- कृष्णप्रसाद पौडेल
पौडेल कृषिविज्ञ हुन्।
अहिले सबैतिर मानवीय नैतिक मूल्यमान्यताको खडेरी छ । यसको आयाम राजनीतिदेखि समाजका सबै क्षेत्रमा सजिलै देख्न सकिन्छ । खासगरी खाना र खेतीपातीमा सल्केको दलाल पुँजीवादको डढेलोले यो प्रकृतिसम्मत मानवीय नैतिक मूल्यमान्यता निरन्तर स्खलित हुँदै गएको छ ।
जसकारण प्रकृति र समाज दुवै संकटग्रस्त बन्दै गइरहेको छ । प्रकृति दोहन, जैविक विविधताको नाश, वातावरणीय ह्रास, जलवायु परिवर्तन, माटो तथा मानव स्वास्थ्य र खाद्य संकटको भयावह रूप विश्वव्यापी रूपमै प्रकट भइरहेको छ । यसो भनौं, अहिले मानव सभ्यताको भविष्य नै अन्योलग्रस्त भएको छ ।
जलवायु परिवर्तनका कारण जैविक विविधताको ह्रास कहालीलाग्दो तरिकाले निरन्तर बढिरहेको छ । अध्येताहरूको खोजलाई प्रामाणिक तथ्य मान्ने हो भने, पृथ्वीका प्रजातिमध्ये ४० प्रतिशतको विनाश भइसकेको छ । यो क्रम तापक्रम वृद्धि, हावापानीको प्रदूषण र मौसममा आएको अनपेक्षित फेरबदलसँगै तीव्र रूपमा बढिरहेको छ । हावापानी चक्रमा आएको फेरबदलले खडेरी, बाढीपहिरो र डुबानजस्ता समस्या बर्सेनि बढ्दै गएका छन् । यसमाथि, समृद्धिका नाममा भइरहेका उत्ताउला विकासे संरचनाले प्राकृतिक लय बिगार्दा ठूलो जनधनको क्षति भइरहेको छ ।
आधुनिक हुने नाममा थोपरिएको औद्योगिक भनिने कृत्रिम रसायन र विषादीमा आधारित व्यापारिक कृषिले माटो र मानव स्वास्थ्य तहसनहस भइरहेको छ । उर्वरशील जीवित माटो कृत्रिम रसायनका भरमा धिकिरधिकिर गर्दै प्राण धान्नुपर्ने अवस्थामा पुगेको छ । यो मरुभूमिमा परिणत हुने प्रतीक्षामा छ । यसको प्राण गयो भने हाम्रो हालत के हुन्छ ? तराई र सम्म मैदानी माटोमा जैविक गतिविधि शून्य हुँदै गएको छ । निरन्तरको बाध्यकारी श्रम पलायनले सजिलो खेती भन्दै गरिएका खेती प्रविधिले माटोको जैविक प्रक्रिया र विविधता दुवै तहसनहस भएको छ । यन्त्रमा आधारित एकल खेतीले जैविक विविधता र माटोको जीवन–तत्त्व ह्रास हुँदै गएको छ ।
औद्योगिक उपनिवेशी ज्ञानको प्रभावसँगै प्रकृतिसम्मत खेतीपाती उपेक्षित भएको मात्र छैन, कृत्रिम रसायन र विषादीले आक्रान्त भएको छ । किसानले बाह्य स्रोतमा आधारित खेतीकर्म धान्न नसकेर खेतबारी छोडेर सहर र बाह्य मुलुकमा रोजगारी र आम्दानीको खोजी गर्न बाध्य हुनुपरेको छ । परिमाणतः प्लास्टिक पोका, प्लास्टिककै बोतल र बट्टामा पत्रु पेय पदार्थ र खानेकुरा, तरकारी, फलफूल, गेडागुडी, तेल र अन्य अन्नपात आयातित भइरहेको छ । एकातिर यहीँ भइरहेको खेतीपाती विषाक्त छ, अर्कोतिर आयातित खानेकुरा अखाद्य र पत्रु छ । विषाक्त र पत्रु खानाले पोषण र स्वास्थ्यमा जे भइरहेको छ, खोपामा राखेको चक्कीदेखि अस्पतालका पर्चीसम्मले प्रस्ट देखाउँछ । नसर्ने दीर्घरोगका समस्याले घरपरिवार, आफन्त, सिंगो समाज भयभीत र आतंकित छ । अस्पतालको भीडभित्र लुकेको आममानिसका पीडाले सबै कुरा ओकलिरहेको छ ।
