यतिखेर नेकपा माओवादी केन्द्र २०७८ पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले तय गरेको एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो कार्यान्वयनको लागि अनुकूल वातावरण तयारी गर्न सचेत प्रयत्न गरिरहेको छ। महाधिवेशनलगत्तै सबैको ध्यान स्थानीय, प्रदेश र सङ्घको चुनावमा गयो।
सरकारको मोर्चाबाट गरिएका सकारात्मक पहलसँगै शिथिल हुन आँटेको साङ्गठानिक जीवनलाई गति थप्दै पार्टी पुनर्गठन र जनसम्बन्ध सुधारको दिशामा चार महिने रूपान्तरण अभियान सफल भएको छ। यस अन्तर्गत पार्टी सदस्यता नवीकरण, कमिटीहरूको गठन पुनर्गठन र परिचालनमा ऊर्जा लगाइयो। जन वर्गीय संगठन, जातीय र क्षेत्रीय मोर्चाहरू निर्माणमा ध्यान दिँदै समग्र संगठनहरूलाई न्यूनतम स्व:सञ्चालित हुने स्थितिमा पुर्याउन कोसिस जारी छ। पार्टी कमिटीहरूलाई चुस्तदुरुस्त बनाउने मात्र होइन कसरी प्रविधिमैत्री बन्ने र बनाउने भन्ने दिशामा पनि ध्यान आकृष्ट भएको छ। पार्टी पुनर्गठनको समग्र यात्रालाई खँदिलो पार्न विधान अधिवेशनले थप योगदान गर्ने नै छ।
चार महिने अभियानले टुटेको जन-सम्बन्ध जोड्ने प्रयत्न गरे पनि परिणाममुखी देखिएको छैन। तर यसले एकातिर समग्र वैचारिक प्रष्टतासहितको जनदिशा माग गरेको छ भने अर्कातिर नेतृत्वसँग त्यही स्तरको जीवनशैली, आचारण, व्यवहार, पारदर्शिता, जवाफदेहिता र संवेदनशीलता अपेक्षा गरेको छ। त्यति मात्र होइन जन-आधारित मुद्दाहरूमा जनदबाब, जनपरिचालन र जनसेवाका साथै आवश्यक पर्दा सङ्घर्ष गर्ने शृङ्खलाहरु पनि अघि बढेपछि मात्र जनविश्वास बढ्ने देखिन्छ।
पार्टी स्कुल नै किन?
यी समग्र कामलाई ठिक दिशा दिन पार्टी स्कुल यतिखेरको ज्यादै आधारभूत, महत्त्वपूर्ण र अपरिहार्य पक्ष हो। हाम्रो पार्टी जीवनमा सर्वाधिक छुटेको, उपेक्षा गरिएको र कार्ययोजनामा समावेश नगरिएको काम नै पार्टी स्कुल थियो। परिणामत: पार्टी जीवनमा देखिएका अध्ययनहीनता, छिपछिपे प्रवृत्ति, सामाजिक सञ्जालबाट सापट लिएर टुक्राटाक्री कुराबाट जीवन चलाउने तरिका, आत्मकेन्द्रित र व्यक्तिवादी सोचमा जाकियो। जसबाट अधैर्य, नकारात्मकता, अस्वस्थ प्रतिस्पर्धा, खुट्टा तान्ने प्रवृत्ति झाँगिएर गए।
अझ निम्न पुँजीजीवी र मध्यम वर्गको बाहुल्य रहेको हाम्रो कम्युनिस्ट आन्दोलनमा वैचारिक कामको अभावले थरीथरीका अवसरवादको जन्म भएको छ। आफूलाई धुरी बनाएर सोच्ने गलत प्रवृत्तिले कहिले दक्षिणपन्थको यात्रालाई पनि सहज ठान्छ भने कहिले उग्र-वामपन्थी रवैया अङ्गीकार गर्छ। यतिखेर वामपन्थलाई भित्रभित्रै सिध्याउने खतरनाक प्रकृतिको पुँजीवाद हाबी छ। विज्ञान र प्रविधिको माध्यमद्वारा यो पुँजीवादले नयाँ पुस्ताको बानी व्यहोरा निर्माण, सोच्ने तरिका र मानसिकतालाई भीषण रूपमा प्रभाव पारिरहेको छ।
