उन्नत सापकोटा
काठमाडौं, २५ कार्तिक। नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका लागि १८ मार्च, २०२५ मा करिब पाँच अर्ब रुपैयाँको ठेक्का निकालेको थियो । त्यसको पाँच महिनापछि ३१ अगस्ट, २०२५ मा टेलिकमले आफ्नो नयाँ बिलिङ प्रणालीको ठेक्कामा भाग लिएका दुई कम्पनी मध्ये ह्वावे मात्रै प्राविधिक मूल्याङ्कनमा योग्य भएको भन्दै सूचना जारी गर्यो ।
प्राविधिक मूल्याङ्कनको क्रममा टेलिकमले विज्ञहरूको टेन्डर मूल्याङ्कन समिति गठन गरेको थियो, जसले झन्डै तीन महिना लगाएर सो विषयको मूल्याङ्कन गरेको थियो ।
ह्वेल क्लाउडले पेश गरेको प्रस्ताव टेलिकमले माग गरेअनुसार योग्य नभएको भन्दै प्राविधिक रूपमा अयोग्य ठहर गर्दै ह्वावेको आर्थिक प्रस्ताव (Price Bid) खोल्ने निर्णय गरिएको थियो । जसअनुसार टेलिकमले १५ सेप्टेम्बर, २०२५ मा ह्वावेको आर्थिक प्रस्ताव खोल्ने सूचना ३१ अगस्टमै सार्वजनिक गर्यो ।
तर, जेन-जी आन्दोलनका कारण देशको अवस्था सहज नभएको भन्दै यसअघि १५ सेप्टेम्बरमा खोल्ने भनिएको ह्वावेको आर्थिक प्रस्ताव २४ सेप्टेम्बरलाई सारिएको थियो ।
यसैबिच जेन-जी आन्दोलनले नेपालको सत्ता नै फेरिदियो ।
टेलिकमले पुन: २४ सेप्टेम्बरमा अर्को सूचना जारी गर्दै विशेष परिस्थितिका कारण टेलिकम बिलिङ प्रणाली खरिदको आर्थिक प्रस्ताव खोल्ने मिति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको भन्यो ।
त्यसको दुई दिन अघि २२ सेप्टेम्बरमा मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका थिए ।
उनले समेत टेलिकमको बिलिङ ठेक्कामा विवाद रहेको सुइँको पाएपछि प्रक्रिया होल्ड गर्न लगाउँदै मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गर्छन् । समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश तोकिएको छ ।
बिलिङ खरिदको बोलपत्र आह्वान गरेदेखि नै उक्त टेन्डर विवादित बन्न पुगेको हो । कुनै एउटा कम्पनीलाई ठेक्का सुम्पिने गरी स्वच्छ प्रतिस्पर्धा निस्तेज पारिएको भन्दै आलोचना भइरहेको छ । ठेक्का प्रक्रियामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई उल्लङ्घन गरेर प्रक्रिया अघि बढाइएको भन्दै प्रश्न उठिरहेका छन् ।
अदालतले टेलिकमको कोर नेटवर्कमा काम गरिरहेकै कम्पनीलाई बिलिङ प्रणालीको ठेक्का दिँदा स्वार्थको द्वन्द्व निम्तिने र सूचना सुरक्षाको दृष्टिकोणबाट कोर नेटवर्क र बिलिङ प्रणाली एउटै आपूर्तिकर्ताबाट गराउँदा उचित नहुने बताइसकेको छ ।
त्यसैगरी, योग्यताको नाममा टेलिकमको बिलिङ प्रणाली ठेक्काको प्राविधिक मूल्याङ्कनमा ह्वावे छानिएकाले यसले अन्य विक्रेताहरूलाई निषेध (भेन्डर लक-इन) गर्ने भन्दै प्रश्न उठेको छ । टेलिकमले सन् २०११ देखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ प्रणाली चलाइरहेको छ ।
तीन वर्षका लागि गरिएको ठेक्का सम्झौता सकिएपछि नयाँ बोलपत्र आह्वान गर्नुपर्नेमा पटकपटक उही कम्पनीलाई बिलिङ प्रणाली मर्मतसम्भारको नाममा म्याद थपिँदै लगिएको छ । एसिया इन्फोलाई नै पटकपटक म्याद थप्दै काम सुम्पिएको प्रक्रियामा अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा अदालतमा विचाराधीन छ । एसिया इन्फोको बिलिङ प्रणाली पुरानो भएकाले टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको छ । जसलाई लिएर टेलिकमको आलोचना हुने गरेको छ ।
कोर नेटवर्क र बिलिङ प्रणाली के हो ?
