वीरगञ्ज, ३० कात्तिक। पर्साका ४ वटा संसदीय निर्वाचनक्षेत्र मध्येय ३ वटा कांग्रेस र एउटा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भागमा परेको छ। केन्द्रीय राजनीतिले पनि प्रमुख प्राथमिकताका साथ हेरिएको पर्सा क्षेत्र नम्बर १ लोसपाको भागमा पर्दा बाँकी ३ वटा क्षेत्र कांग्रेसको भागमा परेको छ।
क्षेत्र नम्बर १ बाट क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण उम्मेदवार छन् भने क्षेत्र नम्बर २, ३ र ४ मा क्रमश नेपाली कांग्रेसका अजय चौरसिया, सुरेन्द्र प्रसाद चौधरी र रमेश रिजाल छन्।
क्षेत्र नम्बर २ र ४ मा सत्ता गठबन्धनका अजय चौरसिया र रमेश रिजालको जित लगभग सुनिश्चित देखिएपनि क्षेत्र नम्बर १ र ३ मा भने कडा प्रतिस्पर्धा देखिएको छ।
प्रदीपलाई हराउने दाउमा द्विवेदी
पर्साको क्षेत्र नम्बर १ को चुनावी नतिजा के होला भन्ने प्रतिक्षामा सिंगो पर्साबासी छन् । पाँच दलीय गठबन्धनबाट लक्ष्मणलाल कर्ण, नेकपा एमाले र जसपाको गठबन्धनबाट प्रदीप यादवसँगै नेपाली कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका अजय कुमार द्विवेदी प्रतिस्पर्धामा छन्।
यस क्षेत्रलाई प्रमुख प्राथमिकताका साथ हेरिनुका कारण हुन् अजय । उनी ४ दशकसम्मको नेपाली कांग्रेसको राजनीति त्यागेर स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका तत्कालिन संघिय समाजवादी फोरम (हाल जसपा) का प्रदीप यादवलाई हराउने दाउमा अजय देखिन्छन् । विभेदका विरुद्ध विद्रो र अन्यायको विरुद्ध प्रतिकारको नाराका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।
दोहोरिएर इतिहास रच्ने यादवको जिकिर
पर्साको क्षेत्र नम्बर १ बाट अहिलेसम्म कोही पनि उम्मेदवारले दोहोरिएर जितेको छैन। तर यसपटक यस क्षेत्रका जनताले आफुलाई दोहोर्याउने र इतिहास रच्ने जसपा एमालेका उम्मेदवार प्रदीप यादवको जिकिर छ । अन्तिम समयमा छोटो अवधिका लागि भएपनि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आफुले गरेका काम नै आफुले जित्ने आधार भएको बताए।
आफ्नो जित सुनिश्चित भएको बताउँदै यादवले आफुसँग कसैको प्रतिस्पर्धा नै नरहेको दावी गरे । जसपा र एमालेको गठबन्धनले जित्ने यादव बताउँछन् । ५ वर्ष अघिको पर्सा जिल्ला र अहिलेको पर्सा जिल्लालाई हेरेर तुलना गर्न आग्रह गर्दै उनले आफ्नो कार्यकालमा पर्सा जिल्लाको क्षेत्र नम्बर १ मात्रै नभएर सिंगो पर्सा जिल्लाले विकासको यात्रा आरम्भ गरेको बताए ।
गठबन्धनले साथ दिनेमा कर्ण विश्वस्त
२०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट पर्साको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका लक्ष्मणलाल कर्णलाई पाँच दलीय गठबन्धनले क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत रहेका कर्ण क्षेत्र नम्बर १ मा आएसँगै उनको अवस्था कमजोर देखिएपनि कर्णले भने आफुलाई जनताले निर्वाचित गराउने दावी गर्छन् । आफुले क्षेत्र नम्बर ४ मा मात्रै काम नगरेर क्षेत्र नम्बर १ मा पनि काम गरेको कर्णको भनाई छ । जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा स्थापना गर्न आफुले नै पहल गरेको बताउँदै उनले क्षेत्र नम्बर १ मा पनि आफ्नो घर भएको हुँदा यहाँका जनतासँग पनि नजिकको सम्बन्ध रहेको बताए । बरिष्ठ अधिवक्तासमेत रहेका कर्णले अहिले पनि आफु नेताभन्दा पनि वकिलको रुपमा बढी परिचित भएको बताउँदै भने, ‘मलाई अहिले पनि नेता भन्दा पनि वकिल ज्यु भनेर जनताले सम्बोधन गर्नुहुन्छ । म मेरो पेशाका कारण बढी परिचित छु । मेरो कामसँगै मेरो क्षमता र ईमान्दारीताको मूल्यांकन गरेर नै गठबन्धनले मलाई उम्मेदवार बनाएको छ । अब क्षेत्र नम्बर १ का जनताले जिताएर पनि पठाउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’
पाँच दलीय गठबन्धनले जित्ने र फेरी पनि गठबन्धनकै सरकार बन्ने कर्णको दावी छ । कर्णको यो चौथो चुनाव हो । ३ पटक संसदीय चुनाव जितेका कर्णलाई यसपटक चौथो पटक जित निकाल्न भने त्यति सहज छैन ।
चौरसियाको चौतर्फी चर्चा
पर्साको क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाको चौतर्फी चर्चा चुलिएको छ । कमजोर प्रतिस्पर्धीका कारण आफ्नो जित सुनिश्चित भएको चौरसिया बताउँछन् । उनको प्रतिस्पर्धा जसपा एमाले गठबन्धनका सुरेन्द्र कुर्मीसँग भएपनि कुर्मी नयाँ उम्मेदवार हुन् । चौरसिया राजनीतिका पूराना खेलाडी हुन् । अहिलेसम्मको अवस्थाअनुसार पूराना खेलाडी चौरसिया अगाडी देखिएपनि नयाँ उम्मेदवार कुर्मीले पछ्याइरहेका छन् ।
चौधरी र गुप्ताको प्रतिस्पर्धा
पर्साको क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । जसपा एमालेको गठबन्धनबाट राजकुमार गुप्ता र पाँच दलीय गठबन्धनका सुरेन्द्र चौधरीबिचको लडाई हेर्न लायक हुनेछ । यि दुवै पूराना राजनीतिज्ञ हुन् । चौधरी सातौ पटक चुनाव लडीरहेका छन् भने गुप्ता चोथो पटक चुनाव लडीरहेका छन् । उनी संविधान सभा सदस्यसमेत हुन् भने चौधरी पूर्व मन्त्री हुन् । उनीहरु दुवै उम्मेदवारलाई पछ्याउँदै नेपाल सुशासन पार्टीका राजकुमार यादव पनि प्रतिस्पर्धामा छन्।
कांग्रेस र एमालेको कडा टक्कर
पर्साको क्षेत्र नम्बर ४ नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने भएको छ। पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रमेश रिजाल र जसपा एमाले गठबन्धनबाट एमालेका जालिम मियाँ मन्सुरीको प्रतिस्पर्धा रोचक हुने भएको हो । यि दुवै पूराना राजनीतिज्ञ हुन् । रमेश केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् भने जालिम पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रीत राजनीतिमा सक्रिय छन्।