्य शिक्षक शिक्षिकाहरूको व्यवस्था गर्ने, आगामी पाँच वर्षभित्र विद्यालयका भौतिक पूर्वाधार व्यवस्थित गर्ने, सबै विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने उल्लेख छ। सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने, शैक्षिक गुठीअन्तर्गत वा निजीस्तरमा सञ्चालित विद्यालयहरूमा समेत तोकिएका पूर्वाधारको व्यवस्थाका लागि जोड दिने उल्लेख छ।
घोषणापत्रमा अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गर्ने, दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका निम्ति आवासीय शिक्षाको व्यवस्था गर्ने, देशका लागि आवश्यक जनशक्तिको विधागत तथा विषयगत माग र आपूर्तिको तुलनात्मक विश्लेषणका आधारमा राष्ट्रिय जनशक्ति प्रोफाइल तयार गर्ने, विश्वविद्यालयहरूलाई सेन्टर अफ एक्सेलेन्सका रूपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिस्तरका पूर्वाधार निर्माण गर्ने लगायतका विषयलाई नेकपा एमालेले चुनावी घोषणापत्रमा समावेश गरेको छ।
नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्रमा शिक्षा
नेकपा माओवादी केन्द्रले ‘शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार सबैका लागि गुणस्तरीय शिक्षा, ने.क.पा. (माओवादी) को प्रतिबद्धता’ भन्ने मुल नाराका साथ आफ्ना शिक्षाका विषयबस्तुलाई चुनावी घोषणापत्रमा समेटेको छ।
शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने, संघिय शिक्षा ऐन ६ महिनाभित्र जारी गर्ने, प्रदेश तथा स्थानीय तहको शिक्षा ऐन निर्माणमा सहजीकरण गर्ने, नागरिकको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, सबै तहको पाठ्यक्रम पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि केन्द्रित र व्यावसायिक बनाउने, १२ कक्षा पास गरेको कुनै पनि विद्यार्थी बेरोजगार बन्न नपर्ने गरी सैद्धान्तिक एवं व्यावहारिक शिक्षा लागु गर्ने, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयको शिक्षालाई माध्यमिक तहदेखि नै अनिवार्य गर्ने, शिक्षालाई अनुसन्धानमुखी बनाउने घोषणापत्रमा उल्लेख छ।
यसका साथै पाठ्यक्रममा जनयुद्ध, जनआन्दोलन, मधेश, जनजाति, थारु, दलित र महिला आन्दोलन सम्बन्धी जानकारी समावेश गर्ने, १२ कक्षासम्मको शिक्षा निःशुल्क साथै अनिवार्य बनाइने, सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्दै पाँच वर्षभित्र सबै शिक्षण संस्थामा समस्तर कायम गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, सार्वजनिक विद्यालय सबलीकरण, शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगाबै पाठ्यपुस्तक विद्यालयमा उपलव्ध गराउने, पाँच वर्षमा कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा पु¥याउने, अनुसन्धान एवं व्यावहारिक अभ्यासमा जोड दिने, विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीको योग्यता क्षमताको आधारमा छनोट गर्ने, शिक्षण संस्थाको नाम परिवर्तन गरेर विज्ञान र परिवर्तन अनुकूल बनाउने लगायतका विषय घोषणापत्रमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्रमा शिक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणपत्रमा विद्यालय शिक्षा ऐन लागू गरी सरकारी विद्यालय शिक्षामा निम्न परिवर्तन ल्याइने उल्लेख गरेको छ। शिशु शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन पर्याप्त जनशक्ति र आर्थिक स्रोतसम्पन्न ३ वर्षको अनिवार्य प्रारम्भिक शिक्षा लागू गर्ने, मातृभाषा र नेपाली भाषाको शिक्षा अनिवार्य गरी, इतिहास, सामाजिक अध्ययन जस्ता विषय मातृभाषा वा नेपालीमा अध्यापन गराई अन्य प्राविधिक विषयहरु विज्ञान, गणित, कम्प्युटर विज्ञान, लेखा, आदि अंग्रेजी माध्यममा अनिवार्य अध्यापन गराइने, जीवनोपयोगी तथा नैतिक अनुशासनका विषयहरु कक्षा १ बाट र वयस्क तथा यौन स्वास्थ्य विषय कक्षा ६ देखि अनिवार्य गर्ने उल्लेख छ।
शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै हरेक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याइनेछ। यसमा व्यवधान पु¥याउने नीतिगत तथा संरचनागत प्रक्रिया, संस्थाहरुप्रति शून्य सहनशीलता अपनाइने घोषणापत्र मार्फत जनाएको छ।विद्यार्थीहरुको उमेरगत मानसिक, शारीरिक आवश्यकता पूरा गर्न विश्व स्वास्थ्य संगठनले तोके बमोजिमको पौष्टिकता प्रदान गर्ने गरी पहिलो चरणमा कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम अनिवार्य गर्ने जनाएको छ।
शिक्षकको वृत्ति विकासका लागि मासिक तलब, समय सान्दर्भिक, अद्यावधिक तालिम,.परिवारको शिक्षा, स्वास्थ्य, यातायात आदि आधारभूत आवश्यकतामा सहुलियत, विद्यार्थीको बहुआयामिक प्रगतिमा आधारित वित्तीय तथा गैरवित्तीय प्रोत्साहन गर्ने लगायत नेपालका विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक बनाउन नीतिगत समन्वयन गर्ने गरी विश्वविद्यालय शिक्षा ऐन पारित गर्ने घोषणापत्र मार्फत जनाएको छ।






















