राजनीतिले जनतालाई भविष्यप्रति आशावादी बनाउन सक्नुपर्छ । विगतमा ठूलठूला क्रान्ति र आन्दोलनबाट स्थापित नेपालका राजनीतिक पार्टीहरूले जनतामा आशावादी भविष्य देखाउन सकिरहेका छैनन् । २००३ सालमा स्थापित नेपाली कांग्रेस होस् वा २००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टी वा त्यसपछि गठन भएका धेरैजसो पार्टी, सबैले तानाशाही र निरंकुश शासन व्यवस्थाविरुद्ध भीषण संघर्ष गरेको इतिहास छ ।

तिनै राजनीतिक क्रान्ति वा संघर्षका कारण नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रूपान्तरित भएको छ । जनतालाई अधिकारसम्पन्न बनाउन र समृद्ध राज्य निर्माणका लागि पार्टीहरूले कठिन समयमा सशक्त संघर्ष गरे । तर, तिनै पार्टीले तीन दशक सत्ता सञ्चालन गर्दा पनि जनताका दुःख, कष्ट र समस्या कम भएका छैनन् । जनताले पार्टीहरूबाटै धोका पाएको अनुभूति गरिरहेका छन् । संसदीय अभ्यासमा रहेका राजनीतिक पार्टीहरूकै केही नेता–कार्यकर्तासमेत अब पार्टी सुध्रिँदैन भन्ने निष्कर्षमा पुगेका देखिन्छन् । जब राज्य सञ्चालन गर्ने पार्टीहरू नै दिशाहीन र अलोकतान्त्रिक हुन्छन्, त्यस्ता पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनसरोकारका मुद्दालाई हल गर्न सक्दैनन् । त्यसैले अहिलेको राजनीतिक परिपाटीबाट सत्ताको वरिपरि रहने वा सत्ताबाट पालित–पोषित समूहबाहेक धेरैमा असन्तुष्टि र छटपटी छ ।

कमजोर राजनीतिक–वैचारिक विमर्श

राजनीतिक पार्टीहरूले अवलम्बन गर्ने राजनीतिक दर्शन र विचार नै पार्टीको सत्त्व हो । राजनीतिक पार्टी गठनको इतिहास हेर्दा, सत्रौं शताब्दीको अन्त्यतिर बेलायतमा अधिनायकवादी राजतन्त्रविरुद्ध परम्परागत उदारवादी विचारसहित ह्वीग स्थापना भएको थियो । सोही समयतिर अमेरिकामा पनि विभिन्न पार्टी गठन भएका थिए । सन् १८४८ मा कार्ल मार्क्स र फ्रेरडिक एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गरे । त्यति बेला युरोपमा मजदुरमाथि पुँजीपति वर्गले गरेको अत्यधिक शोषणको अन्त्यका लागि वर्ग संघर्ष गरी समाजवादको स्थापना गर्नु कम्युनिस्ट पार्टीको लक्ष्य थियो ।

यही राजनीतिक आदर्श र विचारका आधारमा संसारभरि धेरै कम्युनिस्ट पार्टी गठन भए । लेनिन नेतृत्वको रुसी समाजवादी क्रान्तिदेखि नेपालमा झापा विद्रोह हुँदै माओवादीको जनयुद्धसम्म निश्चित राजनीतिक दर्शन र विचारकै आधारमा भएका थिए । पुँजीवादी लोकतान्त्रिक पार्टीदेखि दक्षिणपन्थी पार्टीहरूले पनि निश्चित आदर्श र विचार अपनाउने गरेका छन् । राजनीतिक पार्टी भन्नेबित्तिकै स्वाभाविक रूपमा त्यसले कुनै निश्चित विचारको प्रतिनिधित्व गर्छ । राजनीतिक विचार नभएको राजनीतिक पार्टी नै हुँदैन ।

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादलाई राजनीतिक विचार मान्छ । कम्युनिस्ट पार्टीहरूले मूलतः मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता विचारलाई पार्टीको वैचारिक दृष्टिकोणका रुपमा मान्दै आएका छन् । तथापि, पार्टीहरूले अवलम्बन गर्ने विचार निश्चित अर्थराजनीतिक र वस्तुगत परिवेशसापेक्ष हुन्छ । यसरी अभ्यास गरिने राजनीतिक विचारको केन्द्रमा राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समृद्धि हुने गर्छ । अझ कम्युनिस्ट पार्टीहरूले त सर्वहारा, श्रमिक, मजदुर र सीमान्तीकृत समुदायको मुक्तिलाई वैचारिक रूपमा संश्लेषण गरेका हुन्छन् । तर, नेपालको संसदीय राजनीतिमा संलग्न पार्टीहरूबीच विचारको बहस शून्यप्रायः छ ।

