नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ।
गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० वटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।
जलवायु प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको सहकार्यमा हुलास इको ब्रिक्सले यो कार्यक्रम अघि बढाउने भएको हो। नेपाल र दक्षिण कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखामा सम्झौता भएको केही समयपछि यो कार्यक्रम घोषणा गरिएको हो।
कार्यक्रमअन्तर्गत सहभागी इँटा उत्पादक उद्योगलाई हाइड्रोलिक इँटा प्रेस गर्ने मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिन तथा बजार सहयोग उपलब्ध गराउने योजना छ।
यसका लागि आवश्यक वित्तीय स्रोत भविष्यमा प्राप्त हुने कार्बन क्रेडिटलाई आधार बनाएर जुटाइनेछ। एसियाली विकास बैंक (एडीबी), एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज तथा कोरिया वेस्टर्न पावरजस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताबाट कार्बन वित्तीयकरण उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कार्यक्रम पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक करिब ३ अर्ब वटा पोल्नुनपर्ने इँटा उत्पादन गर्न सकिने अनुमान गरिएको छ। यसबाट परम्परागत रूपमा भट्टामा इँटा पोल्दा उत्सर्जन हुने कार्बनडाइअक्साइडमध्ये वार्षिक १५ लाख टनसम्म उत्सर्जन रोक्न सकिने कम्पनीको दाबी छ।
के हो गुड ब्रिक्स प्रविधि?
परम्परागत इँटा उद्योगमा माटोबाट बनेका इँटालाई भट्टामा पोल्न कोइला तथा अन्य इन्धन प्रयोग गरिन्छ। यसले वायु प्रदूषण तथा कार्बन उत्सर्जन बढाउँदै आएको छ। तर, गुड ब्रिक्स प्रविधिमा स्थानीय रूपमा उपलब्ध माटो, सिमेन्ट र इन्नोसीएसआरको विशेष गुड सोल स्टेबलाइजर प्रयोग गरी इँटा उत्पादन गरिन्छ।
यस प्रविधिमा हाइड्रोलिक मेसिनबाट कच्चा पदार्थलाई उच्च दबाबमा थिचेर इँटा तयार गरिन्छ। त्यसैले परम्परागत इँटाजस्तो भट्टामा पोल्नुपर्ने आवश्यकता पर्दैन। कम्पनीका अनुसार यसले मूल्य, गुणस्तर र उत्पादन क्षमताका हिसाबले परम्परागत इँटा उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने विकल्प प्रदान गर्छ।
नेपालभर यो प्रविधिको विस्तारका लागि हुलास इको ब्रिक्सले दिवाकर गोल्छा अर्गनाइजेसनको स्थापित औद्योगिक सञ्जाल उपयोग गर्नेछ भने प्रविधि उपलब्ध गराउने जिम्मेवारी इन्नोसीएसआरको हुनेछ।
दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाले यो सहकार्यले आधुनिक इँटा उत्पादन प्रविधिलाई नेपाली उद्यमीको पहुँचमा पुर्याउने बताए। उनले भने, ‘यो साझेदारी आधुनिक इँटा उत्पादनलाई नेपाली उद्यमीका लागि पहुँचयोग्य बनाउने प्रयास हो। हामी मिलेर व्यवसाय र वातावरण दुवैलाई फाइदा पुग्ने स्वच्छ तथा प्रतिस्पर्धी इँटा उद्योग निर्माण गर्न चाहन्छौँ।’
त्यस्तै, इन्नोसीएसआरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत साम युन्सुक लीले स्वच्छ प्रविधिको विकास गर्नु चुनौतीको आधा हिस्सा मात्रै भएको बताए। उक्त प्रविधिलाई विद्यमान उद्योगले व्यावसायिक रूपमा प्रयोग गर्न सक्ने बनाउनु नै वास्तविक उपलब्धि हुने उनको भनाइ छ।
कार्बन वित्तीयकरण, प्रमाणित प्रविधि र स्थानीय साझेदारीको संयोजनबाट नेपालको समग्र इँटा उद्योगलाई दिगो उत्पादन प्रणालीमा रूपान्तरण गर्न सकिने उनले बताए।
यो कार्यक्रम कार्यान्वयनमा आए नेपालमा परम्परागत इँटा उत्पादनबाट हुने प्रदूषण घटाउनुका साथै निर्माण सामग्री उत्पादनलाई वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय कार्बन वित्तलाई स्थानीय उत्पादनसँग जोडेर नेपाललाई वातावरणमैत्री निर्माण सामग्री उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ।
(नेपालखबरबाट)




















