सिरहा २ पुस। सिरहाको गोलबजार नपा १ मुक्सारमा रहेको दलित आधारभुत विदालयका शिक्षकले दिवाखाजाको पैसा पचाउन विद्यालय नआएका विद्यार्थीको पनि हाजिरी गरेको पाइएको छ। नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवाखाजाको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेको हो।
बाल विकास देखि कक्षा ३ सम्म पढाई हुने यस विद्यालयको हाजिरी रजिष्टरमा जम्मा ८५ विद्यार्थी भर्ना भएको देखिन्छ। तर, २०/२५ जनाको हाराहारीमा मात्र विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावक बताउँछन्।
विद्यालयाको हाजिरी जजिष्टरमा बाल विकासमा २९ जना, कक्षा १ मा २०, २ मा २१ र कक्षा ३ मा १५ जना गरी जम्मा ८५ जनाको नामाङकन भएको भएपनि उनले गोलबजार नगरशिक्षा शाखामा भने ९१ जना विद्यार्थीको नामाङ्कन रहेको कागज पेश गरेको छ। हामी विद्यालय पुग्दा २५ जना विद्यार्थी उपस्थित भएपनि करिव शत प्रतिशत हाजिरी बनाएका थिए।
विद्यालयका प्रधानाध्यापक निरोज यादव विद्यालय भन्दा धेरै बाहिरै रमाउने भएकाले पनि विद्यालयमा विद्यार्थीको उपस्थिति कम रहेको स्थानीय अभिभावक बताउँछन्। विद्यालयमा एकजना निजी स्रोतका शिक्षकको भरमा विद्यालय छोडेर दिनहुँ गोलबजार शिक्षा शाखा धाउने गरेको छ। प्रअ यादव दिनहु कुनै न कुनै बाहानामा विद्यालयमा हाजिर गरेर वाहिरीने गरेको अभिभावक बताउँछन्।
निरोजकै श्रीमती सोनम यादव बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता हुन्। उनी पनि हतपत्ति विद्यालय आउँदैनन्। शिक्षक शिक्षिका नियमित विद्यालय नआएपछि विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको छ।
विद्यालयमा प्रायः एक जनामात्र नीजि स्रोतकै शिक्षक रञ्जित कुमार पासवानमात्र देखिने गरेको अभिभावक शान्तिदेवी मोचीले बताए। उनले भने, ‘पहिला विद्यार्थी केही लेखपढ गर्न सम्म जान्दैन थे, नयाँ शिक्षक आएपछि केही सिकेको छ। निरोज र उनको श्रीमती कहिलेकाहीमात्र आउँछ, आएपनि १२ नबज्दै घर फर्कने गरेको छ।’
प्र.अ. यादव विद्यालय आएपनि मोवाईलमात्र खेलाएर बस्ने गरेको स्थानीय अभिभावकको आरोप छ। चन्दर रामले बताए। उनले आफ्नो बच्चा शिक्षकहरुकै कारण निजी विद्यालयमा हाल्नु परेको दुखेसो पोखे। उनले भने, ‘यो विद्यालयमा कहिल्य सवै शिक्षक नियमित आउँदैनन्, आएपनि १२ नबज्दै निस्कन्छन्, विद्यार्थीलाई पढाउँदै पढाउँदैनथे, त्यसैले मैले आफ्नो बच्चा निजी विद्यालयमा सार्न बाध्य भएँ।’
स्थानीय प्रदिप रामका छोरा पनि यहि विद्यालयको २ कक्षामा पढ्दै छन्। नियमित र चित्तबुझ्दो पठन पाठन नभएपछि उनले पनि बैकल्पीक उपाय खोज्नुपर्ने आवस्था आएको बताए। उनले भने, ‘विद्यार्थी पठाएरमात्र के गर्नु, शिक्षक कहिल्यै पुरा उपस्थित हुँदैनन्,भएपनि केछिन विद्यालयमा बसेर मोटरसाइकल लिएर गाँउतिर डुलिरन्छन् । विद्यालयमा भएको एकजनाले कसरी विद्यार्थी पढाउन सक्छ? यस्तै अवस्था रहे नयाँ शैक्षिकसत्रमा विद्यालय फेर्नु पर्छ होला।’
विद्यालय स्थापनाको १२ वर्ष वितिसक्दा पनि अझै शिक्षकको दरवन्दि छैन। २०६७ सालमा स्थापना भएको विद्यालय अझै निजी शिक्षकको भरमा चलिरहेको छ। प्रअ निरोज यादव पनि निजी स्रोतका शिक्षक हुन्। विद्यालय सञ्चालनको लागि गोलबजार शिक्षा शाखाले दिने एकमुष्ट वार्षिक १० लाख अनुदानबाट विद्यालय चलेको छ। त्यहि रकमबाट पछिल्लो एकवर्षदेखि पासमानले पनि तलव सुविधा लिदैं आएको छ।
प्रअ यादवले एकलैले पढाउन सक्ने अवस्था नरहेकोले व्यवस्थापन समितिको निर्णयमा एकजना शिक्षक राखिएको बताए। विद्यालयले दिवा खाँजा, पाठ्य पुस्तक र छात्रावृति, बालविकास र विद्यालय कर्मचारीको तलव सुविधाबापतको रकम थप पाउने गरेको छ।
यता ,नगर शिक्षा शाखा प्रमुख सुबोध लामाले प्र.अ लगायतका शिक्षक, शिक्षिकाहरु अनुपस्थित रहेको पाइएमा कानुन बमोजिम कार्यवाही हुने जनाए। उनले हामीले सवै शिक्षणसंस्थाको नियमित अनुमन गरिरहेका छौं, त्यस्तो पाए कार्वाही हुन्छ।
नगरले असार देखि कार्तिक मसान्त सम्म ७७ दिनको लागि १५ रुपैयाँका दरले ९१ जना विद्यार्थीको लागी एक लाख पाँच हजार एकसय पाँच रुपैयाँ निकासा दिएको छ। विद्यालयमा विद्यार्थी उपस्थितिभने अत्यन्त न्यून छ। यसले खाजामा व्यापक अनियमितता हुने गरेको प्रष्ट देखिन्छ। भदौ महिना पछि यस विद्यालयमा खाजा कार्यक्रम स्थगित रहेको छ।
सिराहाका अधिकांश पालिकाहरुको आधारभुत विद्यालयको अवस्था दिनप्रतिदिन खसकिदै गइरहेका छन्। सम्वन्धित निकायहरुको फितलो अनुगमनका काराण आधारभुत शिक्षामा व्यापकक सुधारको खाँचो रहेको जानकारहरु बताउँछन्।