खाना र खेतीपातीको दुरुह अवस्था र यसका अन्तरनिहित कारणले समाजको समग्र चेतनामाथि गम्भीर प्रश्न उठिरहेको छ । परनिर्भर खाना र खेतीपातीले हाम्रो आत्मसम्मान, स्वाभिमान, आत्मनिर्भरता र खाद्य सुरक्षाको हैसियत उदांगो भएको छ । सारमा कृषिका नैतिक मूल्यमान्यताको नियतवश गरिएको निषेध नै आजको कृषिको मूल संकट हो । यसलाई नसच्याउने हो भने टाउकाले टेकेर घिस्रिरहेको नाफामुखी औद्योगिक कृषि दुर्घटनामा पर्ने निश्चित छ । यो कुराको समयमै हेक्का नराख्दा आउने दिनहरू अझ कष्टकर हुने सम्भावना बढेको छ । यी सबै कुराले हामी सबैलाई केही आधारभूत प्रश्नमा गम्भीरतापूर्वक चिन्तन मनन गर्न दबाब बढिरहेको छ । किन हामी खानाका लागि गरिने खेतीपाती जस्तो आधारभूत प्रश्नमा विचार गर्ने विवेक गुमाउँदै गएका छौं ? किन हामी विषाक्त खाना र खेतीपाती प्रवर्द्धनको प्रतिवाद गर्दै स्थानीयस्तरमा यसलाई सच्याउन हिच्किचाइरहेका छौं ? किन विषाक्त खाना र खेतीपातीले निम्त्याएका नसर्ने दीर्घरोगको विकराल समस्या नभएझैं गरेर टक्टकिरहेका छौं ?
यी सामान्य प्रश्नको जवाफ खोज्ने र जवाफदेही लिनुपर्ने जिम्मेवारकर्ताहरू सुतुरमुर्गझैं टाउको लुकाएर बसिरहेका छन् । आममानिस अन्योलमा छन् । बौद्धिक जगत् र नागरिक समाज भनिने अभियन्ता मौनता साधेर बसेका छन् । व्यापारिक विषाक्त कृषिका प्रवर्तक भने यही मौनताको आडमा हाम्रो भविष्यमाथि खेलबाड गरिरहेका छन् । यिनैको मानो पचाएर गुजारा चलाउने नैतिकहीन जमात यिनैले थोपरेका कुतर्कको अन्धभक्त दास भएर यिनैका भजन गाइरहेका छन् ।
अहिले हिँडिरहेको कृषिको गन्तव्यहीन यात्रा सच्याउन हाम्रा पुर्खाले उन्नत बनाएका नैतिक कृषिका मूल्यमान्यता आत्मसात् गर्ने प्रकृतिसम्मत विवेक फर्काउनुको विकल्प छैन । किनकि अहिलेका सबै नैतिकहीन व्यवहार प्रकृतिसम्मत कृषिका नैतिक मूल्यमान्यताको बेवास्तासँगै सुरु भएको हो ।
आउनुहोस्, मानव र प्रकृतिबीचका अन्तरसम्बन्धका नैतिक मूल्यमान्यतामाथि केही चर्चा गरौं । यी मूल्यमान्यता मुख्यतः (क) प्रकृतिकेन्द्रित, (ख) मानिसकेन्द्रित र (ग) यी दुवैको सहअस्तित्व गरी तीनवटा आयामको अन्तरनिर्भर सम्बन्धबाट बुझ्न सकिन्छ । यी मूल्यमान्यताले मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध र यिनको अन्तरनिर्भरताको सम्मान गर्छ । यिनैलाई आत्मसात् गरेर नै प्रकृतिसम्मत मानव अस्तित्व र सभ्यताको निर्माण भएको हो ।