टेलिकम कम्पनीहरूको नेटवर्कमा कोर नेटवर्क र बिलिङ प्रणालीको आ-आफ्नै महत्त्व हुन्छन् । कोर नेटवर्क दूरसञ्चार नेटवर्कको मुख्य प्रणाली हो । यसले सम्पूर्ण भ्वाइस कल र डेटा प्याकेज राउटिङ, स्विचिङ, गतिशीलता, रोमिङ आदि नियन्त्रण गर्छ । यसले टेलिकम नेटवर्कका सबै भ्वाइस कल सम्हाल्छ र बिलिङ प्रणालीलाई शुल्क लगाएर चार्जिङ अनुरोध पठाउँछ । कलको विस्तृत विवरण (कल डिटेल रेकर्ड सीडीआर) कोर नेटवर्कमा हुन्छ ।
यस्तै, बिलिङलाई कुनै पनि टेलिकम अपरेटरहरुलाई शुल्क तोकेर उठाउन र दूरसञ्चार नेटवर्कको प्रयोगका लागि इन्भ्वाइस (बिलिङ) तयार गराउन जिम्मेवार प्रणाली मानिन्छ । बिलिङ प्रणाली तत्कालको समयमा (रियल टाइम) जस्तै अनलाइन चार्जिङ प्रणाली (ओसीएस) वा तत्काल बाहेकको (नन-रियल टाइम) समयमा जस्तै स्वचालित अफलाइन बिलिङ प्रणाली हुन सक्छ । बिलिङ प्रणालीकै सहयोगमा सेवा प्रदायकहरूले प्याकेजहरू तयार गर्छन् ।
सर्वोच्चको निर्देशनात्मक आदेशमा के छ ?
अधिवक्ता रीता कार्कीले टेलिकमसहितलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले १० सेप्टेम्बर, २०२४ मा फैसला सुनाएको थियो । दायर रिट खारेज भएपनि न्यायाधीशद्वय डा नहकुल सुवेदी र महेश शर्मा पौडेलले दुई बुँदामा निर्देशनात्मक आदेश दिएका थिए ।
फैसला भएको केही महिनापछि सार्वजनिक भएको फैसलाको पूर्णपाठमा सर्वोच्चले नेटवर्कमा रहेको व्यक्तिको वैयक्तिक सूचना तथा तथ्याङ्कमा पहुँच नपुग्ने र बिलिङ प्रणाली खरिद प्रक्रियामा स्वार्थको द्वन्द्व नहुने स्थिति सुनिश्चित गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
निर्देशनात्मक आदेशको व्यहोरा
(क) बिलिङ प्रणाली (Billing System) को खरिद तथा जडान कार्यमा मौलिक हकको संरक्षणको सुनिश्चितता गर्नुपर्ने हुँदा सोका लागि बिलिङ प्रणाली (Billing System) को उत्पादक वा बिक्रेता कम्पनीको मुख्य सञ्चार प्रणाली (Network) अन्तर्गत रहनुपर्ने व्यक्तिको वैयक्तिक सूचना तथा तथ्याङ्कमा पहुँच नपुग्ने अवस्थाको सुनिश्चतता तथा यस सम्बन्धी खरिद प्रक्रियामा स्वार्थको द्वन्द्व (Conflict of Interest) नहुने अवस्थाको सुनिश्चितत गर्नू ।
(ख) कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र मितव्ययी समेत हुनुपर्ने हुन्छ । लामोसमयसम्म अवरुद्ध खरिद प्रक्रियाको पुन: सुरुवात गर्दा कम्पनीको सञ्चालक समितिले कम्पनीको हितलाई अधिकतम ख्याल गरी खरिद प्रकृया अघि बढाउने भनी निर्णय गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कम्पनीलाई थप आर्थिक व्ययभार नपर्ने गरी खरिद प्रक्रिया सम्पन्न गर्नु भनी निर्देशन दिएको समेतका सन्दर्भमा प्रस्तुत खरिद प्रक्रियामा बोलपत्रका शर्तहरुको व्याख्या गर्दा कम्पनीको अधिकतम हितलाई ध्यानमा राखी प्रत्यर्थी कम्पनीलाई थप आर्थिक व्ययभार नपर्ने गरी सम्झौताको व्याख्या तथा कार्यान्वयन गर्नु गराउनू ।
कोर नेटवर्क र बिलिङ प्रणालीमा एउटै भेन्डर उचित कि अनुचित ?
