जनकपुरधाम, ३१ असोज। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन्।

छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव समेत थिए। जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी छलफल भएको एक नेताले बताए।

ती नेताका अनुसार जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार बनाउने गरी नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको छ।

हिजो शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो।

मधेश प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो। उसको २७ सिट छ। दोस्रो ठूलो दल एमालेको २३ सिट छ।  कांग्रेसको २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट मात्र छ।

कुल १०७ सिट रहेको मधेश प्रदेशसभामा सरकारको आवश्यक बहुमतका लागि ५४ सिट आवश्यक पर्छ।

(अनर्लानखवरबाट)