सूर्य वि.क.

वीरगञ्ज, २८ कात्तिक। पर्सा जिल्लामा ४ निर्वाचनक्षेत्रमा प्रतिनिधीसभाको प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी नै परेको छैन। प्रतिनिधीसभाका ४ क्षेत्र रहेको पर्सामा प्रत्यक्षतर्फ जम्मा ५२ जनाले उम्मेदवारी दिएपनि एकजना पनि महिला उम्मेदवार छ्रनन्।

ab-mall 1

जिल्लाका ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भने प्रत्यक्षतर्फ जम्मा ३ जना महिलाले उम्मेदवारी दिएकी छिन्। प्रतिनिधि सभा सदस्यको ४ वटा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ ५२ जना उम्मेदवार भएपनि १ जना महिला अटाउन नसक्नु दुर्भाग्यपूर्ण विषय भएको महिला अधिकारकर्मीहरु बताउँछन।

पर्सा जिल्लाको क्षेत्र नम्बर १ बाट ११ जना दल र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । क्षेत्र नम्बर २ बाट ३ जना स्वतन्त्र र ७ जना दलसहित १० जना उम्मेदवार छन् भने क्षेत्र नम्बर ३ मा ६ जना दल र ५ जना स्वतन्त्र गरी ११ जना उम्मेदवार हुँदा क्षेत्र नम्बर ४ बाट ६ जना दल र ४ जना स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश सभा सदस्यमा भने ८ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । पर्साको क्षेत्र नम्बर २ (ख) बाट करिमा बेगम, क्षेत्र नम्बर ३ (ख) बाट डा. मधु गुप्ता कुर्मी र क्षेत्र नम्बर ४ (ख) बाट चाँद तारा कुमारी (शेख चाँद तारा) उम्मेदवार छन्।

तिन जना महिला फरकफरक क्षेत्रबाट उम्मेदवार छन्। निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेकी करीमा बेगम जनता समाजवादी पार्टी (जसपा) को बागी उम्मेदवार हुन्। पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। २०६४ सालमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेशी जनअधिकार फोरमबाट संविधान सभा सदस्यमा जितेर कृषि राज्यमन्त्री समेत भइसकेकी बेगम यसअघि जसपाबाट मधेश प्रदेश सरकारको समानुपातिक सदस्य थिइन्।

पर्साको क्षेत्र नम्बर ३ (ख) बाट उम्मेदवार बनेकी डा. मधु गुप्ता कुर्मी भने राजनीतिमा नयाँ हुन् । यद्यपी उनी राजनीतिक पारिवारीक पृष्ठभूमिबाट भने प्रतिनिधित्व गर्छिन् । बरिष्ट कार्डियोलोजिस्टसमेत रहेकी डा. गुप्ता पर्साको क्षेत्र नम्बर ३ का निलम्बित प्रतिनिधि सभा सदस्य एवम् जसपाका केन्द्रीय सदस्य हरिनारायण रौनियारकी छोरी हुन् । डा. मधु जसपा र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार बनेकी हुन्। यसअघि मधुले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने दावी गरेपनि जसपा र एमालेको तालमेलपछि उनले प्रदेश सभा सदस्यको टिकट हात पारेकी हुन्।

नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद भएकी चाँद तारा कुमारीले यसपटक पर्साको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यको टिकट पाएकी छिन्। पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी उनले यसपटक प्रत्यक्ष निर्वाचनको अनुभव पहिलो पटक बटुल्ने छिन्।

yamaha bg 1