बर्दिवास, ३० जेठ। महोत्तरीको बर्दिबासमा १ हजार बेड क्षमताको मेडिकल कलेज निर्माण गर्ने बाटो खुला भएको छ।
रिट खारेज भएसँगै बर्दिबासमै सरकारी मेडिकल कलेज बन्ने सुनिश्चित भएको पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिए।
०७३ सालमा पोखरेल शिक्षामन्त्री भएको बेला बर्दिबासमा एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय सरकारले गरेको थियो। त्यतिबेला सरकारले बर्दिबाससँगै बुटवल र सुर्खेतमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो।
‘हामीले बर्दिबासमै सरकारी मेडिकल कलेज बन्नुपर्छ भनेर लामो समयदेखि गरेको मेहनतले सफलता प्राप्त गरेको छ,’ पोखरेलले भने, ‘यसमा नेपालका वरिष्ठ अधिवक्ताहरुले गरेको बहस स्वागत योग्य छ। यो सफलताको लागि म बर्दिबासबासीलाई धन्यवाद दिन चाहन्छु।’
नेपालखवरबाट।
सरकारले बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेपछि २०७६ बैशाख १८ गते बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयको स्थापना भई जग्गा प्राप्तीको काम अघि बढेको थियो।
‘स्वायल टेस्ट’ बाट डीपीआर तयार भएर भौतिक पूर्वाधार निर्माणको प्रक्रियामा जाँदा जग्गासम्बन्धी सवालमा सर्वोच्चमा मुद्दा परेपछि काम रोकिएको थियो।
त्यतिबेला बर्दिबासमा मेडिकलको लागि जग्गा छनौट समितिले बर्दिबास ४ स्थित भप्सी खोला र अटब्बे खोल्सी बीचको ४९ हेक्टर जग्गा छनोट गरेको थियो।
माईस्थान सामुदायिक वनको जग्गामा पूर्वाधार निर्माण गर्ने गरि फाईल अघि बढिसकेको अवस्थामा बर्दिबासमा मेडिकल कलेज बन्न नहुने भन्दै २०७८ असारमा धनुषाका देवनारायण मण्डलले सर्वोच्वमा रिट दायर गरेका थिए।
वन मन्त्रालयमा जग्गा प्राप्तीको फाईल रोकिएको अवस्थामा २०७८ फागुन १६ गते वन मासेर वन्यजन्तु र बोटविरुवालाई असर पर्नेगरि मेडिकल कलेज निर्माणको काम अघि नबढाउन न्यायाधीशद्वय इश्वर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अन्तरिम आदेश दिएपछि काम रोकिएको थियो।
मेडिकल कलेज गौरवको आयोजना भएकाले अव सोहि ठाउँमा मेडिकल कलेज बनाउँन बर्दिबासवासीले पुनः पहल गर्नुपर्ने समय आएको कलेज पूर्वाधार आयेजना कार्यालय बर्दिबासका प्रमुख देवीप्रसाद सुवेदीले बताए।
 
बर्दिबासमा मेडिकल कलेज बनाउन नदिन भएको षडयन्त्र असफल भएको भन्दै बर्दिबासबासीले यतिबेला सामाजिक सन्जालमार्फत खुशी व्यक्त गरिरहेका छन्। 
मेडिकल कलेज बर्दिबासमै बन्ने बाटो खुलेकोमा बर्दिबासबासी उत्साहित भएको स्थानीय युवा राजु शर्मा ढकालले बताए।


                    
                            
                                                            


        
        
        