प्रकृतिको नियम विचार गर्दा, सबै प्रजातिका अन्तरसम्बन्धहरू स्वयं र अरू प्रजाति र बृहद् प्राकृतिक संरचनासँग सहकार्यमा सन्तुलित भएर चलायमान हुन्छन् । यो मानव प्रकृतिको अन्तरसम्बन्धको प्राकृतिक नियम हो । यो कुराको मर्म बुझ्न प्रकृतिको नियमबाट सिकेर मानिसले आफू र बृहद् प्रकृतिको अन्तरनिर्भर सम्बन्ध र यिनको बीचको प्रकृतिसम्मत आदानप्रदानलाई नैतिक मूल्यमान्यताको कसीमा खारेको हो । यी मूल्यमान्यतालाई सरल तरिकाले बुझ्न हाम्रै शरीरलाई उदाहरणका रूपमा लिन सकिन्छ । हाम्रो शरीरका सबै कोषहरू र सिंगो शरीरको अन्तरनिर्भरतालाई हेरौं । हाम्रो शरीर प्रकृतिजस्तै बृहद् जटिल संरचनाबाट बनेको छ । यहाँ खर्बौं कोषहरू, विभिन्न अंगहरू भिन्नाभिन्नै र एकआपसमा मिलेर काम गर्छन् । यिनीहरूबीचको सन्तुलित सहकार्यले सबै अंग र शरीर चलायमान हुन्छ । हाम्रो शरीर प्रकृतिको यही नियमबाट स्वचालित हुन्छ । यिनमा हुने गडबडी यसको सन्तुलनमा निर्भर हुने गर्छ । यसैअनुसार, निश्चित प्राकृतिक वातावरण र बाह्य ऊर्जाको बन्दोबस्तमा हुने (कोष) मानव र (शरीर) प्रकृतिको अन्तरनिर्भर सम्बन्ध र यिनको सन्तुलित आदानप्रदानलाई बुझ्न सकिन्छ ।
यी नैतिक मूल्यमान्यताका आयामले एकआपसमा सम्पूर्ण जैविक क्षेत्रको दिगो पुनर्उत्पादनका लागि निरन्तर सहकार्य गरिरहेका हुन्छन् । यो प्रकृतिसम्मत कृषिको सबैभन्दा आधारभूत सिद्धान्त हो । हामी सबैलाई थाहा छ, हाम्रो सौर्य प्रणालीले यस पृथ्वीको जीवन प्रक्रियाका लागि अनन्तकालसम्म र प्रशस्त ऊर्जा प्रदान गर्छ । यही ऊर्जाको उपयोगबाट समग्र जीवन प्रक्रिया चलायमान हुन्छ । हामीले प्रकृतिको यो सिद्धान्तबाट सिकेर, यस्तो ऊर्जालाई उपयोग गर्ने र ऊर्जा उपयोगको चक्र सकेसम्म सानो घेरामा सीमित गर्ने कुरा अर्को महत्त्वपूर्ण सिद्धान्त हो । उदाहरणका लागि हाम्रो खाना सकेसम्म आफ्नै घरपरिवार वा स्थानीय तहमा उत्पादन गर्नुपर्छ । यो चक्र जति सानो हुन्छ, त्यति नै दिगो हुन्छ ।
जीवनका आधारभूत पञ्चतत्त्वको नवीकरणीय क्षमताको विवेकशील उपयोग यसको अर्को सिद्धान्त हो । खासगरी, घाम, पानी र हावाबाट उपलब्ध हुन सक्ने नवीकरणीय ऊर्जाको उपयोगले उत्पादन प्रक्रिया प्रकृतिमैत्री र दिगो हुन्छ । अहिलेको खनिज ऊर्जामा आधारित प्रविधि र प्रवृत्तिलाई बदल्न यस्तो ऊर्जाको उपयोगका लागि प्रविधि र प्रवृत्तिलाई नैतिक मूल्यमान्यतामा आधारित गरिनुपर्छ ।
