सिरहा, २९ माघ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले वार्षिक अढाई लाख बढी आँखाका बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गरि देशकै प्रतिष्ठा उच्च बनाएको बताए। अस्पतालको ४२ औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएको हो।
‘यो अस्पताल लहानको पहिचान हो। यतिमा मात्र सीमित नभएर यसले देशकै प्रतिष्ठा र गौरब बढाउने काम गरेको छ। ख्याती कमाउन सफल भएको छ; मुख्यमन्त्री सिंहले भने, ‘नेपाली मात्र नभएर छिमेकी राष्ट्र भारत तथा अन्य देशका नागरिकले पनि ठुलो मात्रामा यस अस्पतालको सेवा लिनु गौरवको विषय हो। यसर्थ अस्पतालले नागरिकको मन जित्न सफल भएको छ।’ मुख्यमन्त्री सिंहले आफूँ छोटो समयमा दुईपटक यस अस्पतामा भ्रमण अवलोकन गरेको भन्दै प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई आवश्यक बजेट व्यवस्थापन सहित सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा नेपाल नेत्र ज्योती संघका केन्द्रीय सदस्य तथा अस्पातालका जग्गादाता पदम बहादुर चौधरीले यस आँखा अस्पतालले मधेशमा मात्र सीमित नभएर हिमाल, पहाड सबैतिर सेवा विस्तार गरेर समुदायको मन जित्न सफल भएको बताए। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका चौधरीले आँखा अस्पतालको विकासको लागि सबै पक्षले उत्तिकै साथ र सहयोग गर्नुपर्नेमा जोेड दिए।
त्यसैगरि मधेश प्रदेशसभाका सदस्य राजेन्द्र प्रसाद चौधरीले लहाँन आँखा अस्पताललाई ‘मेडिकल टुरिष्ट हब’ को रुपमा विकास गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। अर्का प्रदेशसभा सदस्य राजकुमार गुप्ताले यस आँखा अस्पतालमा भारतिय बिरामीको आगमन बढी हुनेहुँदा त्यसबाट भारतिय मुद्राको संचिति गरि राज्यले लाभ लिनुपर्ने धारण राखे।
चौधरी आँखा अस्पतालसँग समन्वय गरि स्थानीय जनसमुदायमा आँखा शिविर गरि गरिब तथा विपन्न नागरिकलाई ज्योति प्राप्त गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत, धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल, सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन कुमार यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर लगाएतलाई अस्पतालले प्रमाणपत्र सिहत सम्मान गरेको थियो।
अस्पतालका अध्यक्ष रविन्द्र लाल चौधरीले अन्धोपनको अन्त्य गर्नतर्फ आफुँहरु लागिपरेको बताए।
सगरमाथा चौधरी आँखा अस्पतालले ४२ वर्षको अवधिमा यस वर्ष सबैभन्दा धेरै सात लाख बिरामीको उपचार गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले जानकारी दिए। जसमध्येय ६५ हजार ९३५ बिरामीको शल्यक्रिया गरेर गौरवपूर्ण सफलता हासिल गरेकोमा डा. सिंहले खुशि व्यक्त गरे।