नेपाल टेलिकमको कोर नेटवर्क अहिले ह्वावेले व्यवस्थापन गरिरहँदा बिलिङ प्रणालीमा एसिया इन्फो छ । तर, पछिल्लो ठेक्काको प्राविधिक मूल्याङ्कनमा ह्वावे मात्रै छानिएको छ ।
प्राविधिक मूल्याङ्कनको नतिजा
यदि ठेक्का अघि बढेर आर्थिक मूल्याङ्कनमा समेत ह्वावे छानियो भने कोर नेटवर्क र बिलिङ प्रणालीमा एउटै आपूर्तिकर्ता (भेन्डर) हुनेछ । तर, यसो भए सर्वोच्च अदालतको आदेश विपरीत हुने भन्दै आलोचना भइरहेको छ । यसले ग्राहकको सूचना सुरक्षा जोखिममा पर्ने दाबी गरिएको छ ।
यसै विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरण र परामर्शदाताहरूले रायसमेत दिएका छन् । त्रिभुवन विश्वविद्यालयको पुल्चोक क्याम्पसअन्तर्गतको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका उपप्राध्यापक डा गणेश गौतमले सूचना सुरक्षाको दृष्टिकोणबाट कोर नेटवर्क र बिलिङ प्रणाली एउटै आपूर्तिकर्ताबाट लागु गर्न उचित हुन्छ कि हुँदैन भन्ने बारे राय बुझाएका छन् । गौतमले २७ जुन २०२५ मा उक्त राय बुझाएका हुन् ।
रायको ब्यहोरा
गौतमले कोर नेटवर्क र बिलिङ प्रणालीको एउटै आपूर्तिकर्ता हुँदा केही झिनो लाभहरू भएतापनि डेटाको सुरक्षा, मर्मतसम्भार, पारदर्शिता, प्रणालीहरूमा समस्या आउँदा त्यसको पहिचान र प्रणालीहरूमा हुने एकाधिकारको दृष्टिकोणबाट कोर नेटवर्क र बिलिङ प्रणालीमा छुट्टाछुट्टै आपूर्तिकर्ता हुँदा नेपाल टेलिकमलाई उत्तम हुने निष्कर्षसहितको राय दिएका छन् ।
गौतमले एउटै आपूर्तिकर्ताले बिलिङ प्रणाली र कोर नेटवर्क दुवैमा पहुँच पाउँदा डेटाको सुरक्षाको दृष्टिकोणबाट जोखिमपूर्ण अवस्था आउने उल्लेख गरेका छन् । दुवै प्रणालीकै स्ट्यान्डर्ड र प्रोटोकलहरूको पालना गर्ने र प्रणालीहरू एक-अर्कासँग अन्तरकार्य गर्न सक्ने भएकाले निम्न आधारहरू विचार गर्न आवश्यक रहेको सुझाएका छन् ।
१. यदि कुनै तरिकाबाट एउटा प्रणालीमा पहुँच प्राप्त भयो भने, सोही तरिका प्रयोग गरेर अर्को प्रणालीको सुरक्षा भङ्ग गर्न सकिन्छ । तर, जब यी दुई प्रणालीहरू फरक-फरक आपूर्तिकर्ताद्वारा विकसित भएका हुन्छन्, दुवैमा एउटै सुरक्षा सम्बन्धी कमजोरी हुने सम्भावना निकै न्यून हुन्छ ।
२. जब दुवै प्रणाली एउटै आपूर्तिकर्ताको हुन्छ र कुनै एक प्रणाली प्राविधिक/विशेष कारणले अवरुद्ध (डाउन) भयो भने, अर्को प्रणाली पनि उही कारणले डाउन हुन सक्छ । बहुआपूर्तिकर्ता हुँदा यो समस्या आउने न्यून सम्भावना हुन्छ ।
