सिरहा, २८ जेठ। सिरहाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकाका महिला समूहहरुले बजेट निर्माणको पूर्व सन्धयामा आफ्ना योजना सहितको माँग जनप्रतिनधीहरु समक्ष पेश गरेका छन्। शान्ति महिला समूह धनगढीमाईले मेयर शिवशंकर महतो र ज्योति महिला समूह गोलवजारले मेयर श्याम कुमार श्रेष्ठलाई आफ्नो योजना तथा बजेट सहितको माँग बुझाएका हुन्।

शान्ति महिला समूह धनगढीमाईले दलित, विपन्न, सीमान्तकृत तथा मुस्लिम महिलाहरुको शिप विकास, जनचेतना र आयआर्जनका लागि बजेट सहितका योजना पालिकाको १४ वटै वडा पालिकामा पेश गरेका छन्।
समूहले आगामी आर्थीक वर्ष २०८१/०८२ को निती तथा कार्यक्रममा बजेटसहित महिला हिंसा, लैङ्गिक हिंसा, जातीय विभेद, बाल विवाह, बहु विवाह, दाईजो प्रथा, परम्पारतग रुढीवादी, कुसंस्कार, कुप्रथा तथा विभेदका विरुद्ध सचेतना अभिवृद्धि सम्वन्धि तालिमको माँग गरेको छ।
महिला तथा सीमान्तकृत समूदायको आर्थिक, सामाजिक, अधिकार सुरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महिला समूहले चाउमिन बनाउने, सिलाई कटाई, मुढा बनाउने, व्यूटी पार्लर, बुटिक, साबुन, सर्फ, अगबत्ति बनाउने तालिम, ड्राइभिङ्ग, पत्रकारीता तालिम, प्रौढ शिक्षा तालिमा माँग गरेका छन्।
समूहद्वारा पेश गरिएको योजनामा किशोर किशोरीको नेतृत्व विकास तालिम, सल बनाउने, कम्प्यूटर तालिम, कृषि तालिमको समेत माँग गरिएको छ।
समूहले नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को वर्षिय नीति, कार्यक्रम तथा योजनामा समावेश गरी आवश्यक स्रोत विनियोजन गरिरिदिनहुन अनुरोध गरेको छ।
समूहले यस योजनाहरुका लागि १४ वटै वडाका तीन हजार दुईसयभन्दा बढी महिलाहरुलाई सहभागी गराउने र त्यसका लाग ६० लाखभन्दा बढी अनुमानित बजेट समेत प्रस्तुत गरेको छ।
त्यसैगरी, गोलबजारको ज्योति महिला समूहले पनि चारहजार दुई सय महिलाहरुलाई विभिन्न तालिम र सचेतना कार्यक्रममा सहभागी गराउने र त्यस्ता तालिम तथा सचेतना कार्यक्रमको लागि ६० लाख बजेट आवश्यक पर्ने योजना सहितको बजेट पेस गरेको छ।
धनगढीमाई नगरपालिकाका मेयर महतोले महिलाहरुले ल्याएका योजनाहरुको सरहाना गर्दै आगामी बजेटमा प्रस्तुत कार्यक्रमहरुको लागि आवश्यक बजेट विनीयोजन गर्ने र योजना कार्यन्वयनमा महिला समूहहरुलाई पनि सहभागी गराउने प्रतिबता जनाए।
त्यसैगरी, गोलबजार नगरपालिकाका मेय श्याम श्रेष्ठले पालिकाले यस्ता योजनाहरुमा काम गरिरहेको बताउँदै आउँदा दिनहरुमा ज्योति महिला समूहलाई नै थोरै भएपनि योजना सञ्चालनको जिम्मा दिने प्रतिबद्धता गरे।
दलित महिला केन्द्र नेपालले शान्ति महिला समूह धनगढीमाई र ज्योति महिला समूहको क्षमता अभिवृद्धि काममा सहयोग पुर्याउँदै आएको छ।
 
 


 
                     
                            
                                                            


 
         
         
        

















