जनकपुर, ७ पुस। मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि बनेका ऐन र कानुनको प्रभाबकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत अन्त्य, आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तीकरणका लागि मधेस प्रदेश स्तरीय दलित सम्मेलन २०७९ को आज जनकपुरधाममा उद्घाटन गर्दै प्रदेश प्रमुख मिश्रले छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि ऐन कानुनहरु बनेपनि कार्यान्वय पक्ष कमजोर भएकाले अझै दलित समुदायमाथि थिचोमिचो र भेदभाव भईरहेकाले ऐन कानुनको प्रभाबकारी कार्यान्वयन हुनुपर्ने बताएको हो।

‘नेपाल छुवाछुत मुक्त भएको एक दशक भन्दा बढी समय भईसक्यो तर अझै समाजमा छुवाछुत, भेदभाव कायम छ’, प्रदेश प्रमुख मिश्रले भन्नुभयो, ‘जातीपाती भेदभाव, छुवाछुत सामाजिक कलङ्क हो, यसलाई सबै मिलेर हटाउनुपर्छ।’ उनले एक अर्कालाई दोषारोपण गरेर होईन्, सबैले आफ्नो पुरानो सोच र बिचारमा परिवर्तन गरेर भेदभाव जस्तो सामाजिक कलङ्कलाई हटाउनु पर्ने बताए।

सोही क्रममा प्रदेश प्रमुख मिश्रले अधिकार मागेर होईन कर्तव्यसँगै संघर्ष गरेर लिनुपर्ने बताए। उनले भने, ‘आजसम्म कसैले पनि कुनै अधिकार माँगेर पाएको छैन, दलितहरु पनि अधिकारकार माँगेर पाउनलेबाला छैन। अधिकारको लागि कर्तव्यसँगै एकजुट भएर संघर्ष गर्नुपर्छ।’

मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्य लखन दासले अहिलेको निर्वाचन प्रणालीबाट दलित समुदायको संसदीय राजनीतिमा पहुँच पुग्न नसक्ने भन्दै निर्वाचन प्रणलिमाथि नै विमर्ष गर्नुपर्ने बेलाआएको बताए। उनले अहिले भईरहेको खर्चिलो, भड्किलो निर्वाचन प्रणालिमा दलितहरुले भागलिनै नसक्ने बताउँदै पुर्ण समाुनपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए।
‘अहिले राजनीतिक दलहरुले एक त दलितलाई टिकट दिदैन, दिई हाल्यो भनेपनि चुनाब खर्चकै कारण जित्न सक्ने अवस्था छैन्’, प्रदेशसभा सदस्य दासले भने, ‘अहिले जोसँग पैसा छ, त्यसले मात्र चुनाब लड्न सक्छ र जित्न सक्छ।’

दलित समुदायसँग नत पैसा छ नत राजनीतिक पहुँच छ, त्यसैले निर्वाचन प्रणालीलाई फेर्नुपर्छ भन्ने उनको कथन रहेको छ।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक बिनोद बिसुन्खेले मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि दलित समुदायमाथिको उत्पीडनमा कमी आउन नसकेको भन्दै उनले दलित आन्दोलनलाई साझा आन्दोलन बनाउनुपर्नेमा जोड दिए।

उनले दलित आन्दोलनलाई साझा आन्दोलन, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट दलित समुदायका लागि ल्याएका ऐन कानुनको गम्भीर समिक्षा गर्न प्रदेशस्तरीय दलित सम्मेलन आयोजना गरिएको बताए।
कार्यक्रममा अनोपचारिक सेवा केन्द्र इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान र प्राध्यापक बिजय मिश्रले ‘मधेस प्रदेशमा दलित समुदायको अवस्था’ बिषयमा छुट्टाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए।

एक्सन एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहान सिरहा, दिव्य युवा क्लब पर्सा, महिला सशक्तीकरण अभियान महोत्तरी र दलित पत्रकार संघ मधेस प्रदेश समितिद्वारा आयोजित सम्मेलनमा मधेस प्रदेशका आठ वटै जिल्लाका दलित समुदायका अगुवाहरुको सहभागिता रहेको छ।

सम्मेलनले दलित समुदायको पक्षमा वकालत गर्न प्रदेशस्तरीय समिति गठनसँगै घोषणापत्र जारी गर्ने आयोजक दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश बिसुन्खेले जानकारी दिए।

ginlyanda