३. दुवै प्रणाली एउटै आपूर्तिकर्ताबाट प्रदान गरिएको अवस्थामा प्रणालीको सञ्चालन र मर्मतसम्भार एकै साथ प्रभावित हुन सक्छ । यस्तो जोखिमलाई न्यून पार्न आपूर्तिकर्ताको विविधिकरणले महत्त्वपूर्ण भूमिका खेल्छ ।
तर, दुवै प्रणालीका लागि एउटै भेन्डर रहँदा पनि केही फाइदा पुग्ने गौतमले उल्लेख गरेका छन् ।
१. एकल आपूर्तिकर्ताबाट सम्पूर्ण प्रणालीहरू प्राविधिकरूपमा खरिद गर्न र कार्यान्वयन गर्न सजिलो हुनेछ ।
२. धेरैको सट्टा एउटै आपूर्तिकर्तासँग काम गर्न सजिलो हुन्छ ।
नेपालमा एउटै भेन्डरको कोर नेटवर्क र बिलिङ प्रणाली लिइयो भने स्वार्थको द्वन्द्व र एकाधिकारको चुनौती देखापर्न सक्ने र यसले पारदर्शीताको कमी, पूर्वाग्रही निर्णय र प्रतिस्पर्धालाई सीमित पार्न सक्ने जोखिम गौतमको रायमा औँल्याइएको छ । यसले भेन्डर लक-इनको जोखिम बढ्न सक्नेबारे उल्लेख छ ।
हुनत: थर्ड जेनेरेसन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी), अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) वा युरोपेली दूरसञ्चार मानक संस्था (ईटीएसआई) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले कोर नेटवर्क र बिलिङ प्रणालीमा एउटै भेन्डर प्रयोग नगर्नु भनेर नभनेपनि डेटा सुरक्षाको दृष्टिकोणबाट जोखिमपूर्ण हुन सक्ने औँल्याएको गौतमले आफ्नो रायमा लेखेका छन् ।
अन्तर्राष्ट्रिय स्ट्यान्डर्डहरूले कोर नेटवर्क र बिजिनेस सपोर्ट प्रणाली आर्किटेक्चरलाई नियमन गर्ने गरेको छ । त्यसका लागि तेस्रो पक्षमार्फत नियमन गर्ने विभिन्न फ्रेमवर्क प्रचलनमा छन् । त्यसमध्ये एक हो, थ्रीजीपीपी (3GPP) । यसले प्रणालीको सुरक्षित रोल आउटका लागि नेटवर्क फङ्सन, सुरक्षा संयन्त्रलाई व्याख्या गर्छ ।
अर्को भनेको टीएम फोरम ओडीए हो । यसले बिजिनेस सपोर्ट प्रणाली/अपरेसन्स सपोर्ट प्रणाली आर्किटेक्चरका लागि विभिन्न दिशानिर्देश उपलब्ध गराउन सघाउँछ । यसले अपरेटरहरूले प्रयोग गर्ने प्रणालीको एपीआई गभर्नेन्स सुरक्षित बनाउँदै परिचालन विश्वसनीयतालाई वृद्धि गर्न सहयोग गर्छ ।
तेस्रो भनेको आईएसओ/आईईसी २७००१ र निस्ट एसपी ८०० सिरिज हो । यसले उक्त प्रणालीको सुरक्षित रिकभरी, सुरक्षित पूर्वाधारलगायतका पक्षमा दह्रो भएको प्रमाणीकरण गर्छ । एकै भेन्डर हुँदा नियमनका यी उपाय अवलम्बन गर्ने गरिएको छ ।
टेलिकमलाई नियामक दूरसञ्चार प्राधिकरणले के भनेको थियो ?
