सुरेन्द्र कुमार कामती

सिरहा, २६ कार्तिक। जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको छ। कारागारमा रहेको कामचलाउ नाइकेको समूहको निर्देशनमा चारजना मिलेर सिराहाको मिर्चैया नगरपालिका– ८ का ३९ वर्षीय परमेश्वर सदा र महोत्तरीको रामगोपालपुर नगरपालिका– ८ का बद्री मण्डललाई कुटपिट गरिएको छ।

उनीहरूलाई शनिबार राति कुटपिट गरी गम्भीर घाइते बनाएको छ। प्लास्टिकको पाइप र भाटाले कुटपिट गर्दा कैदीबन्दी सदाको पिठ्युँ र संवेदनशील अंगमा गम्भीर चोट लागेको छ । घाइते सदालाई उपचार गराउन सोमबार दिउँसो प्रादेशिक अस्पताल सिराहामा उपचार गराउन भर्ना गरिएको थियो । हतकडी लगाएर नै प्रादेशिक अस्पताल सिराहाको आकस्मिक कक्षमा उपचार भइरहेको कैदीबन्दी सदाको सुविधासम्पन्न अस्पताल लैजान कारागार प्रशासनलाई उपचारमा संलग्न चिकित्सक राकेश यादवले सुझाब दिएको बताएका छन्। अर्का कैदीबन्दी मण्डल सामान्य घाइते भएका छन् । मण्डललाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । सदा कर्तव्य ज्यान र मण्डल चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका छन्।

यसअघि ०८२ साउत ४ मा कारागारभित्र दुई समूहबिच झडप भएको थियो । चौकीदार सरुवाको विषयमा झडप हुँदा तत्कालीन चौकीदार विजय महतोसहित १३ जना घाइते भएका थिए । दाउराको चिर्पट प्रयोग गरी एक–अर्कामाथि आक्रमण गरेपछि १३ जनाको टाउको फुटेको थियो । कारागारमा तत्कालीन नाइके विजय महतो र इन्द्रजित यादव समूहबिच झडप भएको थियो । तत्कालीन नाइके महतोलाई सरुवा गरिएको छ भने यादव कामचलाउ नाइकेको रूपमा कारागारमा रहेका छन् । नयाँ नाइके नियुक्त गरिएको छैन ।

सुरक्षा संयन्त्रको अनुगमन
कारागारका कैदीबन्दी कुटपिटको पछिल्लो घटनापछि जिल्लाका सुरक्षा निकायका पदाधिकारीहरूले कारागारको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त रूपमा कारागारको निरीक्षण गरेका छन्। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको र घटनाहरू फाटफुट रूपमा विगतदेखि नै हुँदै आएको सिराहाका प्रमुख जिल्ला अधिकारीले कारागार निरीक्षण गरेपछि नयाँ पत्रिकालाई बताए। के कारणले कारागारभित्र कुटपिट गरेको विषयमा अनुसन्धान भइरहेको र कुटपिट गर्ने चारजनालाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रजिअ पौडेलले बताए ।

सुरक्षा अधिकारीहरूले पटकपटक कारागारको अनुगमन गरे पनि कारागारभित्र अवैध गतिविधि हुने गरेको र कमजोर कैदीबन्दीमाथि कुटपिट पनि हुने गरेको स्रोतले छ । कारागारमा हुने आम्दानीको विषयले नै मुख्य रूपमा विवाद हुने गरेको र त्यसले झडप, कुटपिटको अवस्था सिर्जना हुने गरेको कारागार स्रोतले बताएको छ।

छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन
जिल्ला कारागार सिराहामा सेटिङकै आधारमा मदिरा र लागुऔषधको पहुँच कैदीबन्दीलाई भइरहेको विषय एक वर्षअघि सार्वजनिक भएको थियो। एक वर्षअघि ०८१ कात्तिक २५ मा कारागारभित्र मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गरेको सम्बन्धमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको र सो समितिले डेढ महिनाको समय लगाएर ९० पृष्ठको प्रतिवेदन जिल्ला सुरक्षा समितिलाई बुझाएको थियो। प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन। सिराहाका प्रमुख जिल्ला अधिकारी पौडेलले अब प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । 

जीर्ण कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
०२८ सालमा निर्माण गरिएको जिल्ला कारागार सिराहाको भवन जीर्ण भएको छ । भवन जीर्ण भए पनि कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन् ।
कारागारको क्षमता १५ महिला र १३५ पुरुष गरी १५० जनाको क्षमता भए पनि तीन गुणा बढी अर्थात् ४५९ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुबाेध महतोले बताए।