त्यसैगरी, प्रकृतिले कुनै कुरा खेर फाल्दैन । न्यायिक वितरण र बचतलाई एकीकृत प्रणालीका रूपमा व्यवस्थित गर्छ । यो नै विविधताको कारण र परिणाम हो । यो कुरा मानिस र समाजमा समेत उत्तिकै लागू हुन्छ । परम्परागत एकीकृत मिश्रित खेतीपाती प्रणाली यसको एउटा उदाहरण मात्र हो । प्रकृति, जैविक क्षेत्रीयता, सूक्ष्म वातावरण, बासस्थान, विविधता, समाज, समुदाय, समूह परिवार र व्यक्तिको आपसी सहकार्य, समन्वय र अन्तरनिर्भरता सबैको सुरुवात बिन्दु हुन्छ र यसको वृद्धि बिस्तारै बृहद् र जटिल हुँदै जान्छ । यस अर्थमा प्रकृतिले आफ्नै गतिमा स्वचालित रूपमा कार्य गरिरहेको हुन्छ । सबै तह, वर्ग, क्षेत्र प्रजातिको गुणात्मक समीकरण बढी उपयोगी र उत्पादनशील हुन्छ ।
यसरी हेर्दा, नैतिक मूल्यमान्यतामा आधारित कृषि बहुआयामिक तथा प्रकृति र मानवबीचको अन्तरसम्बन्धको चक्रीय प्रणालीको एकीकृत ढाँचाबाट चल्छ । यो प्रणाली यी सबै आयामको सन्तुलित विकासले मात्र उन्नत हुँदै जाने हो । यस्तो प्रणाली खेतीपातीको संस्कृति, स्थानीय प्रकृति, पर्यावरण, समाज, अर्थतन्त्र, इतिहास जस्ता आयामहरूसँग जेलिएका हुन्छन् । खेतीपाती उन्नत हुँदै जाँदा वा यसमा आउने विकृतिका कारण उत्पन्न समस्या सम्बोधन गर्न, खेतीपातीलाई समष्टिगत रूपमा बुझ्न र एकीकृत प्रणालीका रूपमा व्यवहार गर्न आवश्यक छ । यो कुराको अपवाद खाद्य तथा कृषि प्रणाली हुन सक्दैन । यी मुख्य नैतिक मूल्यमान्यता र सिद्धान्तको बुझाइ प्रकृतिसम्मत कृषितर्फको यात्राका कोसेढुंगा हुन् । यिनको बुझाइसँगै यसलाई उन्नत बनाउँदै जाने अभ्यासले खेतीपाती मात्र होइन, हाम्रो जीवन पद्धतिसमेत दिगो हुन्छ ।
यी प्रकृतिका नियमबाट सिकेर मानिसले नैतिक मूल्यमान्यतामा आधारित प्रकृतिसम्मत कृषि प्रणाली घरपालुवा बनाउँदै र थप विकसित गर्दै दस हजार वर्षसम्म यसैलाई पुस्तान्तरण गर्दै ल्यायो । यही नियमको पालना गर्ने नैतिक मूल्यमान्यतालाई बेवास्ता गर्दै आधुनिक भनिने विकासे मानिसले प्रकृति नियन्त्रण गर्ने हठसहित मानवकेन्द्रित, विवेकहीन र निहित स्वार्थका लागि नियत नै फेरेकोले अहिलेको संकट आएको हो । किनकि, प्रकृतिको नियमबाट चलायमान बनाउनुपर्ने प्रकृतिसम्मत कृषि प्रणाली आधुनिकताका नाममा औद्योगिक विकासले थोपरेको दलाल अर्थतन्त्रको निहित स्वार्थबाट प्रेरित भएर चलेको छ । यसैका आधारमा यसको विचार, संगठन र अभ्यासहरू निर्देशित भएका छन् । वाद, प्रतिवादका कुतर्क ‘हात्तीका देखाउने दाँत’ मात्र हुन् । प्रकृति र मानवबीचको अन्तरसम्बन्ध बुझ्ने विवेकसम्मत दृष्टिकोणको खडेरी नै अहिलेको मूल समस्या हो ।
अन्त्यमा, खाना र खेतीपातीका उत्सव मनाउँदै गर्दा यी प्रश्नमाथि बहस गरौं ।