लोकप्रियताको आवरणमा मार्क्सवाद, वर्गीय आन्दोलन र समाजवाद विरुद्ध नयाँ-नयाँ पात्र, प्रवृत्ति र पार्टीहरु खडा गरिँदैछन्। भू-राजनीतिक परिदृश्य पनि गम्भीर र जटिल हुँदै गएको छ। राष्ट्रियता र देशभक्तिपूर्ण भावना कमजोर पार्ने नयाँ नयाँ नाटकहरू मञ्चन भइरहेका छन्। जातीय र धार्मिक द्वन्द चर्काएर सामाजिक एकता र सद्भाव खलल पार्ने कुचेष्टाहरू पनि सतहमा देखिएका छन्।
सहकारी अभियान व्यक्तिगत स्वार्थ र पुँजीवादको सिकार भएको छ। लघुवित्तको नाममा सर्वसाधारण मानिसहरूलाई उठिबास गराइँदैछ। वित्तीय साम्राज्यवादका नयाँ-नयाँ रूप र अवतारहरू देखिन थालेका छन्। सामन्तवादमाथि विजय हासिल गरेर प्रगतिशील अन्तरवस्तुको संविधान बनाउँदै मुलुकलाई समाजवादको दिशामा लैजान करिब दुई दशकदेखि क्रियाशील वाम लोकतान्त्रिक शक्तिलाई विस्थापन गर्ने ग्रान्ड डिजाइन भएको आभास हुन्छ। यति मात्र होइन संविधानको अग्रगामी एजेन्डाको हत्या गरेर नेपालको राजनीतिलाई दक्षिणपन्थी र फासिस्ट बाटोमा लैजाने ठूलाठूला योजना बुनिएका छन्। यो बेला अरु कुनै समयभन्दा अझ बढी सही र वैज्ञानिक विचारको आवश्यकता परेको छ।
विचारको तागत
कम्युनिस्ट आन्दोलन मूलत: वैचारिक र सांस्कृतिक आन्दोलन हो। कम्युनिस्ट घोषणापत्र विचारकै प्रतीक थियो। मालेमा विचारकै विकास हो। संसारभरिका सर्वहारा आन्दोलन विचारकै उज्यालोबाट विकास भएका हुन्। कमरेड लेनिनको 'क्रान्तिकारी सिद्धान्त नभई क्रान्ति हुँदैन' भन्ने भनाइ यहाँ स्मरणीय छ। अक्टोबर क्रान्ति, चीन, क्युबा, भियतनाम, कोरियाका क्रान्तिहरू, ल्याटिन अमेरिकाका साम्राज्य विरोधी सङ्घर्षहरू विचारकै तागतमा भएका हुन्। क. पुष्पलालको अगुवाइमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विचारकै उपज हो।
उहाँ भन्नुहुन्थ्यो, 'सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ र व्यवहार बिनाको सिद्धान्त लंगडो हुन्छ।' नेपालको जनयुद्ध र माओवादी आन्दोलन विचारकै शक्ति र आलोकमा अघि बढेका थिए।
स्कुलिङ त्यही विचारको सत्यतालाई आत्मसात गर्ने र भौतिक शक्तिमा बदल्ने प्रक्रिया हो। सही विचार भए परिणाम राम्रो आउँछ। गलत विचारले विकृति विसंगतिकाे प्रदुषण फैलाउँछ। सही विचार कहाँबाट आउँछ? कमरेड माओले उत्पादनको सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक प्रयोगलाई जोड दिनुभएको छ। यसमा थप अध्ययन अनुसन्धान पनि भएका