सिरहा, १ मंसिर। यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश तथ प्रतिनिधीसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले महिला हिंसा न्यूनिकरण गर्न हरेक क्षेत्रमा महिलाको समान सहभागीता हुनुपर्ने बताएको छ। विभिन्न पार्टीका उम्मेदवारहरुले दलित महिला केन्द्र नेपालका प्रतिनिधीहरुसँगको छलफलमा महिला हिंसा न्यूनिकरण गर्न हरेक क्षेत्रमा महिलाको समानसहभागीता आवश्यकता रहेको बताएको हो।
सिरहा क्षेत्र नम्वर ४ बाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दिएका धर्मनाथ साहले वाहिरबाट विभिन्न कारणले महिलामाथि हिंसा भएको देखिएपनि आर्थिक, सामाजिक र र राजनीतिक क्षेत्रमा पहुँच नभएकै कारण महिलाहरु हिंसाको सिकार हुनु परेको बताए।
पूर्वमन्त्री समेत रहेका उम्मेदवार साहले नेपालको संविधानले महिलाको समान अधिकारको प्रत्याभुति गराएपनि कार्यान्वयन फितलो भएको बताए। उनले आफ्नो पार्टीले महिलालाई सवैक्षेत्रमा समान पहुँच वृद्धिगर्न सवैसँग हात्तेमालो गर्न तयार रहेको बताए।
सिरहा क्षेत्र नम्वर ४ ‘क’ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्र पासवानले महिला सशक्त भए हिंसाका घटनाहरु आफै न्यून भएर जाने बताए। दलित महिला केन्द्र नेपालका प्रतिनिधी तथा मतदाताहरुसँगको छलफलमा पूर्व मन्त्री समेत रहेका पासवानले आफ्नो पार्टी महिलाहरुको अधिकार रक्षाको पक्षमा रहेको जिकिर गरे।
छलफल तथा अन्तकृयाकै क्रममा सिरहा क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभाका स्वतन्त्र उम्मेदवार महेश कुमार अधिकारीले आफूलाई महिलाको अधिकारको पक्षमा कानुन बताउन कामगर्ने बताए।
सिरहा क्षेत्र नम्वर २ ‘ख’ बाट नेकपा समाजवादीका उम्मेदवार मदनशेन श्रीवास्तवले महिला शिक्षामा जोड दिए हिंसामा कमि आउने बताए।
त्यसैगरी, यही क्षेत्र अन्तर्गत प्रदेश ‘ख’ बाट हाम्रो नेपाली पार्टीका योगेश कुमार सिंहले तराईका धेरैयुवाहरु रोजगारीको शिलशिलामा विदेशमा रहेकाले महिला हिंसाको घटना वृद्धि भएको जिकिर गरे। उनले आफू पनि युवाभएकाले देशमै रोजगारी सृजना गरी महिंला हिंसा न्यूनिकरणमा बल पुर्याउने बताए।
उनले पनि शिक्षा, रोजगारी र आर्थिक र प्रशासनिक क्षेत्रमा महिलाको समान सहभागीताले हिंसा न्यूनिकरण गर्न सकिने बताए। महिला, दलित तथा पहुँच कमभएकाहरुको पहुच वृद्धिकै लागि आफूले उम्मेदवारी दिएको बताए।