गणेश पाण्डे

काठमाडौं, २९ कात्तिक। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वले पछिल्लो समय मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको छ। पार्टी सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेर पूजा–पाठमा व्यस्त छन्। शनिबार १२ः१५ बजे जनकपुर विमानस्लथमा उत्रिएका लामिछानेलाई स्वागत गर्न रास्वपाका मधेस प्रदेश पदाधिकारी, पार्टीका सांसदहरूको लर्को नै लागेको थियो।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस पटक मधेसमा परिवर्तनको महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न नआउने जिकिर गरेका थिए। ‘हाम्रो प्रतिबद्धता स्पष्ट छ। जति बोल्छौँ, त्यति नै गर्छौं। जनतालाई झुटो आश्वासन दिएर राजनीति गर्दैनौँ’, उनले भनेका थिए, ‘यस पटक मधेसी जनतामा परिवर्तन महसुस गराउन नसके अर्को पटक भोट माग्न आउँदिनँ।’

त्यसैदिन दिउँसो १ बजे उद्योग वाणिज्य संघको सभाहलमा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो। वाणिज्य संघको अर्को सभाहलमा लामिछानेले दिउँसो २ देखि ४ बजेसम्म पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तक्र्रिया गरेका थिए। सोही क्रममा उनले आगामी स्थानीय तह निर्वाचनमा अग्रिम टिकट बिक्रीको पछि नलाग्न आग्रह गरे।

‘म आज यही मञ्चबाट घोषणा गर्दछु कि सारा एडभान्स डुबे। रास्वपाले एउटा पनि मान्छेलाई चुनावमा टिकट दिन्छु भनेर आजसम्म घोषणा गरेको छैन, यस कुरामा निर्धक्क हुनुहोला। कसैले भनिरहेको छ भने तपाईंलाई ठगिरहेको छ’, उनले भनेका थिए, ‘नजिकैको प्रहरी चौकीमा गएर उजुरी गर्नुहोला। रास्वपाभित्र बसेर पार्टीको विधि र विधान विपरीत कसैलाई झुटा आश्वासन लेनदेन समेतको काम कोही कसैले गरेको छ, त्यस्ता सूचना दिने मान्छेलाई पार्टीले विशेष सम्मान गर्नेछ।’

मधेस प्रदेशबाट निर्वाचित सांसद तथा पदाधिकारी घरको नियमित पूजा नै छाडेर सभापति लामिछानेलाई समन्वय गरिराखेका छन्। सभामुख डोल प्रसाद अर्याल पनि छठ पर्व मनाउका लागि आइतबार वीरगञ्ज पुगेका छन्। छठ पर्वमा सहभागी हुन वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह मधेस जाने भनिए पनि उनी गएनन्। सहमहामन्त्री पुरुषोत्तम यादव, सचिवालय सदस्य मनिष झा, पूर्वमन्त्री बल्लु गुप्ता, मौजुदा मधेस प्रदेश सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह लगायत मधेसबाट निर्वाचित संघीय सांसदहरूले सभापति लामिछानेको भ्रमणको व्यवस्थापन गरिरहेका छन्।

गत वर्ष भदौमा जेनजी आन्दोलनले सत्ता विप्लव गरेपछि फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले ३२ मध्ये ३० सिट जितेको थियो। निर्वाचनको बेला मधेसमा रास्वपाप्रति जनलहर आउनुको पछाडि पार्टीको एजेन्डाभन्दा पनि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा वालेन्द्र शाहलाई अगाडि सारिनु प्रमुख कारण देखिन्छ। आम युवामाझ लोकप्रिय शाह मधेसी मूलका भएकाले क्षेत्रीय सेन्टिमेन्ट भोट रास्वपाप्रति आकर्षित भएको राजनीतिक वृत्तमा चर्चा थियो। तर, झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री भएको ७ महिना पूरा भइसक्दा पनि मधेसी जनताले परिवर्तनको महसुस नगरेकाले पार्टीप्रतिको आकर्षण घट्दै गएको विश्लेषण हुन थालेको छ।

सरकारका पछिल्लो क्रियाकलापलाई लिएर रास्वपाभित्रै नेता तथा सांसदहरू पनि सन्तुष्ट देखिएका छैनन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका सर्लाही–४ का रास्वपा सांसद डा. अमरेश कुमार सिंहले छठ पर्वपछि मधेसमा विद्रोह हुने चेनावनी दिँदै आएका छन्। पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहबिच मतभेद बढ्दै गएको देखिन्छ। पार्टी र सरकारबिच तालमेल हुन नसक्दा मधेसमा मात्र होइन, देशैभरि निराशा बढ्दै गएको देखिन्छ।