छन्। सही र वैज्ञानिक विचारसँग जिन्दगी बदल्ने तागत हुन्छ। सही विचार, अदम्य साहस र दृढ संकल्पले धेरै ठूला परिवर्तन ल्याउँछ, जुन नेपालको इतिहासले पनि प्रमाणित गरिसकेको छ। संसारमा भएका विभिन्न क्रान्तिकारी परिवर्तनहरुको पृष्ठभूमिमा क्रान्तिकारी विचारकै ऊर्जा थिए। गौतम बुद्धले मान्छेको दिमागमा जस्तो विचार हुन्छ कर्म र आचरण पनि त्यस्तै हुन्छ भन्नेमा जोड दिएको पाइन्छ। अज्ञान र अविश्वासलाई सही विचारले मात्र विस्थापित गर्छ।
मन र मस्तिष्कलाई मानवशक्तिको अनन्त स्रोत मानिन्छ। निरन्तरको चिन्तन र मननले दिमागलाई पनि प्रशिक्षित गरिरहेको हुन्छ भन्ने कुरा मनोविज्ञानले पुष्टि गरिसकेको छ। मस्तिष्कको कार्य प्रणाली यही तरिकाबाट निर्मित हुन्छ। इनपुट, प्रोसेसिङ र आउटपुटको प्रक्रियालाई विज्ञान र प्रविधिले अहिलेकाे दैनिक जीवनमा स्थापित नै गरेको देखिन्छ। यही विषयलाई ध्यान दिएर स्कुलिङको महत्वलाई मानव जातिले असाधारण महत्व दिएका छन्।
ल्याटिन अमेरिकी शिक्षाशास्त्री पाउलो फ्रेरेले 'शिक्षाले आशा जगाउने र साहस भर्ने काम गर्नुपर्छ' भनेका छन्।
पार्टीको स्वीकारोक्ति
२०७९ को चुनावको परिणाम नआउँदै २०७८ श्रावणमा सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा यदि चारवटा यथास्थितिवाद (विचारको गतिरोध; संगठनमा विधि, पद्धति र संस्थागत स्वरुपको अभाव; आफ्नो वर्ग र समुदाय परित्याग एवं गैर-सर्वहारा संस्कृतिको अवलम्बन) लाई भत्काइएन भने समाजवादी क्रान्तिको नेतृत्व कुरा त धेरै परको भयो राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न नसक्ने गरी पार्टी कमजोर हुनेछ भन्ने निष्कर्ष निकालेको थियो। त्यसो हुन नदिनको लागि एउटा मुख्य काम विचारको विकास नै हुनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो।
त्यही आवश्यकता बोध गरेर नै पार्टीले २०७८ पुस ११ गतेदेखि ऐतिहासिक आठौँ महाधिवेशन गर्यो। महाधिवेशनले पारित गरेकाे दस्ताबेजका धेरै ठाउँमा विचारको विकास गर्ने कुरालाई जोड दिइएको छ। महाधिवेशनले मोटो अर्थमा नेपाली क्रान्तिको रणनीति समाजवादी क्रान्ति हो भन्ने निष्कर्ष निकाल्यो तर सँगसँगै विचारको अरु थप विकास गर्न चाँडै विशेष महाधिवेशन गर्ने ठहर गरेको थियो।
विधान अधिवेशनपछि हाम्रो ध्यान तात्कालीक दैनिक जीवनका घटनासँगै विशेष महाधिवेशनमा केन्द्रित हुनेछ। यसका लागि राम्रो र सार्थक बहसको आवश्यकता छ। २१औं शताब्दीमा नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ? त्यसको मोडेल कस्तो हुन सक्छ? समाजवादी आन्दोलनका पराजयबाट हामीले सिकेका पाठहरू के के हुन्? प्रति-क्रान्ति गर्नलाई कोही पनि क्रान्तिको बाटोमा जाँदैन। यस्ता धेरै प्रश्नको उत्तर हामीले विशेष महाधिवेशनमा खोज्नै पर्छ।
