बर्दिवास, १७ असोज। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रियह एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन्।
महोत्तरीको वर्दिवासमा मधेस प्रदेशको समसामयिक सुरक्षा बैठकलाई सम्वोधन गर्दै गृहमन्त्री श्रेष्ठले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान, नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने सुरक्षा चुनौतिलाई बलियो बनाउनुपर्ने बताएका हुन्।
गृह प्रशासन र सुरक्षा अधिकारीहरूसँगको अन्तरक्रियात्मक बैठकमा गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न मातहतका निकायलाई निर्देशन समेत दिए।
सबै किसिमका विभेदको अन्त्य, जोखिम न्युनिकरण, प्रकोप पीडितको प्रभावकारी उद्दार एवम् राहत, लागुऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा अझै चुस्त र प्रभावकारी काम गर्न समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए। उनले, ‘मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफुलाई प्राप्त भएकोले त्यस्तो प्रवृत्ति क्षम्य हुन सक्दैन, प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न मातका सवैमा निर्देशन छ, सोहि अनुसार सवैले कार्यान्वयन गर्नुहोस्।’
सेही क्रममा गृहमन्त्री श्रेष्ठले ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत अनुरोध गरे।
प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या राखेका थिए।
भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनिहरूको भनाइ थियो। प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई दुरुस्त राखिएको समेत उनीहरुले जानकारी दिए।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक बैठकमा प्रदेश सरकारका मुख्यसचिव दिनेश घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुख ओमप्रकाश जोशीले समेत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराई, नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथि प्रेमध्वज अधिकारी लगायतका व्यक्तित्वहरू सहभागीता रहेको थियो।
अन्तरकृया कार्यक्रममा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो।