एसइईको रिजल्ट आउनेबित्तिकै कति ग्रेड आयो, कुन विषय पढ्ने भनेर विद्यार्थी भौंतारिरहेका देखिन्छन् । कतिपय त साथीले जुन विषय पढ्यो, त्यही पढौं भनेर लाग्छन् भने कतिपय चाहनाअनुसारका विषय पढ्न कलेज चहार्न थाल्छन् । कुन विषय वा संकाय छान्ने भन्ने कुरा कति ग्रेड आयो भन्नेले निर्धारण गर्छ ।
विशेष गरी उच्च ग्रेड आउनेहरू विज्ञान, व्यवस्थापनलगायतका संकायमा भर्ना हुन्छन् भने कम ग्रेड आउने मानविकी, शिक्षाशास्त्र संकायमा भर्ना भएको देखिन्छ । पछिल्लो समय मानविकी हेपिएको संकायका रूपमा रहेको छ । विद्यार्थी संख्या पनि क्रमशः घट्दो छ । आफ्नो रुचिभन्दा परिवारको चाहनाअनुसार संकाय छनोट गर्ने विद्यार्थीको संख्या धेरै देखिन्छ । यसले पनि १२ पास गरेपछि संकाय परिवर्तन गर्नेहरू धेरै हुन्छन् । हालको अवस्था हेर्दा उच्च ग्रेड ल्याउने केहीले मानविकी र शिक्षाशास्त्र संकाय पढ्ने गरेका छन् ।
स्नातक तहमा समाजशास्त्र लिई पढ्ने विद्यार्थीको संख्या भने वर्षैपिच्छे कम देखिन्छ तर स्नातकोत्तरमा निराश भइहाल्नुपर्ने अवस्था छैन । अन्य जुनसुकै विषयमा स्नातक पढेकाले पनि सजिलै समाजशास्त्रमा मास्टर्स गर्न पाउने नियमले पनि यस्तो हुन सक्छ । यसका लागि कुनै कोटा छुट्याइएको छैन । यसैगरी, समाजशास्त्रको महत्त्व बुझेरै होला अन्य संकाय जस्तैः नर्सिङ, इन्जिनियरिङ, फरेस्ट्री, बीबीए, बीबीएम, बीसीए, कानुनलगायतमा कुनै न कुनै सेमेस्टरमा समाजशास्त्रको एक पेपर पढ्नुपर्ने गरी पाठ्यक्रम बनाइएको छ ।
समाज सामाजिक सम्बन्धको जालो हो भनी समाजशास्त्रीद्वय मेकाइवर र पेजले उल्लेख गर्नुभएको छ । हुन पनि हो हामी आफ्नो घर, कोठाको भित्तामा माकुराले जालो बनाएको देख्छौं तर सामाजिक सम्बन्धको जालोमा आफैं फसिरहेका छौं, योचाहिँ देख्दैनौं । त्यसैले त अरू विषय पढ्नेलाई अध्ययन अनुसन्धान गर्न विशेष ल्याबको आवश्यकता पर्छ तर समाजशास्त्रका विद्यार्थीको ल्याब नै समाज हो । जहाँजहाँ मानव समाज छ, त्यो सबै अध्ययन क्षेत्र हो ।
त्यसैले समाजशास्त्रको ल्याब खुला समाज नै हो । घर, पसल, अफिस, कार्यालय, चिया पसल, बस बिसौनी, स्कुल, कलेज जहाँ जुनसुकै ठाउँमा बसेर समाजशास्त्रीय अध्ययन गर्न सकिन्छ । समाजको समग्र विकास गर्न, मानव जीवनलाई सकारात्मक दिशामा लैजान, समाजमा भएका विभिन्न सामाजिक समस्याको अध्ययन गरी नराम्रा कुप्रथाको अन्त्य गर्न, राम्रा संस्कार संस्कृतिलाई जोगाउँदै परिमार्जन गर्दै लैजानमा पनि समाजशास्त्रको भूमिका अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