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १९ मे, २०२१ मा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षलाई सम्बोधन गर्दै पत्र पठाएका थिए । अधिकारीले टेलिकमको कोर नेटवर्क उत्पादन गर्ने कम्पनी (ह्वावे) सँग आफ्नै बिलिङ सोलुसन पनि रहेकाले त्यस विषयमा आवश्यक परामर्शका लागि प्राधिकरणलाई पत्राचार गरेका थिए ।
टेलिकमले ग्राहक सुरक्षा, स्वार्थको द्वन्द्वको सम्भावनालगायतका ६ विषयमा प्राधिकरणसँग राय मागेको थियो । पत्रको जवाफ प्राधिकरणले ३१ मे, २०२१ मा पठाएको थियो ।
बिलिङ खरिद सम्बन्धमा एनटीएको रायप्राधिकरणले छिमेको राष्ट्रहरूमा रहेको व्यक्तिगत डेटा सुरक्षाको व्यवस्था समेत अध्ययन गरी राष्ट्र बाहिर, नेपालको कानुनी दायरा बाहिर हुने गरी बिलिङ सोलुसन राख्न नहुने सुझाव दिएको थियो ।
यद्यपि, क्लाउड कम्प्युटिङको लाभलाई मध्यनजर गरी व्यक्तिगत सूचनासँग सम्बन्धित डेटाको लागि क्लाउड कम्प्युटिङ सेवा प्रदायकले नेपालको सीमाना भित्र डेटा राख्नुपर्ने र Due process पुरा गरेर नेपालका Law enforcement agencies को पहुँच हुनुपर्ने गरी सेवा प्रदायकसँग सम्झौता गरी डेटा सुरक्षाको प्रबन्ध गर्नुपर्ने राय टेलिकमलाई दिएको थियो ।
दोस्रो बुँदामा प्राधिकरणले कोर नेटवर्क र बिलिङ प्रणाली उत्पादक एउटै भएमा बिलिङ डेटा अनधिकृत रूपमा हेरफेर हुन सक्छ वा सक्दैन भन्नेमा मध्यनजर गरी सोसम्बन्धी सर्तहरू सम्झौतामा राखी स्वार्थको द्वन्द्व नहुने प्रबन्ध गर्न सल्लाह टेलिकमलाई दिएको थियो ।
त्यसैगरी, टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदको टेन्डर सम्बन्धमा ग्लोबल टेल्को कन्सल्ट (जीटीसी)सँग समेत राय माग गरेको थियो । १९ मे, २०२१ मा टेलिकमले जीटीसीसँग राय लिएको थियो । जीटीसीले २५ मे, २०२१ मा टेलिकमलाई जवाफ पठाएको थियो ।
परामर्शदाताले दिएको राय
जीटीसीले कोर नेटवर्क उपकरण र बिलिङ प्रणाली एउटै उत्पादकको भए सिधै स्वार्थको द्वन्द्व निम्तिन सक्ने स्पष्ट रूपमा भनेको छ । आउँदै गरेका आईओटी, फाइभजीलगायतका प्रविधिका लागि यी दुई प्रणाली फरक हुनु उपयुक्त हुने सुझाव जीटीसीले दिएको छ । यदि कोर नेटवर्क र बिलिङ प्रणालीमा फरक उत्पादक भए अडिट गर्न सहज हुने तर्क जीटीसीको छ ।
जीटीसीले डेटा सुरक्षाको सवालमा पनि टेलिकमलाई राय दिएको छ । क्लाउड सेवा विदेशमा भए त्यस देशमा डेटा सुरक्षा तथा गोपनीयतासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन भएको हुनुपर्ने सुझाव टेलिकमलाई दिएको छ । यदि नेपालमै रहेको खण्डमा प्रकोप रिकभरी साइटसमेत निर्माण गर्न सल्लाह दिएको देखिन्छ ।