स्कुल विभागको सक्रियता
विचारको यही महत्वलाई दृष्टि गरेर नै नेकपा माओवादी केन्द्रले पछिल्लो अवधिमा केन्द्रीय स्कुल विभाग गठन गर्यो। यस विभागले पार्टी स्कुल सञ्चालनका लागि पाठ्यक्रम, कार्यविधि र कार्ययोजना निर्माण गर्यो। । हाम्रो स्कुल विभागको संरचना चार तहको छ। केन्द्रीय, प्रादेशिक र स्थानीय स्कुल विभागको अतिरिक्त समकालीन मुद्दामा अनुसन्धान गर्ने पनि व्यवस्था गरिएको छ। (यद्यपि यो काम अगाडि बढेको छैन) तीन तहका स्कुल विभागहरूले आफ्नो काम सुरु गरेका छन्। केन्द्रीय विभागले एउटा पाँच दिने (४२ घण्टे) प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ भने सातवटा प्रदेशमा तीन दिने प्रशिक्षक उत्पादन कार्यक्रमहरू भएका छन्।
यसबीचमा प्रदेशहरूले पनि स्कुलिङ र विभिन्न प्रशिक्षणका कामहरू सम्पन्न गरेका छन्। जिल्लाहरू पनि प्रशिक्षक उत्पादन गर्ने प्रक्रियामा लागेका छन्। जनवर्गीय संगठनले पनि यसको महत्व पक्रन थालेका छन्। महिला, बुद्धिजीवी, शिक्षक र स्वास्थ्यकर्मीहरूले समकालीन र विषयगत प्रशिक्षणहरू चलाउन थालेका छन्। यहाँ एउटा उल्लेख गर्नैपर्ने विषय चाहिँ चार महिने रूपान्तरण अभियान अन्तर्गत पाँच घण्टे स्कुलिङ्ग कार्यक्रमहरू कतिपय पालिकाहरूले सम्पन्न गरेका छन्। यस्ता छोटा र एक दिने प्रशिक्षणको पाठ्यक्रम पनि केन्द्रीय विभागले तयार गरेको थियो। दुई वर्षको अनुभव हेर्दा विज्ञ प्रशिक्षकहरूमै आधारित भएर हामी अघि बढेका छौँ। रोस्टर तयार गर्ने, क्यालेन्डर बनाउने, पाठ्य-सामग्री तयार गर्ने र पाठ्यक्रम अनुरूप सन्दर्भ सामग्री बनाउने कुरा अपेक्षित रूपमा अघि बढेको छैन। पछिल्ला स्कुलिङका काम सम्पन्न गर्ने सन्दर्भमा केही व्यावहारिक सुझावहरू आएका छन्।
तीमध्ये पहिलो हो, पाठ्यक्रम सिद्धान्तमा आधारित भयो व्यवहारसँग गाँसिएको छैन। दुई, स्कुलिङले वर्तमान जिन्दगीका विषयलाई समेटेको छैन। तीन, स्कुलका कार्यक्रममा युवाहरूको सहभागिता न्यून छ। चार, आधारभूत तहमा सीपलाई पनि जोड दिनुपर्छ। पाँच, कक्षा कोठाको प्रशिक्षणलाई जीवन्त बनाउन दोहोरो अन्तक्रियात्मक शैली कम भैरहेको छ। छ, प्रशिक्षकहरुको प्रस्तुति परम्परागत भयाे, यसमा सूचना प्रविधिको आवश्यक प्रयोग हुन सकेन।
आगामी कार्ययोजना