आन्तरिक विवादका कारण रास्वपाले मधेसमा अधिवेशन गर्न सकेको छैन। पार्टी र निर्वाचित सांसदबिच शक्ति संघर्षका कारण विवाद उत्कर्षमा पुग्दा अन्तिममा अधिवेशन स्थगित गरिएको थियो। मधेस प्रदेशमा अधिवेशन गराउने जिम्मा सभापति लामिछानेलाई दिइएको छ। आन्तरिक विवाद छानविन गर्नका लागि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा अडिट समिति गठन गरेको थियो। उक्त समितिले बुझाएको प्रतिवेदन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई बाँडिएको छ। आगामी बैठकमा मधेसको आन्तरिक विवादबारे निर्णय गरिने प्रवक्ता जगदीश खरेलले बताए।

‘मधेस प्रदेशमा अब के गर्ने? कसरी समाधान गर्ने, कहिले गर्ने भन्ने कुराहरूका लागि पहिला हामीले प्रतिवेदन अध्ययन गर्दैछौँ। अध्ययन गरिसकेपछि त्यसको निष्कर्षसहित पार्टीको बैठकमा कुरा राखेपछि पार्टीले के गर्ने भनेर कदम चाल्छ’, उनले भने।

छठ पर्वको अवसर पारेर पार्टी नेतृत्व मधेस झरेको विषयमा कुनै राजनीतिक उद्देश्य नभएको खरेलको जिकिर छ। उनले भने, ‘छठ पर्व मनाउन, सेलिब्रेट गर्न र व्रत बस्नको लागि नितान्त पर्वको हिसाबले सभापति जानुभएको हो। उहाँको यो भ्रमण नन–पोलिटिकल हो। त्यही रूपमा बुझिदिन उहाँले आग्रह पनि गर्नुभएको छ।’

WhatsApp Image 2026-11-14 at 124945

मधेसका राजनीतिक विश्लेषक चन्द्रशेखरले यहाँका संस्कृति अन्य समुदायले पनि स्वीकार गर्नु, राजनीतिक उच्च नेतृत्वले पनि स्वीकार गर्नु, सम्मान गर्नु र सहभागिता जनाउनु सकारात्मक भएको बताए। छठ भनेको रमाउने होइन, कुनै पर्यटन गर्ने अवसर नभइ श्रद्धा, आस्था र भक्ति प्रकट गर्ने बेला भएको उनले स्पष्ट पारे। यद्यपि पछिल्ला वर्ष बजार र राजनीतिक स्वार्थबाट छठ पर्वको पवित्रतामाथि डस्ने काम भएको उनको विश्लेषण छ। 

‘यो पर्व बजारबाट अछुतो थियो, तर पछिल्ला वर्ष बजारले पनि यसलाई टोक्यो। छठ पर्वको पवित्रतालाई बजारले डस्यो । राजनीतिले पनि विभिन्न आन्तरिक स्वार्थका कारणले यसलाई डस्ने काम गरिराखेका छन्। राजनीतिक रूपमा बल्छी हान्ने अवसरको रूपमा रास्वपा नेतृत्वले पनि यसलाई प्रयोग गरेको हुन सक्छ’, रातोपाटीसँग चन्द्रशेखरले भने।

रास्वपा नेतृत्वमा सरकार बनेको ७ महिना बितिसक्दा पनि मधेसी जनताले परिवर्तनको महसुस गर्न नसकेको उनले स्पष्ट पारे। ‘रास्वपाले मधेसलाई उच्चतम महत्त्व दिएको थियो। तपाईंले प्रदेशिक संरचना मजबुत बनाउन के गर्नुभयो ? आज रविजी र बालेनजीको शुभकामना रित्तो भएर आइराखेको छ। रविजीको सपरिवार आउनु उहाँको निजी आस्थाको कुरा भयो,’ चन्द्रशेखरले भने।

छठ पर्व मनाउन रास्वपा सभापति मधेस आउनु स्वाभाविक भए पनि उनको साथमा मधेसका सांसदहरूको घेराबन्दी भने अनौठो भएको चन्द्रशेखरले बताए। ‘उहाँहरूले आ–आफ्ना घरमा बसेर छठ मनाउनुपर्ने हो नि,’ उनले भने, ‘घरको पूजा छोडेर पार्टी सभापतिको पछिपछि लागिरहनु भएको छ। मधेसको मुद्दा मजबुत बनाउन के गरिरहनुभएको छ? यहाँका आम मानिसको प्रश्न छ।’

(रातोपाटीबाट)।