टेलिकमको कोर नेटवर्कमा ह्वावेले दिइरहेका सेवा
१. टुजी कोर: 7CH एमएससी (मोबाइल स्विचिङ सेन्टर), एचएलआर (होम लोकेसन रजिस्टर), भीएलआर (भिजिटर लोकेसन रजिस्टर), एसजीएसएन (सर्भिङ जीपीआरएस सपोर्ट नोड)
२. थ्रीजी कोर: M 7CM एमएससी (मोबाइल स्विचिङ सेन्टर), जीएमएससी (गेटवे मोबाइल स्विचिङ सेन्टर)
३. पीओआई (पोइन्ट अफ इन्टरकनेक्सन): अरू टेलिकम अपरेटरसँग कनेक्ट गर्ने कोर सेवा यही हो ।
४. एफटीटीएच कोर: ल्यान्डलाइन कलको भ्वाइस कोरको रूपमा आईएमएस (आईपी मल्टिमिडिया सबसिस्टम) प्रयोग गर्ने ।
ह्वावेले टेलिकममा दिइरहेका कोर नेटवर्कसम्बन्धी यिनै सेवाका कारण बिलिङ प्रणालीको काम पनि पाए स्वार्थको द्वन्द्व निम्तिन सक्ने राय नियामकदेखि परामर्शदाताहरूले दिएका हुन् ।
टेलिकमको कोर नेटवर्कमा जेडटीईले प्रदान गरिरहेको सेवा
फोरजी कोर: ईपीसी (इभल्ब्ड प्याकेट कोर) का लागि आईएमएस (आईपी मल्टिमिडिया सबसिस्टम)
फेजआउट भइसकेको प्रोसेसर स्पेसिफिकेसनमा
टेलिकमले फेजआउट हुने सूचना जारी भइसकेको प्रोसेसरलाई समावेश गर्दै बिलिङको स्पेसिफिकेसन प्रकाशित गरेको देखिन्छ । जसका कारण बिलिङ प्रणाली खरिद गर्न निकालेको टेन्डरको स्पेसिफिकेसनमा चलखेलको आशङ्का गरिएको छ ।
सर्भर, ओएस र नेटवर्क उपरकणसम्बन्धी स्पेसिफिकेसनमा फेज आउट भइसकेको प्रोसेसरलाई मान्यता दिइएको आरोप छ ।
स्पेसिफिकेसन
टेलिकमले १८ मार्च, २०२५ निकालेको नयाँ बिलिङ प्रणाली खरिदको बिड डकुमेन्टको १२.१४ मा सर्भर, ओएस र नेटवर्क उपकरणको स्पेसिफिकेसन तोकिएको छ । जसअन्तर्गत Intel Xeon Platinum 8000 series वा पछिल्लो प्रोसेसर हुनुपर्ने सर्त तोकिएको छ ।
तर, ठेक्का निकाल्नु दुई महिनाअघि १४ जनवरी, २०२५ मा नै अमेरिकी बहुराष्ट्रिय प्रविधिसम्बन्धी कम्पनी इन्टेलले प्रोडक्ट परिवर्तनसम्बन्धी जानकारी सार्वजनिक गरेको छ । जसमा Intel Xeon Platinum 8000 series प्रोसेसरको ‘End of Date’ तोकिएको छ ।
फेजआउट हुने चरणमा पुगेका प्रोसेसरलाई किन बिड डकुमेन्टमा समावेश गरियो भन्ने आशङ्का उत्पन्न भएको छ । हुनत: टेलिकमले Intel Xeon Platinum 8000 series ‘Or Latest’ भन्ने शब्द रहेकाले ती प्रोसेसर प्रयोग हुन सक्ने हो वा होइन, त्यसको मूल्याङ्कन हुन जरुरी देखिन्छ ।
प्रभावित हुने इन्टेलका प्रोसेसरहरू
प्रभावित हुने इन्टेलका प्रोसेसरको सूचि
अन्य देशमा कस्तो छ त अभ्यास ?