नेपाल राजनीतिक रूपमा निरंकुश शासन व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । तर, यति बेला नेपाल बहुआयामिक समस्याको चपेटामा छ । संघीय व्यवस्थालाई कमजोर पारेर स्वार्थ पूर्ति गर्न विभिन्न व्यक्ति र स्वार्थ समूह लागिपरेका छन् । पुरातनपन्थी, दक्षिणपन्थी र लोकप्रियतावादी उभार बढ्दो छ । देशमा चरम राजनीतिक भ्रष्टीकरण छ । ठूलो संख्यामा पार्टीका राजनीतिक नेता–कार्यकर्ता ‘राजनीतिक व्यापार’ मा संलग्न छन् । अर्थात्, कमिसन र घूसको राजनीति हाबी भइरहेको छ ।

संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारमा समेटिएको छ तर यिनै क्षेत्रमा सबैभन्दा ठूलो व्यापार भइरहेको छ र जनतामाथि लुट मच्चाइएको छ । सीमान्तीकृत समुदायका गरिब, किसान र मजदुर एकातिर मिटरब्याजको पासोमा परेका छन्, अर्कातिर सहकारीको दलदलमा फसाइएका छन् । दैनिक २ हजारभन्दा धेरै मानिस काम खोज्दै विदेश गइरहेका छन् । लाखौं मानिस वैदेशिक श्रम बजारमै लुटिएका छन् । उनीहरूले नै पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र बाँचेको छ । शासनसत्तामा रहने व्यक्तिहरू गरिब, श्रमिक र मजदुरले पठाएको रेमिट्यान्समै भ्रष्टाचार गरिरहेका छन् । उच्च र मध्यम वर्गका युवा देशभित्र भविष्यको सपना देख्न नसकेर विदेश पलायन भइरहेका छन् ।

वैदेशिक ऋणले देशको आर्थिक अवस्था चौपट्ट छ । नवउदारवादी पुँजीवादी व्यवस्थाले नेपाली जनता केवल उपभोक्तामा सीमित हुन पुगेका छन् । उत्पादनमा संलग्न भएका किसान बिचौलिया र दलालको चंगुलमा परेर लुटिएका छन् । अर्थतन्त्रको मुख्य बागडोर दलालका हातमा पुगेको छ, जसले जनतामाथि लुट मच्चाइरहेको छ । नेपालमा गरिब, मजदुर, श्रमिक र सीमान्तीकृत समुदायले न्याय पाउनै नसक्ने परिस्थिति बनिरहेको छ । पहिले–पहिले सामन्तको तजबीजमा हुने न्याय निरूपण अहिले अदालती किनबेचमा रूपान्तरित भइरहेको छ । त्यसैले महिला, सीमान्तीकृत र उत्पीडित समुदाय न्याय खरिद गर्न नसकेर अन्यायमा पिल्सिनुपर्ने अवस्था छ ।

नेपाली समाज यस्ता यावत् समस्या र अन्तरविरोधबाट गुज्रिरहेको छ । यस्तो अवस्थाबाट देशलाई मुक्त गर्ने मुख्य दायित्व राजनीतिक पार्टीहरूकै हो । यस्ता समस्या तत्कालै र सहजै हल हुने होइनन् । यसका लागि राजनीतिक पार्टीहरूले वस्तुगत परिस्थितिको गम्भीर विश्लेषण गरेर यी समस्याको हल गर्ने राजनीतिक विचार र दृष्टिकोण निर्माण गर्नुपर्छ । तर यस्ता गम्भीर विषयमा नेपालमा मुख्य राजनीतिक पार्टीमा कुनै बहस छैन । स्पष्ट विचार र दृष्टिकोण छैन । विचार र दृष्टिकोण नहुनु क्रान्ति र संघर्षबाट ल्याइएको व्यवस्थालाई असफल बनाउनु हो वा पार्टी नै असफल हुनु हो ।

असफलतातिर पार्टीहरू

संसारभरि नै आधुनिक राज्यको निर्माणसँगै राजनीतिक पार्टीको गठन र विघटन सुरु भएको हो । धेरैजसो देशमा जनतामाथि भएको तानाशाही शासनको अन्त्य गर्न र जनताको अधिकार स्थापित गर्न राजनीतिक पार्टी गठन भएका देखिन्छन् । सन् १९१७ मा लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिदेखि संसारभरिका मजदुर, किसान वा श्रमिकका पक्षमा भएका क्रान्तिको नेतृत्व राजनीतिक पार्टीहरूले नै गरेका थिए । ती संघर्षको केन्द्रमा चरम शोषण र उत्पीडनमा परेका जनता थिए वा उनीहरूको मुक्तिका लागि ती राजतीनिक पार्टी गठन भएका थिए । राष्ट्रिय स्वाधीनताका लागि साम्राज्यवादी उपनिवेशविरुद्ध लड्नका लागि पनि संसारभरि राजनीतिक पार्टीको गठन भएको देखिन्छ ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि राणा–शाही निरंकुशताको अन्त्य गरी जनताको अधिकार स्थापित गर्न नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको गठन भएको थियो । ती पार्टीले गरेको संघर्षको केन्द्रमा जनताको मुक्ति र अधिकार नै थियो । २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा पनि राष्ट्रिय स्वाधीनता, जनतन्त्र, उत्पीडित जातजातिको मुक्ति र जनजीविकाका मुद्दा उठाएको थियो । यसैले राजनीतिक पार्टी गठनको औचित्य नै जनताको सेवा वा हित गर्नु हो । सिद्धान्ततः राजनीतिक पार्टीको केन्द्रमा जनता र जनताका सरोकार हुनुपर्ने हो, तर अहिले नेपालका राजनीतिक पार्टीका नजरमा जनता छैनन् । छन् त चुनावका बेला भोटका लागि मात्रै छन् । पार्टीहरू जनताका सुखदुःखबाट टाढिएका छन्, अधिकांश पार्टी स्वार्थ समूहको महासंघजस्ता भएका छन् । उनीहरू जनताप्रति नभई व्यापारी, दलाल र स्वार्थ समूहप्रति जवाफदेह भइरहेका छन् । यसले गर्दा पार्टीहरूप्रति जनताको विश्वास गुम्दै गइरहेको छ ।

