काठमाडौं, २४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ।
रास्वपाका प्रवक्ता मनीष झाले होटेलमा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएर प्रदेश प्रमुखले संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको आरोप लगाएका छन्।
कांग्रेससहित सात दलको आग्रहविपरीत प्रदेश प्रमुखले ठुलो दलको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनको त्यो कदमको चर्को विरोध भइरहेको छ।
त्यसबारे रास्वपा प्रवक्ता झाले भने, ‘स्वास्थ्य समस्या छ, उपचारका लागि काठमाडौं जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरीको सिमानाको एक होटेलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्।’
उनले प्रदेश प्रमुखको यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै विरोध जनाएका छन्।
(नयाँ पत्रिकाबाट)





















