काठमाडौं, २३ भाद्र। राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन ।
चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट थिए । तर, घोषणापत्र भने कसैले बनाएका थिएनन् । नेपालमा घोषणापत्रको सुरुवात २०१५ सालको चुनावदेखि भएको हो ।’
२०१५ सालको चुनावमा सामेल भएका ९ वटा दलहरूमध्ये अहिले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी मात्र राजनीतिक मैदानमा छन् ।
कम्युनिष्ट वृत्तको प्रचलनमा रहेका ‘अभिवादन’ शब्दबाट सुरु हुन्छ नेपाली कांग्रेसको घोषणापत्र । नेपालमा पहिलो पटक हुनगइरहेको चुनावको अवसरमा देशवासीलाई अभिवादन पठाउँदै कांग्रेसले आफ्नो पहिलो घोषणापत्रको सुरुवात गरेको छ ।
‘नेपाली कांग्रेस नेपालको सर्वप्रथम हुनलागेको आम चुनावको महान् अवसरमा यावत् देशवासीलाई आफ्नो अभिवादन पठाउँछ’ भन्दै नेपाली कांग्रेसले २०१५ सालको आफ्नो चुनावी घोषणापत्रको सुरुवात गरेको छ ।
कांग्रेसको परिचायक जस्तै बनेको ‘जय नेपाल’ शब्दमा गएर नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र अन्त्य हुन्छ ।
‘नेपाल कम्युनिष्ट पार्टीलाई आम चुनावमा जिताउन नेपाल कम्युनिष्ट पार्टीलाई खुला हृदयले सहयोग गर्नु होस् । जय नेपाल’ सम्बोधन सहित कम्युनिष्ट पार्टीको घोषणापत्र टुंगिएको छ ।
आजभोलि कांग्रेसको ‘ट्रेड मार्क’ जस्तै बनेको ‘जय नेपाल’ शब्द कवि गोपालप्रसाद रिमाल र शहीद शुक्रराज शास्त्रीमध्ये कसले पहिलो पटक गर्यो भनेर इतिहासकारबीच एकमत छैन ।
जय नेपाल शब्द नेपाली कांग्रेसको पर्यायवाची हुनु अगाडि यो शब्द सबै राजनीतिक दलले प्रयोगमा ल्याउने गरेको बताउँछन् चुनावी इतिहासका जानकार मिश्र । भन्छन्, ‘आजभोलि जय नेपाल शब्द कांग्रेसको ट्रेड मार्क सरह भएको छ । तर, यो शब्द निकै पहिलेदेखि नै प्रचलनमा थियो र महेन्द्रले पनि आफ्ना भाषणमा प्रयोग गर्थे ।’
मिश्रका अनुसार जय नेपाल शब्द सबैको सामूहिक थियो भने अभिवादन शब्दले सामूहिक रूपमा सबैलाई गरिएको नमस्कार जनाउँथ्यो ।
तर, समयक्रमसँगै यी शब्दको अर्थमा राजनीतिक लेपन लाग्यो र शब्दहरू राजनीतिक दलका परिचायक बन्न पुगे ।
२०१५ सालको कम्युनिष्ट पार्टीको चुनावी घोषणापत्र पुष्पलालले तयार पारेको बताउँदै कम्युनिष्ट इतिहासका जानकार डा. सुरेन्द्र के.सी भन्छन्, ‘पुष्पलाल पनि नेपाली कांग्रेसबाटै छुट्टिएर गएका हुन् । त्यसैले उनले धेरै पछिसम्म जय नेपाल शब्द प्रयोग गर्थे ।’
के.सी.का अनुसार २०१९ यता आएर ‘अभिवादन’ र ‘जय नेपाल’ शब्द राजनीतिक दलका परिचायक बन्न पुगे । ‘२०१९ सालपछि कम्युनिष्टले कांग्रेसलाई आफ्नो प्रमुख शत्रु ठान्न थाले । त्यससँगै जय नेपाल शब्द पनि कम्युनिष्टको बोलीबाट हराउन सुरु गर्यो’ केसी भन्छन्, ‘२०३६ सालपछि भने जय नेपाल कम्युनिष्टको बोलीबाट पूर्ण रूपमा हरायो र यो शब्द नेपाली कांग्रेसको पर्यायवाची भयो ।’
२०१५ सालको चुनावमा सामेल भएको नेपाल प्रजापरिषद् (हलो)ले पनि आफ्नो घोषणापत्रको अन्त्यमा ‘जय नेपाल’ लेखेको छ । जय नेपाल बाहेक प्रजापरिषद्ले आफ्नो घोषणापत्रमा ‘जय जनता’ भनेर समेत सम्बोधन गरेको छ ।
जय नेपाल शब्दप्रति कांग्रेसको कतिसम्म मोह छ भनेर देखाउन दुई उदाहरण काफी छन् । २०७२ सालमा संविधान जारी भएपछि सरकारले संविधानको स्वागतमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले ‘जय नेपाल’ बाटै आफ्नो सम्बोधनको सुरुवात र अन्त्य गरेका थिए ।
२०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘मेरो सरकार’ भनेपछि नेपाली कांग्रेसले चर्को विरोध जनायो ।
जवाफमा केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ता गोकुल बास्कोटाले महेन्द्रले प्रयोग गरेको जय नेपाल शब्द कांग्रेसले पनि प्रयोगबाट हटाउनुपर्ने टिप्पणी गरेका थिए । बास्कोटाको बोलीको जवाफमा कांग्रेस नेता अर्जुननरसिंह केसीले ‘जय नेपाल’ माथि एक लेख नै लेखे ।
शब्दलाई राजनीतिक रूप दिन दलहरूले खिचातानी गरे पनि ६४ वर्ष अगाडि ‘जय नेपाल’ कम्युनिष्टले र ‘अभिवादन’ कांग्रेसले प्रयोग गर्थे भन्ने उनीहरूकै दस्तावेजले देखाउँछ ।
onlinekhabar बाट