छिमेकी भारतसहितका देशका टेलिकम अपरेटरहरूले बिलिङ प्रणाली र कोर नेटवर्कमा फरक फरक भेन्डर नियुक्त गरेर काम गराइरहेका छन् । एनसेल आजियाटा हुँदा कम्पनीको बिलिङ र कोर सिस्टम दुवै ह्वावेकै थियो । तर सन् २०१८ सम्म रिक्वेस्ट फर प्रपोजल (आरएफपी) मार्फत ह्वावेको बिलिङ सिस्टमलाई जेडटीईबाट रिप्लेस (प्रतिस्थापन) गरिएको थियो ।
केही देशहरूले भने एउटै भेन्डरमार्फत दुवै प्रणाली सञ्चालन गरिरहेको देखिन्छ, तर ती उदाहरणहरूमा भेन्डरहरूसँग विशेष स्वार्थ-सम्बन्ध जोडिएको देखिन्छ । तीन वर्ष अघि श्रीलङ्का इतिहासकै गहिरो आर्थिक सङ्कटमा फसेको थियो । ठुलो ऋणको भारमा फसेको श्रीलङ्कालाई उद्दार गर्न चीनले आर्थिक सहायता अहिले पनि निरन्तर दिइरहेको छ ।
यति मात्र होइन, मोबिटेललाई लामो समयदेखि चीन तथा ह्वावेको सहयोग रहँदै आएको छ । सन् २००८ मा मोबिटेलले ४५ करोड अमेरिकी डलर चाइनिज एक्सपोर्ट क्रेडिट एजेन्सी (ईसीए) बाट ऋण सुविधा समेत पाएको थियो । उक्त रकम ह्वावे टेक्नोलोजिजको अग्रसरतामा मोबिटेलको सेवा विस्तार गर्ने कार्यमा खर्चिने सर्त राखिएको थियो ।
यही अवस्थामा त्यहाँको मोबाइल अपरेटर मोबिटेलमा चिनियाँ दूरसञ्चार उपकरण निर्माता ह्वावेकै कोर नेटवर्क र बिलिङ प्रणाली सञ्चालन भइरहेको छ । योसँगै बङ्गलादेशमा रोबी ब्राण्डमा टेलिकम कम्पनी चलाइरहेको आजियाटा बङ्गलादेश लिमिटेडले सन् २०१० मै चाइना डेभलपमेन्ट बैङ्क र ह्वावे टेक्नोलोजिज (बङ्गलादेश) लिमिटेडसँग टेलिकम नेटवर्क विस्तार गर्न सम्झौता गरेको थियो । जसको मूल्य १० करोड अमेरिकी डलर रहेको थियो ।
ह्वावेबाट उपकरण खरिद गर्ने गरी सहुलियत ऋण रोबीले पाएको थियो । जसका कारण यहाँ पनि एउटै भेन्डरले कोर नेटवर्क र बिलिङ प्रणालीमा काम गरिरहेको छ ।
एउटै भेन्डर हुँदा के समस्या आउँछ ?
कोर नेटवर्क र बिलिङ प्रणालीमा एउटै भेन्डर हुँदा जोखिम उच्च हुने र दुवै प्रणालीमा पहुँच रहँदा डेटा म्यानिपुलेट हुने सम्भावना बढ्ने चेतावनी प्राविधिकहरूले दिएका छन् । दुवै प्रणाली एउटै कम्पनीले व्यवस्थापन गर्दा जवाफदेहिता नहुने भएकाले कुनै बदमासी गरिहाले ठम्याउन टेलिकम अपरेटरलाई निकै गाह्रो पर्ने हुन्छ । टेलिकमकै एक पूर्वप्रबन्ध निर्देशकले एउटै भेन्डरले काम गर्दा काममा निष्पक्षता हराउने जोखिम उच्च हुने बताए ।
“उसले त कसैप्रति जवाफदेही नै हुन परेन । बिलिङ र कोर नेटवर्क भनेका एकअर्कालाई चेक एण्ड ब्यालेन्समा राख्ने सक्ने संयन्त्र हुन् । एउटैले पायो भने त भोलि जे पनि हुन सक्छ । त्यसबारे टेलिकमले चालै नपाउन पनि सक्छ । कल डिटेल रिपोर्ट (सीडीआर) डेटामा छेडखानी हुन सक्ने जोखिम उत्तिकै रहन्छ । त्यसैले सकभर फरक भेन्डर नियुक्ति गर्दा नै टेलिकमलाई फाइदा पुग्छ,” ती पूर्वप्रबन्ध निर्देशकले टेकपानासँग भने ।