समाजशास्त्री चैतन्य मिश्रले कलम वा पेनभित्र पनि समाजशास्त्र छ, कपालको पनि समाजशास्त्र छ भनी विश्वविद्यालयको कक्षामा दिनुभएको उदाहरण अझै स्मरणमा छ । मानिसका हरेक व्यवहार र विचार पनि समाजकै उपज हो । मानिसको जीवन निजी हुँदैन । ऊसँग घरपरिवार, छरछिमेकी, आफन्त, नातागोता, साथीभाइ, स्कुल, कलेज, अफिसमा काम गर्ने साथीभाइ सबै जोडिएका हुन्छन् । व्यक्तिले गरेका राम्रा वा नराम्रा कार्यले समग्र समाजमै असर पार्ने गर्छ ।
हिजोआज समाजशास्त्रको क्षेत्र निकै फराकिलो बन्दै गएको छ । सामाजिक सेवा प्रदान गर्ने विभिन्न सरकारी र गैरसरकारी संघसंस्थामा पनि समाजशास्त्रीको माग बढ्दै गएको छ । सामाजिक समस्यालाई गहन रूपमा अध्ययन गर्न विशेष सैद्धान्तिक र व्यावहारिक ज्ञानको आवश्यकता पर्छ, त्यसको परिपूर्ति समाजशास्त्रले गर्छ । विभिन्न समाजशास्त्रीय सिद्धान्तले समाजको उद्भव, विकासक्रमका बारेमा क्रमैसँग अध्ययन गर्छ ।
समाज आधुनिकतातर्फ लम्केसँगै विभिन्न नयाँनयाँ समस्या पनि देखापर्न थालेका छन् । हालको सामाजिक समस्याको प्रकृति पनि फरक हुँदै गइरहेको छ । आदिम समाजको अवस्था हेर्दा मानिसको जीवन घुमन्तेफिरन्ते अवस्थामा केही काल बित्यो, पछि पशुपालन, कृषि हुँदै औद्योगिक समाजमा परिणत भयो । सुरुको समाजमा हालको जस्तो महिला र पुरुषबीच विभेद नभएको कुरा समाजशास्त्रीहरू उल्लेख गर्छन् । जब समाज विकसित हुँदै गयो, त्यति नै लैंगिक, जातीयजस्ता विभिन्न विभेद फराकिला हुँदै गए ।
सही सामाजिकीकरणको अभावले नै भ्रष्टाचार, हिनामिना, अनियमितता, कुशासन फैलिरहेको विज्ञहरू बताउँछन् । मानविकी संकायमा पढ्ने विद्यार्थीको संख्या कम हुनाले सरकारका विभिन्न प्रशासनिक तहमा रहेर काम गर्ने कर्मचारीको संख्यामा कमी देखिएको छ ।
मानव जीवनलाई सही दिशामा लैजान समाजशास्त्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समस्याहरूको अध्ययन गरी त्यसको न्यूनीकरण तथा निराकरणमा पनि यसको भूमिका छ । समाजको अध्ययन गर्ने विधा नै समाजशास्त्र हो । जीवन, मृत्यु, उद्विकास, भाषा, संस्कृति, रीतिथिति, संस्कार, धर्म, इत्यादिको गहन अध्ययन यसले गर्छ ।
स्नातक तहसम्म आइपुग्दा युवापुस्ता विदेश पलायन हुने सपना बोकेर हिँडेको हुन्छ । नेपालमै बसेर केही गरौं भन्ने भावना बोकेका युवा कमै भेटिन्छन् । आफ्ना बालबालिकालाई देश र माटोप्रति सकारात्मक बनाउन र देशमै धेरै अवसर रहेकोबारे सानैदेखि सामाजिकीकरण प्रक्रियाका विषयमा सिकाउनु जरुरी छ । समाजको स्वरूप, संस्कृति संस्कारको महत्त्व, चाडपर्वको सकारात्मकताबारे उदाहरणसहित बुझाउनुपर्छ । त्यसैले समग्र समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा समाजशास्त्रको अध्ययन र अध्यापन अहिले अपरिहार्य बनेको छ ।
– गाइसी ख्वप कलेज समाजशास्त्र विभागकी उपप्राध्यापक हुन् ।
कान्तिपुरबाट।