महिला शिक्षित भए भने परिवार शिक्षित हुन्छ भनेजस्तै महिला खुसी छन् भने परिवार नै खुसी हुन्छ । जे जति चाडपर्व आए पनि महिला संलग्न नभएसम्म रौनकता थपिँदैन । तीजको दर पनि महिला एक्लैले खाँदैनन् ।

पुरुषजस्तै काँधमा काँध मिलाएर घरपरिवार र अफिसको काम गर्ने महिलाले आफैं कमाएको पैसाले वर्षको दुई दिन रेस्टुरेन्टमा गएर मीठो खाँदा थुप्रै प्रश्न उठ्ने गर्छन् । त्यही ठाउँमा घरका पुरुषले अफिसबाट फर्किंदा एक ‘प्याला’ लगाएको भए पनि सामान्य मानिन्छ । हुन त महिलालाई हेर्ने दृष्टिकोण सबैको फरक नै छ र यसमा परिवर्तन ल्याउन असम्भव पनि छैन ।

महिनावारी बार्नु अनुचित हो भन्दै सभा गोष्ठीमा बोल्दै हिँड्ने महिलासमेत महिनावारी भएका बेला घरपरिवारका सदस्यलाई आफूले नजानीकन छोएमा माफ पाऊँ भन्दै पूजा गरेको देख्दा लाग्यो यो महिनावारीको डर त सुदूरपश्चिममा मात्र नभई देशैभर, पढेलेखेका जागिरे महिलामा समेत रहेछ । कलेज पढाउनेदेखि अफिसमा उपल्लो पोस्टमा काम गर्ने महिलामा पनि अछामका निरक्षर महिलाको मनमा हुने जस्तै डर रहेछ । यदि यस्तो नहुँदो हो त ऋषि पञ्चमीका दिन खोलानाला र नदीका मुहानमा पढेलेखेका महिलाको भीड नदेखिनुपर्ने ।

प्राकृतिक रूपमा हुने महिनावारीलाई कसरी पापको संज्ञा दिन सकिन्छ ? यदि महिनावारी पाप हो भने त प्राकृतिक रूपमै जन्मिएका सन्तान पनि त पापै हुन् । संसारका समस्त मानिस, जीव–जनावरको अस्तित्व बचाइराख्न नभई नहुने प्रजननको पहिलो खुट्किलोलाई पापको संज्ञा कसरी दिन मिल्छ ? यस्तो हो भने त प्रकृतिलाई नै चुनौती भएन र ?

गत पुसमा रुकुमपूर्वको एक गाउँमा डेरा गरी बस्ने १२ मा पढ्ने १७ वर्षीया किशोरी भूमे पर्वको रमझम हेर्न गएकी थिइन् । त्यही गाउँका दुई सन्तानका बाबुले उनलाई कान्छी श्रीमती बनाउने भन्दै तानेर लछारपछार पारे । तान्ने क्रममा किशोरीका लुगा च्यातिए । अगुवा र त्यहाँका जनप्रतिनिधिले नै पीडित किशोरीका परिवारलाई धम्की दिए । केही शिक्षित महिलाले सम्झाएर बल्ल उजुरी दिन तयार भएकी किशोरी दबाबमा परेर पछि हट्नुपर्‍यो । तानी विवाह र छोट्टी बस्ने प्रथाका नाममा गाउँघरमा हुने अशोभनीय, निन्दनीय तथा कानुनले सजाय हुन सक्ने घटनामा पनि दोषी उम्कने गरेका छन् । फितलो कानुन र मानिस चेतनशील नभइदिँदा ज्यानै सिरिंग पार्ने खालका घटना आँखै अगाडि हुँदा पनि हेरेर बस्नुपर्ने बाध्यता छ ।

तराईतिर दाइजोको चलन त्यस्तै छ । बाहुन–क्षेत्री समुदायमा समेत बेहुला–बेहुलीको मुख हेर्ने, सम्धी–सम्धिनी भेट्ने र त्यहाँ लत्ताकपडा, नगद, गरगहना लेनदेन गर्नुपर्ने बाध्यकारी चलन बढ्दो देखिन्छ । केही दिनअघि मधेशका एक युवाले बहिनीको बिहेमा त्यहाँको चलनअनुसार बाध्य भएर धेरै खर्च गर्नुपरेको सुनाए । पछि कुरा गर्दै जाँदा बहिनीको बिहेमा भएको खर्चको दुई गुना खर्च वा दाइजो आफ्नो बिहेमा असुल्ने उसले प्रस्ट रूपमा भने । एउटा जमातले यस्ता प्रथा, चलन ठीक छैनन् भने पनि यस्ता आवाज दबाउने जमात झन् ठूलो भइदिँदा समाजबाट कुरीति हट्न सकिरहेका छैनन् । कानुन भए पनि कडा रूपले कार्यान्वयनमा ल्याउन नसक्दा जसले जे गरे पनि ठीक भन्ने उखान चरितार्थ भएको देखिन्छ ।

दुई ठूला चाड दसैं र तिहार नेपालीको मुखमै आइपुगेका छन् । यी चाड मनाउन देश, विदेशबाट महिला, पुरुषहरू घर फर्किन्छन् । यदि महिला, किशोरीहरू महिनावारी भए भने उनीहरूका चाडपर्व निराशा र आँसुमा बित्ने गर्छन् । अघिपछि महिनावारी भयो भने राम्रो मान्ने तर चाडपर्वका बेला महिनावारी भयो भने भाग्यले ठगेको, अलच्छिन जस्ता संज्ञा दिँदा कति पीडा हुन्छ महिलाहरूमा ?

कुनै पनि चालचलन, रीति, नीतिनियम मान्छेको सुविधाका लागि र अनुशासनमा राख्न बनाइएका हुन्छन् । यदि यस्ता रीतिरिवाजले खुसी नै खोस्छ भने तिनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ ।

कान्तिपुरबाट।