सूर्य वि.क.
वीरगञ्ज, २२ मंसिर। वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउन सरोकारवाला सक्रिय भएका छन्। वीरगञ्ज बजारक्षेत्रको पार्किङ्ग समस्या समाधान गर्ने प्राथमिकताका साथ सम्बन्धित निकाय एवम् व्यक्तिहरु सक्रिय भएका हुन्।
वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ट्राफिक व्यवस्थापनका सम्बन्धमा बिहिवार छलफल गरेका छन्। वडा प्रहरी कार्यालय विर्तामा सम्पन्न छलफलले ट्राफिक व्यवस्थापनका लागि यस क्षेत्रका विभिन्न स्थानलाई पार्किङ्ग स्थलको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।
कुन कुन ठाउँमा पार्किङ् निषेध ?
ट्राफिक व्यवस्थापन वीरगञ्जका लागि चुनौतीको विषय बनेको आजदेखि हैन। साँघुरो सडक र बढ्दो सवारीको चापसँगै सिमित बजार क्षेत्रका कारण यहाँको ट्राफिक अस्तव्यस्त छ। त्यही अस्तव्यस्तलाई व्यवस्थित बनाउनका लागि बिहिवार बसेको बैठकले विभिन्न स्थानमा सवारी पार्किङ्ग गर्न प्रतिबन्ध लगाएको छ।
विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चौक, आदर्शनगर माइस्थानसम्म र घण्टाघरदेखि लिंक रोडको दुवै तर्फ चार पाङ्ग्रे सवारी साधन पार्किङ्ग निषेध गर्ने निर्णय बैठकले गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए। खेतानका अनुसार त्यस क्षेत्रमा चौबिसै घण्टा चार पाङ्ग्रे सवारीलाई पार्किङ्ग गर्न दिइने छैन।
कहाँ कहाँ पार्किङ्ग गर्न पाइन्छ ?
चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालयको प्राङ्गन, हजारी मल ट्रष्टको प्राङ्गन, पूरानो बस पार्क, गीता मन्दिर छेउको खाली जमिन र घण्टाघर नजिकको बि.पि. उद्यानको खाली जमिनमा पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले बताए। ति स्थानमा पार्किङ्ग गर्नका लागि ठाउँ उपलब्ध गराएपछि त्याहाँको व्यवस्थापन भने सम्बन्धित निकायले नै गर्नेछन्।
प्रभावकारिताका लागि प्रहरी परिचालन
हजारी मल ट्रष्टको जग्गामा अहिले पार्किङ्गका लागि व्यवस्थित बनाउने काम भइरहेको छ। त्याहाँ ढलानको काम भइरहेको छ। केही समयपछि सिसि टिभी क्यामरा जडान गरेर व्यवस्थित बनाएपछि सशूल्क पार्किङ्गको व्यवस्था मिलाइने तयारी महानगरको छ। बैठकले गरेका निर्णय कार्यन्वयनका लागि वीरगञ्ज महानगरपालिकाको नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी परिचालन हुनेछन्।
बजार क्षेत्रभरी १३ ठाउँमा मुख्य चेक प्वाइन्ट रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहालले बताए। उनका अनुसार हाल ट्राफिक प्रहरी मात्रै ५६ जना छन् भने ट्राफिक प्रहरीसँगै नेपाल प्रहरी, सिभिल प्रहरी, वीरगञ्ज महानगरपालिकाको नगर प्रहरी लगायतले समन्वय गरेर ट्राफिक व्यवस्थापनमा काम गरीरहेका छन्। शुरुशुरुमा केही गाह्रो भएपनि केही समयपछि व्यवस्थित प्रणालीको रुपमा विकास गर्दा स्वतः व्यवस्थित हुनेमा प्रहरी निरीक्षक दाहाल विश्वस्त छन्।
फुटपाथ तथा जथाभावी सवारी साधन पार्किङ्ग नगरेर सुरक्षित र तोकिएको स्थानमा मात्रै सवारी पार्किङ्ग गरी जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्न पनि उनले आग्रह गरेका छन्। सबै नागरिकले ट्राफिक नियमको पालना गरेमा वीरगञ्जको ट्राफिक व्यवस्थित हुन कुनै समय नलाग्ने उनले बताए।
अतिक्रमित संरचना हटाउन आग्रह
वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ। महानगरलाई सुन्दर र स्वच्छ बनाउनका साथै व्यवस्थित बनाउनका लागि पनि नालाको व्यवस्थापन हुन जरुरी रहेको हुँदा अतिक्रमित संरचना हटाउनुपर्ने वीरगञ्ज महानगरपालिका नगर प्रहरी प्रमुख हरि भुषालले बताए। साथै महानगरलाई सुन्दर र सफा राख्नका लागि जथाभावि फोहोर नफाल्न र घर तथा पसलको फोहोर डस्टबिनमा राखी फोहोरको गाडीमा मात्रै फाल्न पनि उनले आग्रह गरेका छन्।
फुटपाथसँगै जथाभावि रुपमा पसल थाप्ने प्रवृति बढेको प्रति आपत्ती जनाउँदै बैठकमा सहभागी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कमल चौगाईले त्यसो नगर्न आग्रह गरेका छन्।