नेपालका राजनीतिक पार्टीहरू राजनीतिक आदर्श, सिद्धान्त र विचारबाट विमुख भइसकेको प्रतीत हुन्छ । धेरैजसो पार्टीमा देशमा उत्पन्न संकट र अन्तरविरोध हल गर्ने कुनै स्पष्ट दृष्टिकोण देखिँदैन । संकट हल गर्ने र देशको उज्ज्वल भविष्य देखाउने स्पष्ट दृष्टिकोण नहुँदासम्म यी पार्टीलाई जनताले सहजै विश्वास गर्ने वातावरण छैन । अर्कातिर, राजनीतिक पार्टीको नेतृत्वमा शक्तिप्रति अधिक आसक्ति देखिन्छ । जुनसुकै हर्कत गरेर पनि सत्ता र शक्तिको नेतृत्वमा पुग्ने प्रतिस्पर्धा पार्टी नेतृत्वमा देखिन्छ । चुनाव जित्न भ्रष्ट र दलालबाट करोडौं रकम लिने मात्रै होइन, आफ्नै पार्टीको नेतृत्व हत्याउन अनेकौं अनैतिक चलखेल हुने गरेका छन् । अझ सरकारको नेतृत्वका लागि जुनसुकै पार्टीसँग अप्राकृतिक गठबन्धन गर्न पनि पार्टीहरू पछि पर्दैनन् ।

पार्टीहरूको आन्तरिक लोकतन्त्रको अवस्था झनै टिठलाग्दो छ । नेपालका अधिकांश पार्टीका प्रमुख वा शक्तिशाली नेतृत्वको विचार, व्यवहार र आचरणका सन्दर्भमा नेता–कार्यकर्ता सहजै आलोचनात्मक टिप्पणी गर्न सक्ने अवस्था छैन । टिप्पणी वा प्रश्न औचित्यपूर्ण छ कि छैन वा सैद्धान्तिक–वैचारिक हो कि होइन भनेर हेरिँदैन, बरु टिप्पणी गर्ने नेता–कार्यकर्ताको राजनीतिक भविष्य नै सिध्याइदिने खतरा रहन्छ । जब नेतृत्वले फरक विचार, धारणा वा टिप्पणी सुन्न चाहँदैन, त्यो बिस्तारै निरंकुश बन्दै जान्छ । पुराना पार्टीहरूका नेतृत्वमा त यस्तो प्रवृत्ति थियो नै, नयाँ बनेका पार्टीहरूका नेतृत्व पनि केन्द्रीकृत र निरंकुशताबाट मुक्त छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नागरिकता, पासपोर्ट काण्डदेखि सहकारी प्रकरणसम्म आइपुग्यो । तर, यति गम्भीर मुद्दा पनि पार्टीको केन्द्रीय समितिको छलफलको एजेन्डा बन्दैन । यी घटनाले नेपालका सबैजसो पार्टी आन्तरिक रूपमा लोकतान्त्रिक हुन सकेको देखिँदैन । आफैं लोकतान्त्रिक हुन नसक्ने पार्टीले राजनीतिक व्यवस्थालाई लोकतान्त्रिक बन्न दिँदैन ।

पार्टी नै विकल्प

लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन । राज्यलाई लोकतान्त्रिक र जनउत्तरदायी बनाउने दायित्व राजनीतिक पार्टीहरूकै हो । समाजमा प्रकट भएका समस्या र अन्तरविरोध हल गर्ने विधि पनि राजनीतिक पार्टीहरूले नै खोज्नुपर्छ । यसका लागि पार्टीहरूले स्पष्ट विचार, दृष्टिकोण र रणनीति अपनाउनैपर्छ ।

विचारहीन, सिद्धान्तहीन र विवेकशून्य राजनीतिक पार्टीले अहिलेको राष्ट्रिय संकटको निकास दिन सक्दैनन् । जनताका आधारभूत आवश्यकता पूरा गर्न र बढ्दै गएको निराशालाई सम्बोधन गर्न पार्टीहरूले स्पष्ट विचार, दृष्टिकोण र कार्ययोजना ल्याउनुपर्छ । देशका गम्भीर समस्यालाई हल गर्न पार्टीभित्र र अन्तरपार्टी बहस र छलफलको मञ्च नै बनाएर संकटको निकास निकाल्ने अर्थपूर्ण विमर्श गर्न जरुरी छ ।