पार्थ मण्डल

झापा, ३  कात्तिक। दसैंको उल्लासमा रमाउनुपर्ने बेला जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएपछि झापाको बाह्रदशी गाउँपालिका शोकमा डुबेको छ। बाह्रदशी गाउँपालिका २ मा मर्निङवाकमा निस्किएका दुई जना स्थानीय वृद्धवृद्धाको एकै बिहान जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँभरि शोक छाएको हो। 

हात्तीको आक्रमणबाट घाइते भएका बाह्रदशी गाउँपालिका २ चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीको पनि उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको छ। राजवंशीको आज बिहान १० बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका ज्वाइँ शंकरदेव राजवंशीले जानकारी दिएका छन्।  बिहान मर्निङवाकमा निस्किएका बेला बाह्रदशी २ कै खाडी गाउँमा बिहान करिब ५ बजे बाह्रदशी जंगलबाट आएका दुईवटा जंगली हात्तीले राजवंशीमाथि आक्रमण गरेका थिए।

हात्तीको आक्रमणबाट उनको खुट्टा र करङमा चोट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीएण्डसी अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचार भइरहेकै अवस्थामा मृत्यु भएको हो। सोही जंगली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका २ जनता बजारकी ७० वर्षीया लजमा खातुनको पनि मृत्यु भएको थियो। बिहान करिब ५ः४० बजे मर्निङवाकमा निस्किएकी खातुनलाई हात्तीले राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ आक्रमण गरेको थियो। 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीयका अनुसार राजवंशीमाथि आक्रमण गरेपछि ती हात्तीले केही समयपछि नै जनता चोक दक्षिण राजगढ–घेराबारी सडक खण्डमा खातुनमाथि आक्रमण गरेका थिए। एउटै बिहान दुई जनाको ज्यान जाने गरी भएको घटनाले बाह्रदशी क्षेत्रमा त्रास बढाएको छ। 

घटनाका प्रत्यक्षदर्शी स्थानीय धनबहादुर राजवंशीका अनुसार जजथलको चारेकाशे जंगलबाट निस्किएको दुई वटा हात्ती विहानै गाउँ पसेको थियो। दुईवटामध्ये पछाडिको हात्तीको आक्रमणबाट वृद्धा खातुनको मृत्यु भएको उनले सुनाए। दसैंका बेला बिहानै घरबाहिर निस्किएका स्थानीयले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाउनुपरेपछि स्थानीयवासीमा थप चिन्ता बढेको उनको भनाई छ। 

(अन्नपूर्ण पोष्टबाट)

sun chandi sang