माथि उल्लिखित चर्चा, परिचर्चा र घटनाक्रमले के स्पष्ट गरेको छ भने वर्तमान राजनैतिक उपलब्धिहरूको जगेर्ना गर्न, संविधानको कार्यान्वयन गर्न, भुमण्डलीकृत पुँजीवादको भण्डाफोर गर्न, मार्क्सवादको रक्षा र विकास गर्न, समाजवादको तयारी र पार्टीको पुनर्गठनका गर्न लागि पार्टी स्कुललाई सुव्यवस्थित गर्नु यतिखेरको असाधारण महत्वको काम हो। सबै तहबाट निरन्तर वैचारिक प्रशिक्षण सञ्चालन नगरेसम्म हामी पार्टीको यात्रालाई प्रगतिको पथमा लैजान सक्दैनौँ।
संगठनात्मक विकास र सुदृढीकरणका लागि मात्र होइन आम मानिसको खुसी र सम्पन्नताका लागि पनि पार्टी स्कुलिङको उपादेयता बढेको छ। स्वयं व्यक्ति र कार्यकर्ताको रूपान्तरणको लागि पनि वैचारिक प्रशिक्षण उच्च प्राथमिकताको विषय बन्नुपर्दछ। यो कार्यभारलाई दृष्टिगत गरी सबै तहका संगठनले नियमित र आवधिक स्कुलिङ्गकाे कार्य योजना तयार गरी कार्यान्वयनमा जानुपर्छ। पार्टी सदस्यको सैद्धान्तिक हैसियत माथि उठाउन र सदस्यहरूको पदोन्नति गर्न अनिवार्य स्कुलिङ मूल्याङ्कनको एउटा प्रमुख मापदण्ड बनाउनुपर्छ। स्कुलिङ गर्ने भनेर मात्र पुग्दैन, यसका लागि आफ्नै प्रशिक्षकहरू तयार गर्नुपर्छ।
केन्द्रीय स्कुलको लागि विज्ञहरू होलान् तर प्रदेश र स्थानीय तहको आवश्यकता पूरा गर्न समर्पित र सही दृष्टिकोण भएका सुयोग्य प्रशिक्षकहरूको आफ्नै टोली तयार नगरी हुन्न। उनीहरूको निरन्तरताको लागि व्यवस्थापनको कोणबाट पनि समस्या समाधान गरिनुपर्छ। निरन्तर वैचारिक प्रशिक्षणका लागि माथिदेखि तलसम्म व्यवस्थित पाठ्यक्रम हुन जरुरी छ। अहिलेको पाठ्यक्रमलाई नयाँ जमाना अनुसार शिक्षण सिकाइ पद्धतिलाई अन्तरक्रियात्मक बनाउनुपर्छ। हाम्रा कक्षाहरू भावनात्मक, दार्शनिक र सैद्धान्तिक भएकाले बोझिल मानिएका छन्। अब व्यवहारमा तिनीहरुलाई कसरी बोधगम्य,सहज र रोचक बनाउने?
नेपाली सन्दर्भमा रूपान्तरणका नयाँ मोडलहरू बनाउन जरुरी छ। पुराना पुस्ताले धेरै कुरा सिकेका छन् तर नयाँ पुस्तालाई अनुशासनबारे पनि जानकारी गराउनुपर्छ। प्रशिक्षणपछि निरन्तर सिकाइ, स्व:अध्ययन र त्यसको व्यवहारमा प्रयोगसँग गाँसिएको छ, छैन भनी मूल्याङ्कनको मापदण्ड बनाऔँ। नियमित मूल्याङ्कनसँगै फिडब्याक सम्बन्धित संयन्त्र पनि बनाउनुपर्छ।।
र, अन्त्यमा एकपटकको सिकाइले पुग्दैन, निरन्तर व्यवहारसँग त्यसलाई गाँस्नु पर्दछ। पार्टीभित्र भावनात्मक एकता ल्याउने, पार्टीलाई सुदृढ गर्ने तथा जनमुखी चिन्तन जगेर्ना गर्ने काम पनि स्कुलिङले गर्न सक्दछ। यसका साथै, २१औं शताब्दीमा देखिएका चुनौतीसँग मुकाबिला गर्न सक्ने जुझारु पार्टी निर्माणमा पनि स्कुलिङले रक्त सञ्चारको काम गर्दछ।
पोखरेल, नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा स्कुल विभाग प्रमुख हुन्।