कोर नेटवर्क र बिलिङ प्रणालीमा एउटै भेन्डर हुँदा विभिन्न माध्यमबाट अपरेटर म्यानिपुलेट हुन सक्छ । डेटाबेसमा सिधै पहुँच पुग्ने भएकाले डेटा वा सीडीआर नै हेरफेर हुन सक्ने जोखिम बढ्छ । दुवै प्रणाली एकै भेन्डरमार्फत गरियो भने डेटा हेरफेर भएको कुनै रेकर्ड नबच्न सक्छ ।
नेटवर्क एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसेस) नै म्यानिपुलेसन हुन सक्ने जोखिम पनि बढ्न सक्छ । यसका साथै सबैभन्दा महत्त्वपूर्ण भनेको भेन्डर लक-इनको सम्भावना अधिक बढ्छ । कोर नेटवर्क र बिलिङ प्रणाली एउटै भेन्डरबाट गर्दा तेस्रो पक्ष संलग्न हुनै सक्दैन ।
मुख्य चुनौती भनेको तेस्रो पक्षको प्रणाली अपरेटरको नेटवर्कमा इन्टिग्रेट नै हुन सक्दैन । यदि गर्न परेमा अपरेटरलाई ठुलो आर्थिक भार पर्न सक्छ । जसका कारण टेलिकम अपरेटरले खुला रूपमा काम गर्न सक्दैन । यसका साथै भेन्डरले डेटाको ओरिजिन, ट्रान्समिसन र डेस्टिनेसनमाथि नियन्त्रण जमाउँछ । सबै प्रणालीलाई भेन्डरले आफूअनुकूल हेरफेर गराइदिन सक्छ । तेस्रो पक्षले गर्ने सिस्टम अडिट वा अरू नियमनका उपायले मात्रै पारदर्शीता ल्याउन सक्छ ।
नेपाल टेलिकमले अहिले ‘कल लस मनिटरिङ’ का लागि ‘इन्टिग्रेटेड मल्टि-प्रोटोकल मनिटरिङ सिस्टम (आईएमएमएस) प्रयोग गरिरहेको छ । यसको प्रयोगले टेलिकमले दिने सेवाको गुणस्तर (QoS), ट्राफिकको अवस्था र पर्फर्मेन्स पहिल्याउन सक्छ । आईएमएमएसले एकभन्दा बढी नेटवर्क प्रोटोकल (SS7, SIGTRAN, SIP, Diameter, GTP) निगरानी गर्न सक्छ ।
तर, यसले बिलिङको शुद्धता (accuracy) माथि निगरानी भने गर्न सक्दैन । यदि एउटै भेन्डरमाथि टेलिकम निर्भर पर्नुपरेमा आईएमएमएस पनि त्यही भेन्डरले उपलब्ध गराउने डेटामा निर्भर हुनुपर्छ । भेन्डरले जेसम्म पहुँच दिन्छ, त्यसमै चित्त बुझाउनुपर्छ । यदि भेन्डरले म्यानिपुलेट गरेर डेटा उपलब्ध गराएमा सही तथ्याङ्क अपरेटरले पाउनै सक्दैन । एउटै भेन्डर हुँदा अपरेटरले दिने सेवाको बिलिङ सही ढङ्गले भए/नभएको पहिल्याउनै सक्दैन ।
उदाहरणका लागि अपरेटरको प्रणालीमा भ्वाइस कल भएको देखिन्छ तर, त्यसको बिलिङ सही शुल्कमा भएको छ कि छैन भनेर अपरेटरले पुष्टि गर्न सक्दैन। यसले अपरेटरको आम्दानीमा असर पार्न सक्छ। यी समस्याहरू आउन सक्ने भएकाले फरक फरक भेन्डरमार्फत कोर नेटवर्क र बिलिङ प्रणाली अघि बढाउनु उचित हुन सक्छ।
टेकपानाबाट)



















