उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो।
नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्ष स्थापना गरिएको र नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागिएको हो।
नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डाक्टर गौरव साहले बताए। उनले आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी पुरा भएको बताए। उनले भने, ‘सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ।’
कटारी नगर क्षेत्र उदयपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ। यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले मृत्यु हुनेगरेको छ।
सर्पदंशको उपचारको लागि टाढा जानुपर्ने बाध्यता भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए। उनले यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको बताए।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved